ज्येष्ठ नागरिककाे उपचारमा छुट दिने अस्पतालको संख्या बढ्दो

ज्येष्ठ नागरिककाे उपचारमा छुट दिने अस्पतालको संख्या बढ्दो

सरकारले ज्येष्ठ नागरिकलाई सहज रुपमा उपचार सेवा प्रदान गर्ने अस्पतालको संख्या थपिँदै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरिकलाई निःशुल्क एवम् छुट सुविधा उपलब्ध गराउने अस्पतालको संख्या विस्तार गर्दै ६२ वटा पुगेको जानकारी दिएको छ । 

मन्त्रालयले नयाँ आर्थिक वर्षको प्रारम्भमा कीर्तिपुर बर्न अस्पताल र नरदेवी आयुर्वेद अस्पतालमा पनि उक्त सेवा विस्तार गरेको जनाएको छ । 

यसअघि ६० वटा अस्पतालमा मात्र ज्येष्ठ नागरिकलाई छुटसहितको  उपचार सेवा उपलब्ध गराइएको थियो । मन्त्रालयले ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन २०८०÷८१ मा मुलुकभर ज्येष्ठ नागरिक निःशुल्क एवम् सहुलियतपूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालहरुको संख्या ६२ पुगेको उल्लेख गरेको छ । 

मार्गदर्शनअनुसार ती अस्पतालमा उमेरहद, शारीरिक अशक्तता र आर्थिक स्थितिका आधारमा ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट दिनुपर्नेछ । 

त्यस्तै, ७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा अस्पताल व्यवस्थापनबाट उपदफा (क) मा तोकिएका सेवाहरुको दायरा बढाई स्वास्थ्य उपचार सेवामा ७५ प्रतिशत छुट दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ । 

यसैगरी, ८० देखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई उपदफा (ख) मा तोकिएका सेवाहरुको दायरा बढाई स्वास्थ्य उपचार सेवामा शतप्रतिशत छुट दिनुपर्ने छ । 

मन्त्रालयले ८५ वर्षमाथिकालाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवाहरु निःशुल्क गराउनुपर्ने जनाएको छ । तर, अस्पतालले उपलब्ध गराएको वार्ड वा बेडको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसेर उपचार गर्दा लागेको खर्चमा कुनै छुट वा सुविधा प्राप्त नहुने मन्त्रालयको भनाइ छ । 

अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवालाई ज्येष्ठ नागरिकमैत्री बनाउन आकस्मिक, बहिरङ्ग र अन्तरङ्गसेवा प्रयोग गर्न सहज हुने गरी आवश्यक भौतिक पूर्वाधारको निर्माण गरिएको हुनुपर्ने छ ।

टिप्पणीहरू