वर्षा अगावै पुल निर्माण सकिएपछि स्थानीय दंग

वर्षा अगावै पुल निर्माण सकिएपछि स्थानीय दंग

मनिष गुप्ता

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ९ मा रहेको सुरइ नदीमा मल्ट्रिस्पायन ट्रसपुल निर्माण अन्तिम चरणमा पुगेको छ । दुई वटा स्थानीय तह जोड्ने यो पुल निर्माणसँगै दुवै पालिकाका स्थानीय हर्षित भएका छन् । 

पुलले कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकालाई जोडेको छ ।
निर्माणको अन्तिम चरणमा पुगेको पुलले विजयनगर गाउँपालिका वडा नम्बर ३ मा पर्ने महदेइया, मैनारी, पत्थरदेइया, जगदीशपुर, कढिहा गाउँका स्थानीयलाई मुख्य बजार कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज बजार आउजाउमा सहज हुने देखिएको छ । विशेषगरी वर्षायाममा सुरइमा आउने बाढीले उनीहरुलाई नदी तर्दाको जोखिमबाट जोगाएको हो । 

पुल निर्माणसँगै दुवै पालिकाका स्थानीयलाई वारपार गर्न सहज भएको कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप साहले बताए । खासगरी विजयनगर गाउँपालिकाका वडा नम्बर ३ का स्थानीयको मुख्य बजार बहादुरगञ्ज हो । वर्षायाममा उनीहरुलाई आउजाउ गर्दा हुँदै आएको असहज अब हटेको छ  । 

गाउँपालिकाबाट बहादुरगञ्जमा रहेको रामगोरखा माविमा अध्ययन गर्न जाने विद्यार्थी वर्षायाममा विद्यालय जान सक्दैनथे । तर यो वर्षबाट विद्यार्थीहरु सबै याममा विद्यालय पुग्ने भएका छन् । पुल बनेपछि आफूहरुलाई बहादुरगञ्ज बजारमा किनमेल गर्न जान सहज भएको विजयनगर ३ महदेइयाका विरेन्द्र चौधरीले बताए । ‘पुल बनेपछि अब ज्यानको जोखिम मोलेर नदीमा हेलिएर तर्नुपर्ने बाध्यता हटेको छ,’ उनले भने । 

पुलले विद्यार्थी, गृहणी सबैलाई सहज बनाएकोमा उनीहरु खुशी देखिएका हन् । ९६ मिटर लामो र डेढ मिटर चौंडा उक्त पुल कृष्णनगर नगरपालिकाको १२ लाख ९३ हजार २ सय २३ रुपैयाँ, संघीय सरकारको सशर्त अनुदान ८४ लाख ५५ हजार ६ सय ९४ र उपभोक्ता समितिको १ लाख ९८ हजार ९ सय ५७ गरी कुल ९९ लाख ४७ हजार ८ सय ७५ रुपैयाँ लागतमा निर्माण भएको हो । 

कृष्णनगर नगरपालिकाका प्राविधिक प्रदिप चौधरीका अनुसार लिडो नेपालको प्राविधिक सहयोगमा निर्माण भएको ट्रसपुलको ९९ प्रतिशत काम सकिएको छ । उपभोक्ता समिति अध्यक्ष निर्भय सिंहले अब लोड टेस्ट गरिसकेपछि औपचारिक रुपमा पुल सञ्चालनमा ल्याइने जानकारी दिए ।

टिप्पणीहरू