चीनको कदमले भारतलाई सघाउ पुर्याएको भन्दै चिढियो जनमोर्चा

चीनको कदमले भारतलाई सघाउ पुर्याएको भन्दै चिढियो जनमोर्चा
सुन्नुहोस्

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले नेपालको राष्ट्रियतामाथि छिमेकी चीनले गम्भीर आँच पुर्याएको आरोप लगाएको छ । नेपालो भू-भागसमेत समेटेर चीनले नयाँ राजनीतिक नक्सा प्रकाशन गरेकोप्रति आपत्ति जनाउँदै जनमोर्चाले यस्तो प्रतिक्रिया दिएको हो ।

चीनले लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटेर जारी गरेको नेपालको नयाँ चुच्चे नक्सालाई मान्यता नदिने चीनको व्यवहारप्रति जनमोर्चाले विरोधसमेत जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले चीनको उक्त कार्य नेपालको राष्ट्रियताविरुद्ध रहेको बताए । 

आज विज्ञप्ति जारी गर्दै उनले भारतको पोजिसनलाई घुमाउरो ढङ्गले चीनले समर्थन गरिरहेको पनि टिप्पणी गरेका छन् । त्यस्तै, नेपाल सरकारले चुच्चे नक्साको विषयमा प्रभावकारी ढङ्गबाट कुटनीतिक पहल नगरेर भारतको सामु आत्मसमर्पण गर्दै आएको उनको आरोप छ ।

विज्ञप्तिमा भनिएको छ,‘चीनले आफ्नो नक्सामा २०७७ जेठभन्दा अगाडिको नेपालको नक्सालाई राख्नु र विगतमा नेपाललाई जानकारी नै नदिई भारतसँग लिपुलेक नाकालाई चीन र भारतका बीचमा व्यापारिक नाकाको रुपमा विकास गर्नुले कालापानीको सवालमा चीनले समेत भारतको पोजिसनलाई घुमाउरो प्रकारले समर्थन गर्ने कार्यले नेपालको राष्ट्रियतामाथि आँच पुगेको छ । चीनको यो कार्य नेपालको राष्ट्रियताका विरुद्ध रहेको छ ।’

अध्यक्ष केसीले चीनले जारी गरेको नयाँ राजनीतिक नक्साको विषयमा तत्काल कुटनीतिक संवाद गर्न मागसमेत गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को आसन्न चीन भ्रमणको क्रममा यो विषय चिनियाँ पक्षसमक्ष उठाउन आवश्यक देखिएको उनको भनाई छ । 

तीन वर्षअघि अर्को छिमेकी भारतले कालापानी क्षेत्रको नेपाली भूभाग समेटेर नक्सा जारी गरेको थियो । त्यसविरुद्ध नेपालले २०७७ जेठ ३१ गते लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटेर चुच्चे नक्सा जारी गरेको थियो । अगस्त २८ मा चीनले जारी गरेको नयाँ राजनीतिक नक्सामा उक्त चुच्चे भूभाग समेटिएको छ ।
 

टिप्पणीहरू