बालुवाटारमा सुन काण्डको चर्चा, माओवादी नेताद्वारा स्पष्टीकरण

बालुवाटारमा सुन काण्डको चर्चा, माओवादी नेताद्वारा स्पष्टीकरण

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकमा एक क्विन्टल सुन काण्डले चर्चा पाएको छ । काण्डमा संलग्नहरुसँग केही नेताको सम्बन्ध रहेको समाचार बाहिरिएपछि आजको बैठकमा स्पष्टीकरण दिइएको बताइएको छ ।

माओवादी केन्द्रीय कमिटीको बैठक आगामी बुधबारदेखि हुँदैछ । सोही बैठकमा प्रस्तुत गरिने एजेण्डामाथि छलफल गर्ने क्रममा नेताहरु सुन काण्ड र त्यसमा सहभागीहरुको नामसँग आफू मुछिएको खबर बाहिरिएपछि स्पष्टीकरण दिन बाध्य भएका हुन् ।

विशेषगरी हिजो समातिएका दावा छिरिङसँग पार्टी उपमहासचिव वर्षमान पुन,पूर्व सभामुख ओनसरी घर्ति, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन जोडिएको समाचार फोटोहरु बाहिरिएको छ । दावासँग खिचिएको फोटो माओवादी कार्यकर्ता तथा पूर्व उपराष्ट्रपति पुनकी बहिनी अमलाको विवाहमा खिचिएको वर्षमानको भनाई छ । 

उनले उक्त काण्डबारे संसदीय वा न्यायिक छानविन समिति बनाउन माग गरेको बैठकमा सहभागी एक जना नेताले बताए । यसअघिको सुन काण्डमा मुछिएका भनिएका पूर्व सभामुख तथा पार्टी प्रवक्ता कृष्णबहादुर महराले भने आजको बैठकमा खासै धारणा नराखेको बुझिएको छ ।
 

टिप्पणीहरू