पाइप लाइनमा अनेक छन् प्रपञ्च

पाइप लाइनमा अनेक छन् प्रपञ्च

एउटा मान्छे भ्रष्टाचारी हो कि होइन भन्ने ठहर जसले गर्छ, स्वयं ऊ प्रश्नको घेराभित्र छ भने के हुन्छ ? अनि, कोही व्यापारी करोडबाट उक्लिएर अर्बमा खेल्ने भइसक्दा किन रसुवातिर छाप्रो हालेर बस्छ ? अहिले यस्तै–यस्तै एउटा प्रसंग न्यायाधीशहरूमाझ चर्चा छ । 

अख्तियारले भ्रष्टाचार वा अनियमिततासम्बन्धी अनुसन्धान गरेर कोही व्यक्तिविरुद्धको मुद्दा पेश गर्ने ठाउँ हो, विशेष अदालत । त्यहाँ न्यायाधीश श्रीकान्त पौडेल अध्यक्ष छन् । उनका छोरा हुन्, विवेक । दिल्लीबाट चार्टर्ड एकाउण्टेन्ट अध्ययन गरेका उनको लाजिम्पाटमा शेयर कारोबार गर्ने अफिस छ, जसलाई इन्भेष्टमेण्ट कम्पनी भनिएको छ । तर, त्यहाँबाट न शेयरको कारोबार भइरहेको छ, न त इन्भेष्टमेण्ट अर्थात् कुनै क्षेत्रमा व्यवस्थित लगानी नै पनि छैन । खासमा त्यहाँबाट बरु पैसा शुद्धिकरण गर्ने धन्दा चलाइँदै छ भनी सर्वोच्च अदालतका न्यायाधीशबीच हालै चर्चा भएको छ । विवेकको अमेरिका आवत–जावत बाक्लो छ ।

गत वर्षको असार ५ गते विशेष अदालतले सिक्टा सिञ्चाई आयोजनामा भ्रष्टाचार नभएको ठहर गर्दै राप्रपाका पूर्वमन्त्री विक्रम पाण्डेसहितका १२ प्रतिवादीलाई सफाई दिनु र विवेक अमेरिकामा हुनुसँग गहिरो सम्बन्ध भएको भनिन्छ । विशेष अदालतका अध्यक्ष श्रीकान्तसहित सदस्यहरू रमेश पोखरेल र यमुना भट्टराईको बेञ्चले दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रूपैयाँ भ्रष्टाचार भएको भन्ने अख्तियारको दावीलाई खारेज गरिदिएको थियो । अदालतले उक्त आयोजनामा व्यक्तिहरू दोषी नभई त्यहाँ बग्ने पानी र दलदले माटोको दोष देखाइदिएको थियो । त्यस्तो हुनुका पछाडि अमेरिका यात्रा कारकका रूपमा रहेको सर्वोच्चका न्यायाधीशबीच चर्चा छ । किनभने, विक्रमका छोरा निकोलस पनि बढीजसो अमेरिकातिरै ओहोर दोहोर गर्छन् ।

उनी निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष हुन् । विक्रमकै अर्का छोरा पनि त्यहीँ छन्, केन्सास राज्यमा । त्यहाँ पनि उनीहरू ठेक्कापट्टाकै काम गर्छन् । विक्रमले सिक्टा सिञ्चाईको सवा दुई अर्बको मुद्दामा सफाई पाएका थिए । विशेष अदालतबाट सिक्टाको मुद्दामा सफाई दिनुअघि पढाईको बहानामा विवेक त्यहाँ पुगेका हुन् । बद्मासी गरेको कसरी बुझ्न सकिन्छ भने, कसैले फोन गर्दा डराएजस्तो गरेर कुरा गर्ने । किनभने, उनले गर्ने काम भनेको फण्ड म्यानेजरको हो । 

