सुनकाण्डसम्बन्धी छलफल मध्यरातसम्म,न्यायाधीशको अध्यक्षतामा आयोग बनाउने तयारी

सुनकाण्डसम्बन्धी छलफल मध्यरातसम्म,न्यायाधीशको अध्यक्षतामा आयोग बनाउने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा बोलाउनुभएको सर्वदलीय बैठक हिजो मध्यरातसम्म चलेको छ । राति साढे ८ बजेबाट शुरु भएको उक्त बैठक चर्काचर्कीसँगै राति साढे ११ बजे सकिएको बताइन्छ । 

एमालेले सुनतस्करी काण्डमा उच्चस्तरीय छानबिन समिति वा आयोग बनाउनुपर्ने माग राख्दै संसद बैठक अवरुध्द गर्दै आएको छ । अब आयोग गठनको निम्ति आवश्यक लिखित सहमति जुटाउन  एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ,काँग्रेस प्रमुख सचेतक रमेश लेखक,माओवादीका प्रमुख सचेतक हितराज पाण्डे रहेको कमिटी गठन गरिएको छ । उनीहरुको कमिटीले आज दिउँसो २ बजे बस्ने बैठकमा सहमतिको मस्यौदा बनाउने र त्यसपछि शीर्ष नेताहरुको सहमतिमा अन्तिम रुप दिने बताइएको छ । 

अस्तिको बैठकमा अनुपस्थित रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली हिजो सामेल हुनुहुन्थ्यो । निकै कडा रुपमा प्रस्तुत हुनुभएका ओलीले सुन काण्डको छानबिन सिआइबीले गरेर मात्रै नहुने धारणा राख्नुभएको सहभागी एक जनाले बताए ।

ओलीको भनाई थियो,‘सुन काण्डसहित अरु धेरै वटा काण्डहरुको पनि छानबिन गर्नुपर्यो । त्यसका लागि उच्चस्तरीय आयोग बनाउने तर केन्द्रित भने सुन काण्डमा हुनुपर्ने । ’

सहभागी नेताहरुले न्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्ने धारणा राखेका छन् । तर यसबीच  सिआइबीको अनुसन्धान जारी राख्ने र उसले प्रतिवेदन बुझाएपछि आयोग बनाउने रोडम्यापमा राति मौखिक सहमति भएको छ ।

छलफलमा अरुले भन्दा एमाले अध्यक्ष ओली र संसदीय दलका उपनेता सुवासले अरुको तुलनामा धेरै समय बोल्नुभएको बताइन्छ । काँग्रेस सभापति देउवा अस्तिको तुलनामा हिजो नरम देखिनुभयो भने प्रधानमन्त्रीले घुमाउरो पाराले एमाले अध्यक्षको भूमिकाको आलोचना गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डको धारणापछि एमाले अध्यक्ष ओली केहीबेर बिच्किनुभएको थियो ।

टिप्पणीहरू