इञ्जिनियरहरुलाई प्रधानमन्त्रीको आग्रह : असारे विकासको प्रवृत्ति अन्त्य गरौँ

इञ्जिनियरहरुलाई प्रधानमन्त्रीको आग्रह : असारे विकासको प्रवृत्ति अन्त्य गरौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बनेका पूर्वाधार नटिक्ने र स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्ति त्याग्नुपर्ने बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित नेपाल इञ्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले विकासका आयोजनाहरु समयमै थालेर निर्धारित अवधिमा सम्पन्न गर्ने परिपाटी विकास गर्नुपर्नेमा पनि जोड दिनुभयो ।  

’बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको समेत सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्दछ’, उहाँले भन्नुभयो, ’विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्नुहुने मैले विश्वास गरेको छु ।’

देश विकासका लागि भौतिक पूर्वाधार निर्माण पहिलो शर्त रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले इञ्जिनियरहरु यसमा प्रत्यक्ष संलग्न हुने भएकाले जिम्मेवारीबोधका साथ काम गर्ने विश्वासमेत व्यक्त गर्नुभएको छ । 

राजनीतिक परिवर्तनलाई सुदृढ गर्दै समाजवादको आधार तयार पार्न पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ’राजनीतिक परिवर्तनका हिसाबले हामी सही मार्गमा छौँ । समावेशी लोकतन्त्रले देशका सबै जातजाति, वर्ग, समुदाय, धर्म र लिंगका नेपालीहरुलाई राजनीतिक, प्रशासनिक, शैक्षिक, आर्थिक र सामाजिक विकासका हर क्षेत्रमा समाहित गरेको छ । तीनै तहका सरकारहरू नागरिकको हितलाई केन्द्रमा राखेर काम गरिरहेका छन् । नागरिक अपेक्षा सम्बोधन गर्ने चुनौती अहिले पनि हाम्रोसामु छ ।’

टिप्पणीहरू