भनिन्छ, ब्राम्हण थरका एकजना प्रतिष्ठित उद्योगपतिका छोरा पनि विदेशमा बसेर यसै गर्छन् । ती व्यापारी माओवादी नेता देवेन्द्र पौडेलका साख्खै भाञ्जा हुन् । पहिला प्रचण्डको पैसा अजेयराज सुमार्गीले, पछि भाटभटेनीका साहु मीनबहादुर गुरुङले र अहिले ती ब्राह्मणले चलाउने गरेका छन् । कसै कसैको आरोप छ– प्रचण्डसँग कुरा नमिलेपछि अहिले ललिता निवास प्रकरणमा मीनबहादुर थुनामा राखिएका हुन् । सुमार्गीसँग पनि प्रचण्डको सम्बन्ध राम्रो छैन । भनिन्छ, उनलाई ‘भित्र’ पठाउनका लागि उहाँले ठाउँ खोजिरहनु भएको छ । मीनबहादुरसँग पोखरा भाटभटेनीको हिसाब नमिलेको भनिन्छ ।

छाप्रोमा सुमार्गी

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सुमार्गीलाई तीन–चार महिनायता यसरी च्यापिरहेको छ कि, उम्किने कुनै उपाय छैन । यसपछि उनी गत वर्ष नै शरण परेका थिए, हेटौंडाको रजैयास्थित अग्निहोत्री आश्रममा । त्यो आश्रममा ‘सज्जन’ बाहेक अरुलाई प्रवेश दिइँदैन । मूलगुरु सीताराम नेपाल स्वयंले सुमार्गीलाई राम्रो मान्दैनन् । मूलगुरुको सहायक भएर पूर्वफिल्मी पत्रकार विनोद अर्याल बसेका छन् । ‘गुरुलाई दान गरे पुण्य मिल्छ’ भन्दै त्यहाँ पुगेका सुमार्गीलाई मूलगुरुले ‘अबदेखि बदमासी गर्छौं कि गर्दैनौं ?’ भनी प्रश्न गरेपछि नाजवाफ भएर फर्किएका थिए । त्यसपछि ध्यान गर्न रसुवातिर लागे । ध्यान गर्दागर्दै आध्यात्मिक शक्तिले ‘भुँईबाट आफैं जुरुक्क उठ्ने नै भएँ’ भनी निकटस्थलाई भन्ने गरेका छन् । त्यहाँ एउटा छाप्रो बनाएका थिए । आफैं पकाउने, आफैं खाने । उक्त छाप्रोमा ६ महिनासम्म बसे । गत वर्ष दशैंताका ससुराको देहान्त भएर त्यहाँबाट निस्किए । ‘अझ १५ दिन बस्न पाएको भए राम्रो हुन्थ्यो’ भन्दै साथीभाइसँग गफ गर्छन् । जेठा छोरा लागुऔषधप्रेमी हुन् ।

आमासँग कुरा मिल्दैन । कान्छा छोरा बचेखुचेका कारोबार हेर्ने गर्छन् । उनै सुमार्गी कुनैबेला प्रचण्ड निवासभित्र यति शक्तिशाली थिए कि, उनले भनेकै कारण वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले दुई–दुईपटक सांसद हुने मौका पाए । अहिले पनि त्यो मौका थियो । तर, प्रचण्डपुत्री गंगा दाहालले बिडारीलाई भनिन्, ‘गलत बाटो रोज्नुभयो, नत्र तपाईं बन्नुहुन्थ्यो ।’ त्यो ‘गलत बाटो’ भनिनुको कारण, सुमार्गी कनेक्सन हुनुपर्छ ।तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन्सको जग्गा किनेर चितवन मेडिकल कलेजका हरिश न्यौपानेलाई बेच्दा सुमार्गीले एक अर्ब नाफा पाए । फ्रान्सेली दूतावासको आवासीय भवन रहेको विशालनगरस्थित जग्गाबाट उठाउनुपर्ने जति नाफा उठाइसके । उक्त जमिन तत्कालिन एनबी बैंक (हालः नबिल) लाई बेचेका थिए । अब १२ रोपनी बेच्न बाँकी छ । 

हरिशलाई बेचेको तीनकुनेको जग्गाको आयकर नतिरेर अर्को लफडामा छन् । सबै हिसाब गर्दा उक्त जग्गा विक्रिबापत २५ करोड आयकर तिर्नुपर्ने हुन्छ । सुन्धारा, बागदरबारनजिक सिभिल सेन्टरपछाडिको घर पनि उनैले किनेका हुन्– तीन अर्बको जग्गा एक अर्ब २५ करोडमा । त्यो पैसा सिभिल सहकारी काण्डमा जेल परेका इच्छाराज तामाङले बेलायत लगे । भुक्तानी पनि त्यहीँ दिएको भनिन्छ ।
 

टिप्पणीहरू