निर्वाचन आयोगविरुद्ध उत्रेका रविका सांसदहरु अदालत पुगे

निर्वाचन आयोगविरुद्ध उत्रेका रविका सांसदहरु अदालत पुगे

निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु अदालत पुगेका छन् । 

खर्च विवरण सार्वजनिक गरेका उम्मेदवारलाई पनि १५ हजार जरिवाना गरिएको भन्दै सो पार्टीका चार जना सांसदले निर्वाचन अयोगविरुद्ध आज उच्च अदालत पाटनमा रिट दर्ता गराएका हुन् । प्रतिनिधि सभाका सांसदहरू सोविता गौतम, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र गणेश पराजुलीको नामबाट दोलखाका दुर्गाबहादुर दाहालको वारेसमा रिट दर्ता गरिएको छ । 

निर्वाचन आयोग, प्रदेश निर्वाचन कार्यालय हेटौँडा र जिल्ला निर्वाचन कार्यालय, काठमाडौंलाई विपक्षी बनाएर दर्ता भएको रिटमा कारबाही गर्नुपूर्व स्पष्टिकरण सोध्नुपर्ने र जवाफ चित्तबुझ्दो नभएको अवस्थामा मात्र कारबाही गर्नुपर्नेमा प्राकृतिक न्यायको सिद्धान्तविपरीत सुनुवाइको मौका नदिएको जिकिर गरिएको छ । 

आयोगको निर्णयलाई उनीहरुले गैरकानुनी, स्वेच्छाचारी र अतार्किक भनेका छन् । उक्त निर्णय प्राकृतिक न्यायको प्रतिकूल हुनुका साथै संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने वैयक्तिक अधिकार र स्वतन्त्रताको हक हनन गरेको पनि रिटकर्ताहरुको दाबी छ । 

साथै, सांसदहरुको संविधानप्रदत्त विशेषाधिकार हनन गरेकाले त्यसमा उत्पेषण, प्रतिषेध र परमादेशको आदेशले बदर गरि आयोगलाई संवैधानिक र कानुनबमोजिमको कार्य गर्न र जननिर्वाचित प्रतिनिधिको मानमर्दन नगर्न तथा प्रचारमुखी कार्य नगर्न विशेष न्यायिक टिप्पणीको माग गरिएको छ । 

निर्वाचन आयोगले हालै खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवार भन्दै संघ तथा प्रदेशका झण्डै साढे दुई हजार उम्मेदवारको नाम सार्वजनिक भएको थियो । आयोगले सार्वजनिक गरेका उम्मेदवारहरुको सूचीमा बहालवाला मन्त्री, विभिन्न पार्टीका शीर्ष नेतालगायत छन् । उनीहरुलाई जनही १५ हजार जरिवाना गर्ने आयोगको निर्णय छ । 

तर, कतिपय उम्मेदवारले भने यसअघि नै आफूले खर्च विवरण सार्वजनिक गरिसकेको भन्दै आयोगको निर्णयप्रति त्यतिबेलै असहमति प्रकट गरेका थिए ।

टिप्पणीहरू