मर्निङ वाकमा लुटपाट, सुनको सिक्रीले लिन सक्छ ज्यान !

मर्निङ वाकमा लुटपाट, सुनको सिक्रीले लिन सक्छ ज्यान !

केही महिनाअघि काठमाडौंको चाबहिल नजिकैको सरस्वतीनगरमा सुनको सिक्री लुटने उद्देश्यले एक महिलाको विभत्स हत्या गरियो । ‘निरु किचन’ नामक भाँडा पसल सञ्चालन गर्दै आएकी ३५ वर्षीया नीरा पाण्डे आचार्यको गत वैशाख ७ गते मध्यान्हको समयमा चक्कु प्रहारबाट हत्या भएको थियो । 

हत्यामा संलग्न रहेको आरोपमा झापाको मेचीनगर नगरपालिका १० का विनोद विश्वकर्मा वैशाख १७ गते समातिए । उनले यसअघि बालबालिकालाई कराँते समेत सिकाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

विश्वकर्मालाई झापामै हुँदा क्यासिनोको लत लागेको थियो । उनी ऋण लिएर भएपनि जुवाको निम्ति क्यासिनो छिर्थे । सोही क्रममा उनीमाथि तीन लाखभन्दा बढी रुपैयाँको ऋण लाग्यो । 

पहिले ऋणको विषय उनले गुपचुप राखे तर घरपरिवारले थाहा पाएपछि घरबाटै निकालिए । त्यसपछि काठमाडौं आए र ठमेलको भाइबे्रन्ट क्लबमा बाउन्सरको काम गर्न थाले । मासिक पारिश्रमिक १५ हजार रुपैयाँ थियो । 

नयाँ बसपार्क नजिकै बस्दै आएका उनी कोठाभाडा तिर्न नसकेपछि भक्तपुरको लोकन्थलीस्थित गाउँकै एक जना भाइसँग बस्न थाले । बेरोजगार विश्वकर्मा वैशाख ७ गते लोकन्थलीबाट बस चढेर चाबहिलको केएल टावर पुगे । त्यहाँबाट हिँडेर सरस्वतीनगर पुगेपछि उनको नजर निरु किचेनकी सञ्चालक नीरामाथि पर्यो । 

‘नीराको घाँटीमा लगाइएको सुनको सिक्रीमा म लोभिएँ । आर्थिक अवस्था नाजुक भएको बेला सिक्री लुट्न पाए आफ्नो समस्या हल हुन्छ भन्ने सोचेर लुटपाटको योजना बनाएँ,’ विनोदले प्रहरीसँगको बयानमा भनेका थिए । 

सिक्रीको निम्ति विनोदले नीराको घाँटी, छाती र पेटमा २० ठाउँमा छुरा रोपे । हत्यापछि सुनको सिक्री झिकेर काउन्टरमा भएको १२ सय रुपैयाँ समेत लिएर उनी फरार भएका थिए । 

यस्तै, गत असार २४ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मर्निङ वाकमा निस्किने महिलालाई लक्षित गर्दै सिक्री लुटपाट गर्ने कार्यमा संलग्न पाँच जनाको गिरोहलाई पक्राउपछि सार्वजनिक गर्यो । 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोजकुमार केसीका अनुसार उनीहरुले २० दिनको अवधिमा एउटै तरिका अपनाएर आठ वटा सिक्री लुटेका थिए । 

सिक्री लुट्ने योजना काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ७ घर भई हाल काठमाडौंको बानेश्वर बस्दै आएका उमेश क्षेत्रीले बनाएको खुलेको छ । त्यस्तै, लुटपाटमा संलग्न रहेको आरोपमा रामेछापका रविन दमाई, सुनसरीका रवि विक, धनकुटाका राहुल माझी र चोरीको सुन खरिद गर्ने भारत घर भई हाल न्यूरोड बस्ने श्रीकान्त मैतीलाई पनि प्रहरीले पक्रेको थियो । 

अनुसन्धानको क्रममा गिरोहका प्रमुख योजनाकार रहेका उमेश र रविन यसअघि सँगै मोटरसाइकल चोरीमा समातिएको तथ्य पनि खुलेको थियो । हिरासतमा चिनजान भएका उनीहरुले छुटेपछि एउटा क्याफेमा बसेर लुटपाटको नयाँ योजना बनाएको प्रहरी अनुसन्धानले बताएको छ । पछिल्लो घटनामा उनीहरु असार २२ गते पक्राउ परेका थिए ।
 
काठमाडौंको कपुरधारामा असार १ गते उनीहरुले पहिलो पटक लुटपाट गरेको खुलेको छ । उनीहरुले चोरी गरेकै मोटरसाइकल प्रयोग गरेर मर्निङ वाकमा निस्किने महिलालाई पछ्याउने र लुटेपछि भाग्न अनुकूल हुने ठाउँमा गरगहना लुट्ने गरेको प्रहरीको भनाई छ । 

