स्कुलका कर्मचारीले रिले अनशन नछोड्ने

स्कुलका कर्मचारीले रिले अनशन नछोड्ने

निजामती कर्मचारीसरह तलब र सेवासुविधाको माग गर्दै आन्दोलन गरिरहेका विद्यालयका कर्मचारीहरुले अर्को चरणको संघर्ष शुरु गरेका छन् । 

माग पूरा नभएसम्म घर नफर्किने अडान लिँदै विद्यालय कर्मचारीहरुले राजधानीको माइतीघर मण्डलामा आजदेखि रिले अनशन थालेका हुन् । अन्य सरकारी कर्मचारीहरुको तलबभत्ता वृद्धि भइरहँदा सरकारले विद्यालय कर्मचारीमाथि विभेद गरेको आरोप लगाउँदै उनीहरुले आफ्नो माग सम्बोधन नभएसम्म अनशन जारी राख्ने बताएका छन् । 

गत जेठ २० गतेदेखि चरणबद्ध आन्दोलन शुरु गरेका विद्यालय कर्मचारीहरुले असार ३ गते आन्दोलन स्थगितको घोषणा गरेका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता टोली गठन गरेर संवादको वातावरण बनाउन आग्रह गरेपछि उनीहरुले तत्कालका लागि आन्दोलन स्थगन गरेका थिए । तर, सरकार आफ्नो निर्णयबाट पछि हट्न सक्ने आशंका गरेका उनीहरुले आन्दोलन जारी राखेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए । 

आफूहरुको माग सम्बोधन नभएसम्म माइतीघरमै अनशन बसिरहने उल्लेख गर्दै उनले सरकारले यस विषयलाई हल्का रुपमा लिए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

टिप्पणीहरू