सरकारको भविष्यबारे विशेष सल्लाह

सरकारको भविष्यबारे विशेष सल्लाह

कांग्रेस सभापति शेरबहादुर देउवाले भन्नुभयो, ‘नुवाकोटमा मात्रै पैसो हालेको छ । खै, के–हो, के–हो !’ यसपछि सँगै रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादवसहितका शीर्ष नेताहरु एकै लयमा गलल हाँस्नुभयो ।

यसरी अहिलेको बजेटसँग अरु त अरु, स्वयं अर्थमन्त्रीको पार्टीका सभापति नै सन्तुष्ट हुनुहुन्न भन्ने कुरा उहाँकै मुखबाट निस्किँदा शीर्ष नेताको बैठकमा हाँसोको फोहोरा छुटेको हो । अर्थमन्त्री डा.प्रकाशशरण महतद्वारा पेश गरिएको आर्थिक वर्ष २०८०/०८१ को बजेटका विभिन्न शीर्षकमा विनियोजित रकम, आयोजना र शीर्षकका कारण सत्तारुढ दलका सांसद नै विभाजित हुने स्थिति देखिएपछि त्यसलाई कसरी हल गर्ने भन्नेबारे शीर्ष नेताबीच शनिबार छलफल हुँदा देउवाले त्यस्तो कुरा भन्नुभयो ।

आफ्नै पार्टीको तर्फबाट अर्थमन्त्री भएका डा.महतले पेश गरेको बजेटको देउवाले बचाव गर्नुहोला र पारित गर्न सहयोग माग्नुहोला भन्ने अरु नेताको अनुमान थियो । तर, अरुले विरोध गरिसकेपछि देउवा पनि त्यसैमा सामेल हुनुभयो । त्यसपछि प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘उठेका सबै कुरालाई हल गरेर जाऔं, के गर्दा समाधान हुन्छ, त्यसका निम्ति सरकार तयार छ । कम्तिमा सत्तापक्षीय सांसदहरुबीच विश्वासको वातावरण बनाऔं ।’ यसपछि बजेटले उत्पन्न गरेको असन्तुष्टि हल गर्ने गरी एउटा टिम बनाउने सल्लाह भयो । उक्त कार्यदलमा बजेटको सिद्धान्त र प्रक्रियाबारे सोच्नुपर्ने विषयमा छलफल भएको छ । त्यो कुरा यसपालि सम्भव छैन, अर्को वर्ष मिलाउने भन्ने सहमति भएको स्रोतले जनाएको छ । 

बजेटको विषयलाई लिएर एकीकृत समाजवादीमा राजेन्द्र पाण्डे, कांग्रेसमा गगन थापाहरुले व्यक्त गरेका असन्तुष्टिको अन्तर्य खोज्नेतिर शीर्ष नेताहरुले त्यति चिन्ता गरेनन् । बरु ती नेता ओलीले उकास्दैमा बोल्नेखाले हैनन्, अर्कातिर सरकार नै ढालौं भन्ने नियतका साथ बोलिएको पनि हैन भन्नेमा सबै नेता एकमत थिए । त्यसमाथि कांग्रेस नेता मीनेन्द्र रिजालले भनिदिए, ‘सरकारलाई कसैले केही लछार्नेवाला छैनन् ।’ 

यही बहानामा सरकार फालौं र कांग्रेसको नेतृत्वमा जाऔं भन्ने केपी ओलीको सन्देशलाई कांग्रेसकै नेताहरुले ‘जाली कुरा’ भनेका छन् । त्यस्तै, उपचारका क्रममा सिंगापुरमा नेपालको सत्ता राजनीतिमाथि केन्द्रित रहेर कांग्रेस सभापति देउवाको कोहीसँग ‘अतिरिक्त भेट’ भएको भन्ने चर्चा गलत भएको उहाँले बैठकमा बताउनुभएको छ । 

उता, ७० वर्षे प्रावधान निलम्बन गरेपछि आफूलाई च्यासल बोलाएर ओलीले अपमानित गर्नुभएको भन्दै वामदेवले समाजवादीका नेताहरुलाई फोन गर्न थाल्नुभएको छ । उहाँले माधव नेपाललाई ‘अब केपीसँग जाने कुनै सम्भावना छैन’ भन्नुभएको छ । तर, एकीकृत समाजवादीमा पनि ७० वर्षे उमेरहद छ । त्यसपछि वामदेवको जोड थियो, समाजवादी मोर्चामा छिर्ने । वामदेवले फोन गर्दा माधव रौतहटमा हुनुहुन्थ्यो । उहाँले फर्किएपछि कुरा गरौंला भन्नुभएको छ ।
 

टिप्पणीहरू