चारवटै सुरक्षा निकायका हाकिमलाई सिंहदरबार बोलाइयो

चारवटै सुरक्षा निकायका हाकिमलाई सिंहदरबार बोलाइयो
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग संयुक्त छलफल गर्नुभएको छ । 

आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दुई उपप्रधानमन्त्री, अर्थमन्त्री र मुख्यसचिवसहित बैठक राखेर प्रधानमन्त्रीले पछिल्लो सुरक्षा अवस्थाका बारेमा सुरक्षा निकायका प्रमुखहरुसंग छलफल गर्नुभएको हो । 

आजको बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्का उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाश शरण महत, पर्यटनमन्त्री सुदन किराँती, मुख्यसचिव बैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा लगायतको उपस्थिति थियो । 

त्यस्तै, राष्ट्र बैंकका गभर्नर, गृहसचिव, रक्षासचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन सचिव, अर्थसचिव, अध्यागमन विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकहरू, नागरिक उड्डयन प्राधिकरणका प्रमुख लगायत सरोकारवाला निकाय र कार्यालयका अधिकारीहरूको पनि बैठकमा सहभागिता थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रबन्ध, क्रिप्टो करेन्सीलगायत समग्र सुरक्षा अवस्थाका विषयमा बैठकमा छलफल भएको बताइएको छ । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बाहिरिएको घटनापछि विमानस्थलको सुरक्षा प्रवन्धलाई लिएर आमतहमा प्रश्न उठिरहेका बेला प्रधानमन्त्रीले यसबारे सुरक्षा निकायका प्रमुखहरुसंग गरेको छलफललाई चासोका साथ हेरिएको छ । सुन तस्करी प्रकरणको अहिले प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआइबी)ले अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू