राष्ट्रपतिको विदेशमा गरिएको उपचार खर्च आधा करोड, गगनको आग्रह विपरीत राज्यकोषबाट निकासा

राष्ट्रपतिको विदेशमा गरिएको उपचार खर्च आधा करोड, गगनको आग्रह विपरीत राज्यकोषबाट निकासा

राष्ट्रपति रामचन्द्र पौडेलको गत वैशाखमा भारतको राजधानी नयाँ दिल्लीमा भएको उपचारमा ५५ लाख दुई हजार २७९ रुपैयाँ खर्च भएको छ । उहाँको छातिमा देखिएको इन्फेक्सनको उपचारमा भएको उक्त खर्च भुक्तानीका लागि अर्थ मन्त्रालयले बजेट निकासा गरेको छ । 

उपसचिव भेषप्रसाद भुर्तेलले दस्तखत गरेको मन्त्रालयको पत्रमा सम्बन्धितलाई उक्त रकम भुक्तानी गर्न बजेट निकासा भएको जानकारी गराइएको हो । राष्ट्रपतिलाई श्री एअरलाइन्सको चार्टर उडानमा काठमाडौंबाट नयाँ दिल्ली लगिएको थियो ।

अहिले सोही क्रममा भएको खर्चको बिल भरपाईको भुक्तानीको निम्ति अर्थ मन्त्रालयमा प्राप्त विवरणको आधारमा उक्त रकम निकासा भएको बताइएको छ । 

जबकी यसअघि नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिको उपचारमा लागेको खर्च राष्ट्रपति स्वयम्ले व्यहोर्दा राम्रो हुने बताएका थिए । उनले राष्ट्रपति काठमाडौं फर्केपछि गत बैशाख १८ गते नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको सार्वजनिक कार्यक्रममा बोल्दै उनले भनेका थिए, ‘जनताले सबै खर्च आफैैंले व्यहोनुपर्ने तर राज्यका उपल्ला तहका पदाधिकारीहरुको खर्च सरकारले व्यहोर्ने वर्तमान नीति गलत छ ।’

थापाले भने, 'राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट व्यहोनुपर्छ । म व्यहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त । त्यसले राष्ट्रपतिको सम्मान कहाँ पुर्याउँछ !’

स्वयम् राष्ट्रपतिको कार्यालयले पनि वैशाख १९ गते भारतमा भएको उपचार खर्च राष्ट्रपति रामचन्द्र पौडेल स्वयमले व्यहोर्न चाहेको बताएको थियो । प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस नोटमा उक्त विवरण उल्लेख गरे पनि अहिले सरकारी कोषबाट खर्च व्यहोरिएको हो ।

टिप्पणीहरू