भोट साढे ११ लाख,पार्टी सदस्य साढे सात लाख ?

भोट साढे ११ लाख,पार्टी सदस्य साढे सात लाख ?
सुन्नुहोस्

संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी सदस्य संख्या साढे सात लाख रहेको जनाएको छ । 

आजदेखि शुरु भएको सो पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको सांगठनिक प्रतिवेदनमा पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ रहेको उल्लेख छ । जसअनुसार सबैभन्दा धेरै बागमती र कम गण्डकी प्रदेशमा छन् । 

माओवादीको दावीअनुसार बाग्मतीमा १ लाख ४७ हजार ३५३, मधेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१,  गण्डकीमा ६६ हजार ६८७, कर्णालीमा ८५ हजार ७७४ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य छन् । त्यस्तै गत निर्वाचनमा लज्जास्पद मत ल्याएको काठमाडौँमा १८ हजार बढी पार्टी सदस्य रहेको माओवादीले जनाएको छ । गत चुनावमा काठमाडौँमा माओवादीको समानुपातिक भोट जम्मा १० हजार ३८६ थियो ।  

माओवादीले पार्टी सदस्य बढाएर साढे सात लाख पुगेको दावी गरे पनि उसको भोट भने निरन्तर घट्दो छ । जनयुध्दबाट शान्ति प्रक्रियामा आएलगत्तै २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उसले ३१ लाख ४४ हजार २ सय ४ समानुपातिक भोट पाएको थियो । पाँच वर्षपछि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा झण्डै आधा भोट घटेर १४ लाख २९ हजार ७ सय २६ मा खुम्चियो । 

संविधान जारी भएयताका दुई वटा चुनावमा पनि माओवादीले भोट बढाउन सकेको छैन, बरु अझै घटिरहेको छ । २०७४ सालको निर्वाचनमा १३ लाख ३ हजार ७ सय २१ मत ल्याएको माओवादी गत मंसिरको आमचुनावमा ११ लाख ६२ हजार ९३१ मा खुम्चिएको छ ।

टिप्पणीहरू