क्विन्टल सुनमा बिलाए पशुका आँशु

क्विन्टल सुनमा बिलाए पशुका आँशु

राजधानीमा क्विन्टल सुनको चर्चा छ । भुटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा काण्डपछि फेला परेको क्विन्टल सुन काण्डमा तीन तहका सरकार निकम्मा भएका छन् । कृषकका ५० हजारभन्दा धेरै पशु मरेका छन् । सरकार मौन छ । कृषकले बिमाबापतको भुक्तानी पाएका छैनन् । नयाँ बिमा हुन सकेको छैन । भएको बिमाको नवीकरण हुँदैन । बिमा नभएका पशुको राहत र क्षतिपूर्ति कसले दिन्छ होला ? 

कांग्रेस केन्द्रीय समितिको बैठकमा कृषकका पीडाको एजेण्डा बन्दैन । सरकारको नेतृत्व गरेको माओवादी बैठकमा पनि कृषकका समस्या उठेनन् । भ्रष्टाचारका फाइल खोल्छु भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालले शिविरमा भएको लडाकूको भ्रष्टाचारको छानबिन गर्नुअघि फाइल मिलाउने प्रयास गरेका छन् । संघीय सरकारले कृषकका लागि राहत दिने कुरा त परै जाओस्, भ्याक्सिन पनि निशुल्क उपलब्ध गराउन सकेन । प्रदेश सरकार आफ्नै भागवण्डामा रमाएको छ । विना विभागीय मन्त्रीले मन्त्रालय पाएका छैनन् ।

प्रदेश सरकारले पनि टुलुटुलु हेर्ने, मन्त्रालय भागवण्डा गर्ने र कसरी हुन्छ नेता कार्यकर्ताको व्यवस्थापन गर्नेबाहेक अरु सोच्न सकेको छैन । यस्तो अवस्थामा काभ्रेको धुलिखेलस्थित वडा नम्बर २ का अध्यक्ष अर्जुन न्यौपानेले समाजवादी कार्यक्रम जसरी कृषकलाई राहतको घोषणा गरे । उनी आफैँ पनि कृषक हुन् । दर्जनौँ पशु पालेका न्यौपानेले भैँसी, गाई, पाडापाडीका लागि फरक फरक राहतको निर्णय वडा कार्यालयबाट गराएका छन् । उता, दावा तामाङ भनिने निमा तामाङको नागरिकता खारेजीका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया शुरु भएको छ । 

लम्पिस्किनबाट जिल्लामा १२७४ वटा पशुमध्ये ४ वटा भैँसी, ९ सय ३२ वटा गाई, १ सय ५५ वटा गोरु र १ सय ८७ वटा बाच्छा बाच्छी मरेका छन् । नमोबुद्ध नगरपालिकामा मात्रै ४ वटा भैँसी मर्दा बनेपामा सबैभन्दा धेरै ३३६ वटा गाई क्षति भएका छन् । दैनिक पशु मर्न थालेपछि धुलिखेल नगरपालिका वडा नम्बर २ ले कृषकलाई गाई र बाछा बाच्छीका लागि अलग–अलग राहत दिने निर्णय गरेको छ । हजाराैँ पशु मर्दासम्म तीन तहकै सरकार चुँ बोल्न सकेका छैनन् । बिरामी गाईहरूको हकमा औषधिमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको अध्यक्ष न्यौपानेले बताए ।

वडामा कार्यपालिका सदस्य सीता पराजुली, सुजिता बराल, सुवलाल तामाङ, सूर्यप्रसाद ढुंगाना सदस्य छन् । वडासचिव प्रतिमा कटवालले निर्णयबारे जानकारी दिँदै पीडित कृषकलाई आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन दिन आब्हान गरेको बताइन् । उक्त वडामा हालसम्म ६५ वटा पशु मरिसकेका छन् । बनेपा ३६६, पनौती १७८, पाँचखाल १५४, धुलिखेल १५०, चौरीदेउराली ९५, मण्डनदेउपुर ८५, खानिखोला ८०, नमोबुद्ध ५५, तेमाल ४७, रोशी ४१, बेथान्चोक ३४, भुम्लु २३ वटा पशु मरेका छन् । 

– मोतीराम तिमल्सिना
 

टिप्पणीहरू