माओवादी पत्रकारको माग - भ्रष्टाचारविरुद्धको अभियानबाट सरकार पछि नहटोस्

माओवादी पत्रकारको माग - भ्रष्टाचारविरुद्धको अभियानबाट सरकार पछि नहटोस्

नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपालले कुनै पनि बहानामा भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्न सरकारको ध्यानाकर्षण गराएको छ । 

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाउँदै अध्यक्ष विष्णु सापकोटा जुगलले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतासहित चालेको कदम, गरेको निर्णय र कारबाही प्रक्रियाबाट पछि नहट्न आग्रह गरेका हुन् । उनले सरकारको यस अभियानले आम जनमानसमा सकारात्मक सन्देश र नयाँ आशाको सञ्चार भएको उल्लेख गर्दै ऐक्यबद्धता जनाएका छन् । 

साथै, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत समानुपातिक विज्ञापन प्रणालीको नीति ल्याएकोमा आभार व्यक्त गर्दै यसलाई व्यवहारिक रुपमा तत्काल कार्यान्वयन गर्न पनि उनले माग गरेका छन् ।  

अध्यक्ष सापकोटाले सबै विज्ञापनलाई एकद्धार प्रणालीमा लैजानुपर्ने र विज्ञापन बोर्डलाई समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनका लागि थप जिम्मेवार बनाउन तथा प्रक्रिया पूरा गरी सञ्चालनमा रहेको अनलाइन सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । 

योसँगै डिजिटल प्रविधिको दुरुपयोगबाट हुने सामाजिक अपराध (साइबर क्राइम) नियन्त्रणका लागि सामाजिक सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने माग राख्दै सेन्टरले शान्ति सम्झौताको मर्म र नेपालको परिवर्तनका एजेण्डाविरुद्ध संसदभित्र र बाहिर विभिन्न कोणबाट प्रहार भइरहेका क्रियाकलाप र प्रवृत्तिमाथि गम्भीरतापूर्वक भएर आवश्यक कदम चाल्न पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
 

टिप्पणीहरू