एमालेमा बैठक बस्न कोरम नै पुग्दैन,नेता भाषण गरेर हिँड्ने, नवप्रवेशीलाई त्यसपछि कसैले पुछ्दैन

एमालेमा बैठक बस्न कोरम नै पुग्दैन,नेता भाषण गरेर हिँड्ने, नवप्रवेशीलाई त्यसपछि कसैले पुछ्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टीभित्र गम्भीर बैचारिक बिचलन तथा सांगठनिक अराजकता बढेको निष्कर्ष निकालेको छ । हालै सम्पन्न केन्द्रीय कमिटी बैठक यस्तो निचोडमा पुगेको हो । 

बैठकका निर्णयबारे जानकारी दिन अध्यक्ष केपी शर्मा ओलीले पठाएको अन्तरपार्टी निर्देशन (अपानि) - ७ मा पार्टी गम्भीर बैचारिक तथा सांगठनिक समस्यामा फस्दै गएको जनाइएको छ । गत फागुन ५ देखि बैशाख ९ सम्म पार्टीले सन्चालित 'मिसन ग्रासरुट' अभियानको समीक्षा गर्दै केन्द्रीय समिति बैठकले पार्टीभित्र देखिएका समस्याहरु बुँदागतरुपमा औंल्याएको हो । 

'अभियानका क्रममा पहिचान भएका  चुनौती/समस्या' उपशीर्षकमा मुख्यत: सैद्धान्तिक/बैचारिक,सांगठानिक र प्रवृत्तिगत जस्ता समस्या देखिएको उल्लेख छ । विचारधारात्मक काममा कमि,कतिपय नेता/कार्यकर्तामा पार्टीका विचार र सिद्धान्तमा चासो कम रहेको, प्रशिक्षणहरु यथोचित नभएको,पार्टीपङ्क्तिमा संगठनात्मक अराजकता बढेको र समाजवादको आधार निर्माण गर्ने राजनीतिक कार्यदिशासँग जनप्रतिनिधिको भूमिकालाई जोड्न नसक्दा विगतमा जितेका पालिकाहरुमा पनि गत चुनावमा पराजय व्यहोर्नु परेको कुरालाई सैद्धान्तिक/बैचारिक क्षेत्रमा देखिएका समस्या हुन् भनिएको छ । 

त्यस्तै,निर्वाचनको उम्मेदवारी छनोटका आधारहरुबारे कार्यकर्तामा प्रष्टता नभएको,आफ्नै पार्टीको बागी उम्मेदवार बन्ने र घात–अन्तर्घात गर्ने समस्या व्यापक रहेको, आफू उम्मेदवार भए पार्टीको उम्मेदवार,अरु भए नातावाद कृपावादबाट टिकट पाएको जस्ता आरोप लगाउने प्रवृत्ति र व्यक्तिवादी–अहंकारी सोच देखापरेको पनि अपानिमा उल्लेख छ ।

एमालेमा अन्य पार्टी छोडेर आएकाहरुलाई जिम्मेवारी दिने सवालमा समेत ठूलो समस्या देखिएको छ । अपानिमा भनिएअनुसार पार्टी प्रवेशको महत्व बुझ्ने र प्रवेशीहरुलाई जिम्मेवारी दिने कुरामा सँकिर्णता देखा परेको छ । जसका कारण पुराना कार्यकर्ता र नवप्रवेशीहरुको जिम्मेवारीमा सन्तुलन मिलेको छैन ।

सदस्यता वितरण, नवीकरण र लेबी नियमित नभएको,भेला प्रशिक्षणमा काममा शिथिलता आएको, सदस्यताको महत्व बुझ्ने कुरामा कमि आएको ठहर गर्दै एमालेले यसलाई गम्भीर सांगठनिक समस्याका रुपमा औंल्याएको छ ।

पार्टी सदस्यताको फारम भरेको लामो समयसम्म पनि त्यससम्बन्धी प्रक्रिया पूरा नगर्ने र सदस्यता कार्ड प्राप्त नहुनेजस्ता कारणले नयाँ फाराम भर्नेहरुमा उत्साह नदेखिएको र यस्ता विषयहरुको व्यवस्थित अभिलेख नराखिएको अध्यक्षको अपानिमा उल्लेख छ । 

