यस्तो छ, माओवादी अभियानका तीन लक्ष्य

यस्तो छ, माओवादी अभियानका तीन लक्ष्य
सुन्नुहोस्

सत्तारुढ नेकपा माओवादी केन्द्रले भोलिदेखि थाल्ने तीनमहिने विशेष अभियानका क्रममा कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने लक्ष्य तय गरेको छ । 

माओवादीले २५ लाख मतदातालाई भेटेर सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा सरकारले गरेका कामबारे जानकारी गराउने अभियानको लक्ष्य बनाइएको हो । 

संगठन सुधारका लागि ’जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ चलाउन लागेको माओवादीले सरकारले गरेका राम्रा कामको प्रचारप्रसार गर्न केन्द्रीय सदस्यहरुलाई खटाएर प्रत्येक घरमा पुग्ने योजना बनाएको छ । जसअन्तर्गत प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेसमेत सातवटै प्रदेशका एक–एक वटा वडामा पुग्नेगरी कार्यक्रम बनाइएको छ । त्यस्तै, पदाधिकारीहरु पनि वडाका कार्यक्रममा सहभागी हुने छन् । 

माओवादीले पार्टी सदस्य बढाउने योजनासमेत बनाएको छ । सोही अनुसार पार्टी सदस्यता  नवीकरण र विस्तार गरि आठ लाख पुर्याउन पार्टी र जनसंगठनहरुलाई क्रियाशील गराउने अभियानको लक्ष्य बनाएको छ ।

 

त्यस्तै, आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा रहेका स्थानीय सरकारहरुले कम्तीमा एक–एक वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम शुरु गर्ने कुरालाई पनि यहि अभियानमा जोडेर माओवादीले लक्ष्य निर्धारण गरेको छ । संघीय सरकारले कृषि तथा वनमा आधारित साना उद्योग, उत्पादन र बजारीकरणको क्षेत्रमा सातवटै प्रदेशमा एक–एक वटा आयोजना सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने पनि अभियानको लक्ष्य छ । 

अध्यक्ष प्रचण्डले भोलि बिहान ९ बजे पार्टी मुख्यालय पेरिडाँडाबाट देशभर एकैसाथ भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्ने तयारी छ । त्यसपछि पदाधिकारीसहितका नेताहरु आ–आफ्नो तोकिएको वडाका कार्यक्रममा सहभागी हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

टिप्पणीहरू