‘जनतासँग माओवादी विशेष अभियान’ मा प्रधानमन्त्रीलाई चन्द्रागिरी–२ घट्टेडाँडाको जिम्मेवारी

‘जनतासँग माओवादी विशेष अभियान’ मा प्रधानमन्त्रीलाई चन्द्रागिरी–२ घट्टेडाँडाको जिम्मेवारी
सुन्नुहोस्

सत्तारुढ नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष अभियान’ को तयारी पूरा भएको जनाएको छ । भोलिबाट शुरु हुने तीनमहिने अभियानबारे जानकारी दिन पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले तयारी पूरा भएको जानकारी दिएका हुन् । 

भोलि बिहान ९ बजे पार्टी मुख्यालयबाट भर्चुअल माध्यममा मुलुकभरका सबै वडामा एकैसाथ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानको उद्घाटन गर्ने जनाइएको छ । अभियानको तयारीका लागि केन्द्रीय सदस्यहरु यसअघि नै वडामा खटिएका छन् । 

त्यस्तै, अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरुलाई पनि वडाको जिम्मेवारी तोकिएको प्रवक्ता सापकोटाले बताए । बिहान अध्यक्ष प्रचण्डले अभियानको उद्घाटन गरेपछि दिउँसो १ बजेबाट कार्यक्रम शुरु हुने छ । त्यसपछि पदाधिकारीहरु तोकिएका आ–आफ्ना वडामा पुग्नेछन् । 

प्रधानमन्त्री काठमाडौंको चन्द्रागिरी–२ स्थित घट्टेडाँडाको कार्यक्रममा सहभागी हुने जनाइएको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायकाजी श्रेष्ठ ललितपुर महानगरपालिका–२८, हरिसिद्धिमा खटिने प्रवक्ता सापकोटाले बताए । 

उपाध्यक्षत्रय कृष्णबहादुर महरा रोल्पाको सुनछहरी गाउँपालिका, अग्नि सापकोटा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ र पम्फा भुसाललाई ललितपुर महानगरपालिका–२२ मा जिम्मेवारी तोकिएको छ । महासचिव देव गुरुङ लमजुङको सुन्दरबजार नगरपालिका–८ भोटेओडारको कार्यक्रममा सहभागी हुने बताइएको छ । 

त्यस्तै, उपमहासचिवहरु गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौं, वर्षमान पुन काठमाडौँको गोंगबु र जनार्दन शर्मा चन्द्रागिरी–२ मा खटिने छन् । उपमहासचिव हरिबोल गजुरेल सिन्धुलीको कमलाइमाई नगरपालिका, शक्ति बस्नेत भेरी नगरपालिका–१, जाजरकोट र मातृका यादव सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को कार्यक्रममा सामेल हुनेछन् ।

सचिवहरु दिनानाथ शर्माले बाग्लुङ नगरपालिका–१२, चक्रपाणि खनालले विराटनगर महानगरपालिका–१८, देवेन्द्र पौडेलले पोखरा महानगरपालिका–२०, लीलामणि पोखरेलले बर्दिवास नगरपालिका र गणेश साहले काठमाडौं महानगरपालिका–१० को जिम्मा पाएका छन् । 

सचिव हितमान शाक्य रुकुमपूर्वको सिस्ने गाउँपालिका–६, डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१, हितराज पाण्डे आरुघाट–६, गोरखा र राम कार्की झापाको बुद्धशान्ति गाउँपालिकामा खटिनेछन् । कोषाध्यक्ष श्रीराम ढकालको जिमेवारी काठमाडौंको चन्द्रागिरि–२ मा परेको छ ।   

माओवादीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले संगठन सुधारका लागि विशेष अभियान चलाउने निर्णय गरेको थियो । सोही अनुसार अभियानको तयारीका लागि केन्द्रीय नेताहरु वडा–वडामा पुगिसकेका छन् । पार्टी बनाउन मजबुत संगठन चाहिएकाले आफूहरु जनतामा जान लागेको प्रवक्ता सापकोटाले पत्रकार सम्मेलनमा सुनाए ।

टिप्पणीहरू