गुटबन्दी बढेको, जनप्रतिनिधि र पार्टीबीच समन्वय नभएको र पद ओगट्ने तर जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति बढेको, समग्रमा पार्टी कमिटी र जनप्रतिनिधिबीचको दूरी बढेको भन्दै एमालेले यसलाई सांगठनिक समस्याका रुपमा लिएको छ । पार्टी र जनसङ्गठनका विभिन्न कमिटीमा दोहोरो जिम्मेवारी लिने तर दुवैतिर जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति देखिएको, कतिपय स्थानमा कमिटी सदस्यबीच आन्तरिक एकता,विश्वासको कमि र गुटगत व्यवहार देखा परेको कुरालाई अपानिमा उल्लेख गरिएको छ ।

त्यसैगरी, केही कमिटीहरु गठनका क्रममा विधानको व्यवस्था मिचिएको, कतिपय स्थानमा नियमित पार्टी काम (बैठक, छलफल, अधिवेशन) नहुने, केही कमिटीमा बैठक बस्न कोरम नै नपुग्ने स्थिति रहेको, वडा कमिटीका बैठकहरु नियमित नभएको, वडा तथा टोलमा बैठकका एजेण्डा बनाउने कुरामा अन्योलता रहेको पनि जनाइएको छ ।

पार्टीमा युवा सहभागिता न्यून हुँदै गएको, माथिल्लो कमिटीबाट अतिथि बन्नेको सङ्ख्या अधिक हुँदा आसनग्रहणको लिस्ट लामो र पट्यारलाग्दो हुने स्थिति रहेको, कतिपय नेतामा लामो भाषण गरेर हिँडिहाल्ने प्रवृत्ति देखापरेको, स्थानीय कमिटीमै पनि सदस्यहरु पूरा अवधि बैठकमा नबस्ने प्रवृत्ति देखिएको, नेताहरुको सामाजिक अभियानहरु र काममा सङ्लग्नता घट्दै गरेको, पार्टी नेता र जनताबीचको सम्बन्ध पातलो बन्दै गएको कुरालाई पनि एमालेले सांगठनिक समस्याका रुपमा लिएको छ ।

उपत्यका आसपासका भूगोल कमिटीमा आबद्ध नेताहरु एउटा बैठकदेखि अर्को बैठकसम्म र एउटा अधिवेशनदेखि अर्को अधिवेशनमा मात्र भूगोलमा उपस्थित हुने गरेको, सम्भावनायुक्त नेताहरुको खोजी (लिडरसीप हन्ट) गर्न र त्यस्ता व्यक्तिहरुलाई
योजनाबद्ध रुपमा नेतृत्वमा विकास गर्न समुचित ध्यान नदिईएको, भूगोलका पार्टी कमिटी र सम्पर्क, विशेष प्रदेश या जनसङ्गठनको कामको क्षेत्रबीच समन्वयको अभाव देखापरेको, महिला,दलित, जनजाति,मधेसी,दुर्गम क्षेत्र,अपाङ्गता भएका व्यक्तिलगायतलाई
नेतृत्वमा विकास गर्न ध्यान नपुर्याएको निष्कर्षसहित एमालेले यसलाई पनि सांगठनिक समस्या तथा चुनौतीका रुपमा सुचीवद्ध गरेको छ ।

एमालेले पार्टीमा देखिएका केही प्रवृत्तिगत समस्यालाई पनि केलाएको छ । पार्टीभित्र देखा पर्नसक्ने अन्तरविरोधको समाधानमा समुचित ध्यान नदिएको , जनसङ्गठनहरुलाई सङ्गठनात्मक स्वायत्तता र पार्टीको वैचारिक नेतृत्वका आधारमा सञ्चालन गर्ने कुरामा कमि रहेको, दक्षिणपन्थी अवसरवाद, सङ्कीर्णतावाद, व्यक्तिवाद र अवसरवाद विरुद्धको सङ्घर्ष आवश्यक मात्रामा सशक्त बन्न नसकेको कुरालाई प्रवृत्तिगत समस्याका रुपमा औंल्याइएको छ । 

त्यस्तै,विचार,शैली र आचरणमा जनमुखी परिवर्तन गर्न पर्याप्त काम हुन नसकेको, इमान्दार भएर काम गर्नेले अवसर पाउन नसकेको,पार्टीका निर्देशन र कार्यक्रमबारे टिकाटिप्पणी गरिहाल्ने र निर्णय कार्यान्वयन शुरु नै नगरी आलोचना र स्व–विश्लेषण गर्न थाल्ने प्रचलन बढेको,कतिपय नेताहरु सरल र व्यवहारिक नभएका, कार्यकर्तासँग रुखो व्यवहार देखाउने, आफूले सम्मान खोज्ने तर अरुलाई उचित सम्मान नगर्ने, परिणाम होइन मञ्च मात्र खोज्ने प्रवृति बढेको अपानिमा उल्लेख छ ।

टिप्पणीहरू