डा.गोविन्द केसीकाे माग पुरानै, सत्याग्रह नयाँ

डा.गोविन्द केसीकाे माग पुरानै, सत्याग्रह नयाँ

लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षा सुधारको माग राख्दै संघर्षरत डा.गोविन्द केसीले पुनः सत्याग्रहको चेतावनी दिएका छन् । आफ्ना माग पूरा नभए आगामी साउन २९ गतेदेखि सत्याग्रह थालिने बताएका हुन् ।

केसीले बारम्बार गरेको सत्याग्रहलगायत आन्दोलनका कारण विभिन्न सुधारहरु भएपनि राज्यले धेरै महत्वपूर्ण सम्झौता कार्यान्वयन नगरेको आरोप लगाएका छन् । आज विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘उल्टै अघि बढेका सुधारका काम मेडिकल माफियाको स्वार्थमा उल्टाइएको छ ।’

स्वास्थ्य शिक्षाका विभिन्न विषयमा सिटिइभीटीमा भर्ति भएका पार्टी कार्यकर्ता तथा माफियाहरुले अवैध रुपमा अघि बढाएको सिट निर्धारण र भर्ना प्रक्रिया रोक्न शिक्षामन्त्रीले केही नगरेको र उनीहरुलाई दण्डित गर्नुको सट्टा संरक्षण गर्नुले आशंका जन्माएको केसीको भनाई छ । 

उनले शुल्क बढाउनेसम्बन्धी सिटिइभीटीको निर्णय खारेज गर्नुपर्ने, सबै प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने, एकीकृत स्वास्थ्य शिक्षा (विज्ञान) प्रतिष्ठान र पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी कानून बनाउनुपर्ने, चिकित्सा शिक्षालाई नाफारहित बनाउनुपर्ने र स्वार्थको द्वन्द्व रोक्न कानूनी व्यवस्था गर्नुपर्ने उनको अडान छ ।

यसैगरी, सरकारी अस्पतालहरुमा विद्यमान शैयाअनुरुप स्थायी दरबन्दीको व्यवस्था गर्न, सरकारी स्वास्थ्य संस्थाहरुबाट निःशुल्क औषधि तथा उपचार प्रदान गर्नुपर्ने कानूनी व्यवस्था कडाईका साथ लागू गर्न र विगतका सम्झौता कार्यान्वयन गर्न उनले आग्रह गरेका छन् ।

टिप्पणीहरू