तोडफोडपछि नेपाल मेडिकल कलेजको ओपीडी सेवा बन्द, स्वास्थ्यकर्मीहरु धर्नामा

तोडफोडपछि नेपाल मेडिकल कलेजको ओपीडी सेवा बन्द, स्वास्थ्यकर्मीहरु धर्नामा

काठमाडौँको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । पत्थरीको उपचारको निम्ति अस्पताल पुगेका बिरामीको उपचारमा लापरबाही गरिएको भन्दै बिरामीका आफन्तले तोडफोड गरेपछि आज अस्पताल बन्द गरिएको बताइएको छ ।

बिरामी अचेत अवस्थामा पुगेको भन्दै आक्रोशित आफन्तले हिजो तोडफोड गरेका थिए । आज अस्पताल प्रशासनले ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिदिएको छ ।

अस्पताल प्रशासनले तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु प्लेकार्ड बोकेर धर्नामा बसेका छन् । 

उनीहरुले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति गर’, ‘स्वास्थ्य संस्थामा आक्रमण गर्न पाईंदैन’, ‘स्वास्थ्य संस्थामा शान्ति सुरक्षा कायम गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् । 

गोकर्णेश्वर नगरपालिका, माकलबारीका ७१ वर्षीय सुवर्णकुमार धिताल पित्तथैलीको शल्यक्रियाका लागि आइतबार अस्पतालमा भर्ना भएका थिए । उपचारको क्रममा अस्पतालको लापबाहीका कारण धिताल कोमामा गएको भन्दै बिरामीका आफन्तले आन्दोलन र तोडफोड गरेका हुन् । 

उनीहरुले अस्पताल परिसरमा नारा जुलुस, हुलहज्जत गरी अस्पताल तोडफोड जस्ता अवाञ्छित क्रियाकलाप गरेको प्रशासनको आरोप छ । धितालको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको पनि अस्पतालले विज्ञप्तिमा उल्लेख गरेको छ ।

टिप्पणीहरू