ओलीको तिखो नजर उतैतिर

ओलीको तिखो नजर उतैतिर

त्यस्तो ठाउँ, जहाँबाट यति, जलहरी,ओम्नी, वाइडबडी जहाजदेखि साराका सारा घोटाला प्रकरणका बेरुजु र अनियमिततासम्बन्धी टिप्पणीका बाटो छेक्न सकिन्छ । एमाले अध्यक्ष केपी ओलीको तिखो नजर त्यतै छ, जसलाई महालेखा परीक्षक भनिन्छ ।

संवैधानिक पद भएको कारण प्रधानमन्त्री नेतृत्वको संवैधानिक परिषद्को बैठकबाट उक्त पदका लागि एक जनाको नाम सिफारिस हुनुपर्छ । बाहिर चलेको हल्लाअनुसार सोही पदको शर्तसहित ओलीले परिषद्को बैठकमा उपस्थिति जनाउनुभएको छ । गत शुक्रबार (साउन १९) मा बसेको बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भर श्रेष्ठको नाममात्रै सिफारिस गर्‍यो ।

तर, महालेखा परीक्षकको कार्यालयमा रमिता थियो, कोही खुशीले गद्गद्, कोही निराशाले हतोत्साही ! सबभन्दा खुशी थिइन्, भर्खरै अनिवार्य अवकाशको चिठी बुझेकी राममाया कुँवर । अर्कातिर, त्यत्तिकै ढुक्क देखिन्थे पूर्व अर्थसचिव शिशिरकुमार ढुंगाना । उनीहरुलाई लागेको थियो, बैठकमात्रै बस्नुपर्छ, आफू पक्का । तर, त्यसदिन १५ दिने सार्वजनिक सूचना जारी गर्ने निर्णयबाहेक केही भएन । खासमा उक्त पदका आकांक्षीको लाइन निकै लामो छ ।

देशभरका सम्पूर्ण सरकारी कार्यालयको लेखालाई अन्तिम रुप दिने, कसैले अनियमितता, भ्रष्टाचार गरेको भए त्यसलाई औंल्याउने र विगतमा उठाइएका फाइल अगाडि बढाउने कि बन्द गर्नेसम्मका अधिकार भएको उक्त पद महŒवपूर्ण मानिन्छ । त्यसैले आकांक्षीको संख्या १९ नाघेको हो । उक्त पदका लागि योग्यताका फरक फरक मापदण्ड तोकिएको छ । त्यसमध्ये सरकारी सेवामा नभएर पनि २० वर्ष लेखापरीक्षक (चार्टर्ड एकाउण्टेण्ट) भएर काम गरेको भए हुने । त्यस्तै, बाणिज्य, व्यापार, व्यवस्थापनमा स्नातक गरेर नेपाल सरकारको सचिव भएको अर्को मापदण्ड छ । अर्थात्, नेपाल सरकारको सचिव भए पनि विषय मिलेको हुनुपर्छ ।

यो योग्यताका आधारमा पूर्वसचिव मध्येका प्रतिस्पर्धी छन्– मुख्य सचिव हुँदाहुँदै उक्त पदभन्दा मुनिको वरियता स्वीकार्दै एशियाली विकास बैंकमा जागिर खान गएका र त्यहाँबाट पनि निकालिएका डा.सोमलाल सुवेदी, उद्योगसचिव भइसकेका जयमुकुन्द खनाल, राजश्व सचिव रहिसकेका रामशरण पुडासैनी, उद्योग सचिवबाट अवकाश पाएका चन्द्रप्रसाद घिमिरेसहित रामप्रसाद थपलिया, शिशिर ढुंगाना, गोपी मैनाली र सुरेश प्रधान । महालेखा नियन्त्रकको कार्यालयमै जागिर खाएका, अर्थात आन्तरिक तर्फबाट प्रतिस्पर्धीका रुपमा देखिएका छन्,सुकदेव भट्टराई, बाबुराम गौतम, रामुप्रसाद डोटेलहरु । भर्खरै अवकास पाएकी राममाया कुँवर त चर्कै छिन् ।

उनका पति विनोद कुँवर बालकोटका भित्रिया मानिन्छन् र त्यही आधारमा उनले ‘हुन्छु कि’ भन्ने आशमात्र गरेकी छैनन्, ‘भइसकेँ’ भन्ने बुझेकी छन् । अर्का प्रतिस्पर्धी हुन्, मोहदत्त तिमल्सिना । त्यहीँ कार्यरतमध्ये वामदेव अधिकारीसहित दुई जना छन् । चार्टर्ड एकाउण्टेण्टमध्ये सुवोध कर्ण, जगन्नाथ उपाध्याय, महेश गुरागाइँ, चन्द्रकान्त भण्डारी र पहिला सञ्चय कोषमा हुने कृष्ण आचार्य पनि उक्त पदका आकांक्षी हुन् । 

यही पदको भाउँतोमा लागेर राममायाले अर्थ मन्त्रालयको स्वीकृतिबिनै जातेजाते ३२ कर्मचारीलाई बैंकक, २५ लाई कलकत्ता घुम्न पठाइन् । अर्थको स्वीकृति नलिई त्यसरी कर्मचारी पठाउने काम अनियमित मानिन्छ र महालेखाले नै अर्को वर्ष त्यसलाई बेरुजुमा हाल्नुपर्छ । यतिमात्रै हैन, उनैले जातेजाते दुई सय कर्मचारीको सरुवा गरिन् । कामै नगर्नेलाई ठूलो र राम्रो जिम्मेवारी दिइन् । जस्तो कि, सहसचिव नेत्रकुमार खत्रीलाई सडक पूर्वाधारको हाकिम बनाइन् । शंकर पन्थीलाई बागमती प्रदेशको सबै हेर्ने गरी जिम्मा दिइन् । 
 

टिप्पणीहरू