सुन तस्करीमा नाइके उम्किने, भरिया फस्ने !

सुन तस्करीमा नाइके उम्किने, भरिया फस्ने !

नेपालमा पछिल्लो समय अवैध रुपमा सुन भित्रिने क्रम बढ्दो छ । गत बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक सय किलो अवैध रुपमा भित्रिएको सुन सिनामंगल नजिैकोको चक्रपथमा एकाएक बरामद भयो । 

राजस्व अनुसन्धान विभागले मोटरसाइकल र स्कुटरको ‘ब्रेक सुको’ भित्र लुकाएर हङकङबाट ल्याइएको सुन बरामद गरेपछि अहिले सुन तस्करीको नयाँ शैली पनि खुलेको छ । यता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार विभागबाट यति ठूलो परिणाममा अवैध सुन सजिलै बाहिर ल्याएपछि चौतर्फी चर्चा र आलोचना भएको छ । यस घटनापश्चात् विमानस्थलको सुरक्षा संवेदनशीलता र भन्सार प्रशासनमाथि नै प्रश्नचिन्ह उठेको छ । 

वैदेशिक रोजगारीमा गएर फर्कनेको एक थान मोबाइल फोन समेत ल्याउन अनेकौं चेकजाँच गर्नुपर्ने भन्सारको नियम छँदाछँदै त्यति ठूलो परिमाणमा सुन सजिलै कसरी छिराइयो रु सोचनीय विषय भएको छ । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो परिणाममा अवैध रुपमा सुन तस्करी भएको यो नौ पहिलो घटना भने होइन । 

२०७६ मंसिर १२ गते विमानस्थलबाट करिब आठ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका थिए । हङकङबाट आएका उनीहरुलाई विमानस्थल भन्सार कार्यालय र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानपछि चीनको फुचियन प्रान्तका नागरिक उनीहरु भरिया मात्रै भएको तथ्य खुल्यो । २०७६ साउन १९ गते हङकङबाटै आएका चिनियाँ नागरिक ली निङसिङ चार केजी सुनसहित विमानस्थलबाट समातिए । 

त्यसअघि २०७५ चैत २० गते थाइल्याण्डबाट आएका पाँच भारतीयलाई प्रहरीले छ केजी सुनसहित नियन्त्रणमा लिएको थियो । प्रहरीको अपराध अनुसन्धान महाशाखाले २०७४ भदौ १८ गते काठमाडौंको क्षेत्रपाटीबाट ८८ केजी सुनसहित सवारी चालक मनोज अधिकारीलाई पक्राउ गरेको थियो ।

बा.१७ च ६४२७ नम्बरको गाडीमा फेला परेको तस्करीको उक्त परिमाणको सुनबारे छानबिन गर्न महाशाखाका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीको नेतृत्वमा गठित टोलीले चिनियाँ नागरिकको समेत संलग्नता रहेको पत्ता लगायो । तर, केरुङ नाका हुँदै भित्रिएको सुनका मालिक चिनियाँ नागरिक भनिए पनि कहिल्यै पक्राउ परेनन् । 

नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा सय किलोभन्दा बढी सुन अवैध रुपमा भित्रिएको छ । तर, तस्करीमा प्रत्यक्ष संलग्न व्यक्ति भने एकाध घटनाबाहेक पक्राउ परेका छैनन् । भरिया मात्रै समातिने गरेको हालसम्मको घटनाक्रमले पुष्टि गरेको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०७९/८० सम्म तस्करीको सुन एक सय ४६ किलो बरामद भएको छ । 

त्यसमध्ये सबैभन्दा बढी आर्थिक वर्ष २०७५/०७६ मा ५१ केजी समातिँदा तस्करीमा संलग्न रहेको आरोपमा एक सय १५ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०७६/०७७ मा ३० केजी सुन बरामद हुँदा तस्करीमा संलग्न ३० जनालाई प्रहरीले पक्रेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा ३२ केजी अवैध सुन बरामद भएको थियो । र, तस्करीमा संलग्न ५५ जना पक्राउ परेको बताइन्छ । 

प्रहरीले आर्थिक वर्ष २०७८/०७९ मा २३ केजी सुन बरामद गर्दा ८८ जनालाई समातेको थियो । गत आर्थिक वर्ष २०७९/०८० मा १० किलो सुन मात्र बरामद भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, सुन तस्करीमा संलग्न रहेको आरोपमा ९१ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायत विशेषगरी हङकङ, दुबई, कतार र मलेसियाबाट तस्करीको सुन आउने गरेको बताउँछन् । उनका अनुसार वैदेशिक रोजगारमा गएका नेपाली नागरिकलाईसमेत भरियाका रुपमा प्रयोग गरी सुन तस्करी गर्ने गरिएको छ । प्रहरी सक्रियताकै कारण पछिल्ला पाँच वर्षमा सय केजीभन्दा बढी सुन बरामद भएको उनको दाबी छ । 

‘सुन, लागूऔषधजस्ता अपराध कुनै एक व्यक्ति वा एक देशभित्र मात्रै सीमित नहुने भएकाले कतिपय मुख्य अभियुक्त कानूनी दायरामा नआएका हुन सक्छन्,’ प्रवक्ता कडायतले भने, ‘तर देशभित्रका अपराधी कानूनको दायरामा आएका छन् । सुन तस्करी वा अन्य कुनै पनि अपराध नियन्त्रणमा प्रहरी सक्रियताका साथ लागिपरेको छ ।’

टिप्पणीहरू