रुपन्देहीका खोलामा सँधै धाँधली

रुपन्देहीका खोलामा सँधै धाँधली

रुपन्देही जिल्लाका खोलानालाबाट नदीजन्य पदार्थको उत्खनन् कार्यमा सँधै धाँधली हुने गरेको छ । पालिकाहरुले तोकेको ठेक्काभन्दा नदीजन्य पदार्र्थ बढी उत्खननन् गर्ने गरिएको छ । जिल्लाका गैडहवा, शुद्धोधन, सियारी, तिलोत्तमा, कोटहीमाई, देवदह, बुटवल, सैनामैना, कन्चन पालिकाले लगाएको ठेक्कामा धाँधली हुने गरेको हो । 

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले आफ्नो चुनावी घोषणापत्रमा नदीमा मेसिनको प्रयोग नगर्ने प्रतिबद्धता जाहेर गरेपनि यतिबेला दिनरात मेसिन प्रयोग गर्न छुट दिइएको छ । अध्यक्ष घिमिरेले ठेकेदारसँग मिलेमतो गरेको भन्दै उपाध्यक्ष तारा चौधरीले पालिकामा तालबन्दी गरेपनि त्यसको सुनुवाई भएको छैन ।

यता गैडहवामा ठूला खाल्डो खनिएको छ । बगरमा तालजस्ता खाल्डा धेरै छन् । शुद्धोधन, बुटवल, तिलोत्तमा, कोटहीमाई र देवदहको खोलाको हालत पनि त्यस्तै छ । तर, यसबारे कसैले एक शब्द निकालेका छैनन् ।

ठेकेदारहरुले रातदिन बेपर्वाह नदीजन्य पदार्थ उत्खनन् गरिरहेका छन् । उनीहरुले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत् सबैतिर सेटिङ मिलाएको र केही स्थानीय सञ्चारकर्मीलाई समेत विश्वासमा लिएको आरोप छ । विगत केही समयदेखि खोलामा पुगेर कसैले पनि स्वतन्त्र रुपमा अनुगमन गर्न चाहेको देखिँदैन । 

गतवर्ष तिनाउ नदीमा चेक जाँचमा गएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानलाई मरणासन्न हुनेगरी कुटपिट गरिएको थियो । तर प्रहरी जवानहरुलाई कुटपिट गर्नेलाई कारबाही नभएपछि अरु अहिले पनि हच्किएका हुन् । 

सियारीदेखि तिलोत्तमासम्मको नाकामा नदीजन्य पदार्थको रकम उठाउने काममा स्थानीय प्रहरी अधिकृतहरु नै लागिपरेको बताइन्छ । प्रहरी अधिकृतलाई यादव थरका प्रहरी जवानले सहजीकरण गरेको आरोप लागेको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीसमेत यतिखेर मातहतका कर्मचारीको गतिविधिबाट बेखर भएको आरोप छ । यसअघि डिआईजी नवलप्रसाद उपाध्यायको समयमा लाखौं उठाइएको खबर दिनहुँ बाहिर आएका थिए । अहिले प्रहरी मौन देखिएपछि जिल्ला प्रशासन कार्यालयलाई खुदो पल्टेको सहजै अनुमान लगाउन सकिन्छ ।

टिप्पणीहरू