‘भिआइपी’ ले जेल भरिभराउ

‘भिआइपी’ ले जेल भरिभराउ

नक्कली शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतको आदेशअनुरूप पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना केन्द्रीय कारागार सुन्धारामा दिन कटनी गरिरहेका छन् । साथमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्व सांसद आङ्टावा शेर्पाहरू पनि छन् । नक्कली भुटानी काण्डमा जिल्लाबाट अन्तिम फैसला नहुञ्जेलसम्म उनीहरूको बास त्यही जेलमा हुनेछ । 

अदालतले आदेशमै सबैलाई केन्द्रीय कारागारमा राख्न भनेको थियो । अभिलेखअनुसार केन्द्रीय कारागारका तीन वटा ‘ब्लक’ मा तीन हजार चार सय दुई जना कैदीबन्दी छन् । त्यसैमा पुर्पक्षका लागि थपिएका छन्, नक्कली भुटानी प्रकरणका भिआइपी अभियुक्त । प्रहरी हिरासतबाट जेल पुगेपछि १६ जनालाई आधा आधा गरी दुई वटा ब्लकमा राखिएको छ । आठ जना अभियुक्त भद्र बन्दीगृह र आठ जना केन्द्रीय कारागारमा छन् । खाँण र रायमाझीको एउटै कोठामा संयुक्त बेड बिस्तरा छ । 

भद्र बन्दीगृहको अर्को कोठामा अभियुक्तमध्येका रायमाझी पुत्र सन्दिप, खाँणका पूर्व निजी सचिव नरेन्द्र केसी, हज कमिटीका अध्यक्ष समशेर मिया“, कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा, गोविन्द चौधरी र रामशरण केसीलगायत छन् । पञ्चायतविरुद्धको आन्दोलनका क्रममा२०४५ सालको अन्त्यतिर खाँण र रायमाझीलाई पक्राउ गरी भद्र बन्दीगृहमै राखिएको थियो । 

यी दुई नेताले त्यतिबेला एउटै कोठामा तीन महिना बिताएका थिए । तीन दशकपछि फेरि फरक प्रकरणमा रुम पार्टनर बनेका छन्् । दुई फरक विद्यार्थी संगठनको नेतृत्वमा रहेका उनीहरू त्यतिबेला राजनीतिक बन्दी थिए भने अहिले संगठित अपराधका अभियुक्त । त्यतिबेला जेलबाट छुट्दा उनीहरूको शीर गर्वले ठाडो थियो तर अहिले भने गम्भीर फौजदारी अभियोग लागेको छ । 

रायमाझी संसदबाट पनि निलम्बित भइसकेका छन् । स्रोतले दिएको जानकारीअनुसार खाँण र रायमाझी रहेको कोठामा सजायँ तोकिएका अरु ६ जना कैदीबन्दी छन् । जहाँ, जेलका नाइके र भाइ नाइके पनि बस्छन् । खाँण र रायमाझीलाई यिनै दाइ नाइके र भाइ नाइकेले भात भान्साको प्रबन्ध गरिदिएका छन् । रायमाझी पुत्र सन्दिपलाई भने छुट्टै कोठामा अरू कैदीबन्दीसँग मिसाएर राखिएको छ । बाउछोराको कोठाबाहिर मात्र भेटघाट हुन्छ । पूर्वसचिव पाण्डेलाई पनि अरु कैदीबन्दीसँगै छ्यासमिस गरेर राखिएको छ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, सागर राई र हरिभक्त महर्जन पनि त्यहीं छन् । 

भुटानी काण्डका अभियुक्तसँगै पत्नी हत्याका अभियुक्त पूर्वडिआइजी रञ्जन कोइराला, निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य अभियुक्त समीरमानसिंह बस्नेत र ३३ किलो सुन तस्करी तथा सोनाम शाक्य हत्याका अभियुक्त चुडामणि उप्रेती उर्फ ‘गोरे’ पनि सेन्ट्रल जेलमै कैदी जीवन बिताइरहेका छन् । उनीहरूसँग पनि नयाँ पाहुनाको रोज भेटघाट हुन्छ । यतिबेला सेन्ट्रल जेलको माहोल फेरिएको छ । 

शरणार्थी काण्डका बन्दीलाई सिधाबापत दैनिक ८० रूपैयाँ र ७ सय ग्राम चामल दिइएको छ । यी अभियुक्तको हकमा यता सरकारी वकिल र प्रहरीले अदालतबाट छुटी जाने भएमा अख्तियार र सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाउनसमेत माग गरेका छन् । 
 

टिप्पणीहरू