धादिङमा हुलाकका कर्मचारीको धर्ना

धादिङमा हुलाकका कर्मचारीको धर्ना

सरकारले बजेट भाषण मार्फत् देशभरका अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेसँगै हुलाकमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुले जिल्ला हुलाक कार्यालय धादिङमा आज विरोधसहित धर्ना दिएका हुन् । 

उनीहरुले अतिरिक्त हुलाक खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको तलब सुविधा वृद्धि गरिरहँदा सरकारले अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीलाई यसअघि असमान र अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाइएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट वक्तव्यको बुदा नम्बर ३७४ मा उल्लेखित अतिरिक्त हुलाक खारेज गर्ने भन्ने निर्णयप्रति उनीहरुको संगठनले सरकारको ध्यानाकर्षण गराएको हो । 

समयसापेक्ष अतिरिक्त हुलाक स्तरोन्नती र आधुनिक व्यवस्थापन गर्नुको सट्टा खारेजीको निर्णयले कर्मचारीलाई आन्दोलित बनाएको अतिरिक्त हुलाक एशोशीएसन धादिङका अध्यक्ष बुद्धिराज थपलियाले बताए ।

अतिरिक्त हुलाक कार्यालयमा हुलाक प्रतिनिधि, हुलाकपत्र वितरक र डाकवाहक तीन तहका कर्मचारी छन् । हुलाक प्रतिनिधिले आठ हजार तीन सय १० रुपयाँ तलब पाउँछन् भने वितरक र डाकवाहकले मासिक सात हजार दुई सय ७५ रूपैयाँ पाउँछन् । राज्यले अहिले ती कर्मचारीलाई घर न घाटको बनाउन लागेको थपलियाले बताए । राज्यले मानवीय संवेदनापनि भुलेको उनको आरोप छ । 

धादिङमा ३७ ओटा अतिरिक्त हुलाक छ । एक सय ३३ जना कर्मचारी छन् । जिल्ला हुलाक कार्यालय मार्फत सेवा सुविधा लिँदै आएका छन् । कार्यालय खारेज गर्ने नै भएपनि उचित सम्मानसहित कर्मचारीलाई बिदाई गर्नुपर्ने कर्मचारीहरुको माग छ ।

टिप्पणीहरू