सरकारको संकल्पले भ्रष्टहरु तर्सिए : प्रधानमन्त्री

सरकारको संकल्पले भ्रष्टहरु तर्सिए : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैं उभिने प्रतिवद्धता पुन: दोहोर्याउनु भएको छ । 

आज दिउँसो कीर्तिपुरस्थित अखिल (क्रान्तिकारी) स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका उहाँले भ्रष्टाचारविरुद्ध सरकारले लिएको संकल्पबाट भ्रष्टहरू तर्सिएको पनि दावी गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, 'सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु । भ्रष्टहरूमाथि कार्वाही सुरू भएको छ । ललिता निवासको फाइल फेेरि खोलिएको छ। यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला- थप फाइलहरू खोलिन्छ र कार्वाही गरिन्छ ।'

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले माओवादी विभाजनले कम्युनिष्ट आन्दोलन नै कम्जोर बनेको बताउँदै अहिले माओवाद मान्ने पार्टीहरुबीच एकीकरणको आधार बनिसकेको पनि बताउनुभयो । त्यसका लागि एकता संयोजन समिति बनाएर बृहत एकतासहित अघि बढ्ने प्रधानमन्त्रीको भनाई छ ।  

'२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौं । तर, पार्टी एकतावद्ध हुन सकेन, टुटफुट र विभाजनले आन्दोलन कमजोर भयो', उहाँले भन्नुभयो, 'फेरि एउटा नयाँ परिस्थिति बनेको छ । माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्दैछ । पार्टी एकता संयोजन समिति बनाइन्छ र बृहत एकतासहित अगाडि बढिन्छ ।

टिप्पणीहरू