राष्ट्रपतिको निम्तो एमालेले नमान्ने,सँसद खोल्न आज सहमति हुने

राष्ट्रपतिको निम्तो एमालेले नमान्ने,सँसद खोल्न आज सहमति हुने

अवरुद्ध संसद खुलाउन राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । बिहान ८ बजे शीतल निवासमा बोलाइएको बैठकमा एमालेले अनुपस्थित हुने जानकारी दिएको छ । 

आलँकारिक भूमिकामा रहेका राष्ट्रपतिले संसदको विषयमा छलफल गर्न खोजेको भन्दै एमाले तर्किन खोजेको हो । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत आज बिहान शीतल निवासमा बोलाइएको सर्वदलीय बैठकप्रति सकारात्मक नभएको र सोही कारण गएराती ११:३० बजेसम्म बसेर ओलीलाई मनाउन खोजिएको बुझिएको छ ।

प्रधानमन्त्रीले त्यस्तै बैठक अस्ति र हिजो पनि सिंहदरबारमा बोलाउनुभएको थियो । हिजो राति साढे ८ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको बैठकमा दलहरुबीच अवरुद्ध संसद खुलाउने विषय सकारात्मक दिशातर्फ अघि बढेको बताइन्छ । राति साढे ११ बजे सकिएको बैठकमा आज लिखित सहमति गरेपछि मात्र संसद सुचारु गर्न एमाले तयार भएको छ ।

हिजोको बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली,नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा,उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,एमाले संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ, रास्वपाका सभापति रवि लामिछाने,जसपा नेता राजकिशोर यादव,राप्रपा नेता विक्रम पाण्डे,राप्रपा नेता बुद्धिमान तामाङ, रास्वपा प्रमुख सचेतक सन्तोष परियार, एमाले प्रमुख सचेतक पदम गिरी,नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डेलगायतको उपस्थिति थियो ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट तस्करीको सुन बाहिरिएपछि छानबिनको निम्ति एमालेले उच्चस्तरीय समिति गठनको माग अघि सार्दै सँसद बैठक अवरुद्ध गर्दै आएको छ । सत्तापक्षमा रहेका दलहरु भने प्रहरीको सिआइबीले नै उक्त छानबिन गर्ने अडानमा देखिन्थे ।

टिप्पणीहरू