सीसीटिभी फुटेजको माध्यमबाट प्रहरी उनीहरुसम्म पुग्न सफल भएको थियो । उनीहरुको साथबाट सुनको ढिक्का १ थान (११.२ ग्राम), दुई वटा मोटरसाइकल, छ थान मोबाइल फोन र एक थान सुनको नेकलेस बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

यता, स्कुलमा आफ्ना बालबच्चा लिन गएका महिलालाई लक्षित गरेर लुटपाट गर्ने तीन जनाको समूहलाई पनि प्रहरीले केही दिनअघि मात्रै पक्राउ गरेको छ । ललितपुर महानगरपालिका ११, लुकुसीका ३२ वर्षीय लोलिनकाजी महर्जन, सुन्धाराका ३१ वर्षीय रविन्द्र शाक्य र काठमाडौं महानगरपालिका २४, नरदेवीका ३३ वर्षीय रोहन नेपाली समातिएका हुन् । 

उनीहरुले ललितपुरमा मात्रै असार १७ गतेदेखि असार १९ गतेको अवधिमा चार पटक सिक्री लुटपाटको प्रयास गरेको प्रहरीको दाबी छ । असार १७ गते दिउँसो सवा ४ बजे ललितपुर महानगरपालिका १०, महर्जन गल्लीमा पेम्बाकुमारी तामाङको सुनको सिक्री लुटपाटको प्रयास भएको थियो । सोही दिन पौने ५ बजे वडा नम्बर ११ की मिना शाक्यको पनि सिक्री लुटपाट भएको बताइन्छ ।

उनीहरुले विशेषगरी विद्यालयबाट आफ्ना बालबालिका लिएर फर्किएका महिलालाई निशाना बनाउने र बालबालिका सँगै भएपछि लुटपाट गर्नेलाई समाउन गाह्रो हुने जनाउँदै आफूहरुले त्यस्तो गरेको बयान दिएका हुन् ।

सिक्री लुटेर भागेको उजुरीपछि जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान अघि बढायो । सीसीटीभी फुटेजको माध्यमबाट प्रहरीले लोलिनकाजी र रविन्द्रलाई समात्यो तर, रोहन भने फरार छन् । 

प्रहरीले रोहनलाई समात्न नयाँ जुक्ति निकाल्यो । लोलिनकाजीमार्फत् रोहनलाई फोन गर्न लगाई काठमाडौंको सुन्धाराबाट उनलाई नियन्त्रणमा लिएको थियो । यसरी पक्राउ परेकालाई असार २६ गते पत्रकार सम्मेलनमा सार्वजनिक गरियो । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धीविक्रम शाहका अनुसार लोलिनकाजीविरुद्ध यसअघि पनि दुई वटा लागूऔषध र सात वटा चोरीका गरेर ९ वटा मुद्दा चलिसकेको छ ।  

रोहनले भने चोरी र लागूऔषध प्रयोग गर्ने गरेको तर पहिलो पटक पक्राउ परेको प्रहरीले जनाएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा लुटपाटको घटना ह्वात्तै बढेको छ । तीमध्ये उल्लिखित यी केही प्रतिनिधि घटना मात्रै हुन् । 

सार्वजनिक यातायात, घर, पसल, बाटोलगायतमा दिनदहाडै मानिस लुटिन थालेका छन् । यो क्रम बढ्दो छ । उपत्यका जस्तो घना बस्ती भएको ठाउँमा समेत अहिले मानिसले दिउँसै आफुलाई असुरक्षित महशुस गर्न थालेका छन् । 

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२० मा चोरी तथा डाँकीसम्बन्धी कसुरमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । तर, कडा कानूनी व्यवस्थाका बाबजुद यस्ता अपराधिक क्रियाकलाप बढ्दै गएका छन् । अहिले सुन, गरगहनाका निम्ति नागरिकको हत्या समेत हुन थालेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मी केही दिनयता लुटपाटका घटना बढेको बताउँछन् । उनका अनुसार गिरोहले विशेषगरी महिलालाई लक्षित गर्दै लुटपाट गर्ने गरेको पाइएको छ । 

रेग्मी भन्छन्, ‘शारीरिक रुपमा कमजोर देखेर गिरोहहरुले महिलाहरुलाई आफ्नो टार्गेट बनाएको देखिएको छ । अर्कोतर्फ, गर्मी बढेकाले पातलो कपडा लगाउने हुँदा पनि उनीहरुलाई लुटपाट गर्न सजिलो भएको हो ।’ 

उनी यस्ता घटनाबाट जोगिन सर्वसाधारण पनि सतर्क र सुरक्षित हुन आवश्यक रहेको सल्लाह दिन्छन् । ‘हामीले लुटपाटमा संलग्नलाई कारबाही गर्दै आइरहेका छौं, तर सर्वसाधारण पनि सतर्क हुनुपर्छ । बाहिर जाँदा जथाभावी गरगहना लगाएर हिँड्नुहुन्न । लगाए पनि सर्तकता अपनाउनुपर्छ,’ प्रवक्ता रेग्मीले भने ।

टिप्पणीहरू