बैंककमा पनि दरखाने तयारी

बैंककमा पनि दरखाने तयारी

थाइल्याण्डको राजधानी बैंककमा हरितालिका तीज मनाउन तयारी थालिएको छ । थाई नेपाली संघ, बैंकक शाखा, महिला विभागले यो वर्षको तीजका अवसरमा भव्य कार्यक्रम गर्ने जनाएको छ ।

बैंककको क्वेनाम्थाई भवनमा आयोजना गरिने दर खाने कार्यक्रममा चर्चित नेपाली गायक–गायिका र स्थानीय ‘नेपालीभाषी थाई कलाकार’ हरूले थाई नेपालीहरूमा रौनक थप्ने आयोजकको विश्वास छ ।

१७ सेप्टेम्बर आइतबारका दिन राखिएको तीज कार्यक्रमको तयारी पूरा हुने क्रममा रहेको थाई नेपाली संघ बैंकक शाखा, महिला विभाग प्रमुख संगीता कार्कीले बताइन् । उनले थाइल्यान्डबासी नेपाली दाजुभाइ–दिदीबहिनीलाई उक्त कार्यक्रममा उपस्थित हुन अनुरोध गरेकी छन् ।

थाई नेपाली संघले विगतझैँ नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यअनुरुप तीज कार्यक्रम आयोजना गर्न लागेको बैंकक शाखा महिला विभाग प्रमुख कार्कीले बताइन् । ‘सबैजनालाई कार्यक्रममा निम्तो छ । सँगसँगै तीज मनाउनुपर्छ । दिदी बहिनीहरूले दुःख पोख्दै, दाजुभाइसँग दर खाँदै, नाच्दै–गाउँदै रमाउनुपर्छ,’ उनले भनिन् ।

टिप्पणीहरू