बचतकर्ताको निक्षेप फिर्ता नदिएपछि सहकारी तोडफोड, अध्यक्ष प्रहरीको कब्जामा

बचतकर्ताको निक्षेप फिर्ता नदिएपछि सहकारी तोडफोड, अध्यक्ष प्रहरीको कब्जामा

काठमाडौंको चाबहिलमा रहेको शुक्रपथ बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको कार्यालयमा तोडफोड भएको छ । गणेशथान मन्दिरनजिकै रहेको सहकारीले निक्षेप फिर्ता नदिएपछि बचतकर्ताले तोडफोड गरेका हुन् । 

निक्षेप फिर्ता माग्दा वेवास्ता गरिएको भन्दै केही बचतकर्ता आज सहकारीको कार्यालयमा भेला भएका थिए । सोहिक्रममा तोडफोड भएको हो । पटक-पटक निक्षेप फिर्ता माग्दा पनि अध्यक्ष नरेन्द्र विष्टले अनेक बाहाना देखाएरझुलाएको पीडितहरुको आरोप छ । 

‘बहिनीको विवाहको लागि भनेर पैसा जम्मा गरेको थिए । विवाहमा पैसा मागे, हुन्छहुन्छ भन्नुभयो तर दिनुभएन् । त्यतिबेला पनि चुप लागे । अहिले घरको तला थप्नु छ पैसा चाहियो भन्दा पनि दिनुहुँदैन्’, एक पीडितले भने,‘जग्गा छ भन्दै कहिले कहाँ पुर्याउनुहुन्छ, कहिले कहाँ । एक लाख रुपैयाँ धुर नजाने जग्गा हामीलाई दिएर उम्किन खोजेपछि आज आन्दोलन गर्न त्यहाँ पुगेका थियौं ।’

पीडितहरुका अनुसार उनले गुण्डा बोलाएर आफूहरुलाई पिट्न लगाएपछि हात हालाहालसम्मको अवस्था बनेको हो । त्यसपछि पीडितहरुले प्रहरी बोलाएका थिए । महानगरीय प्रहरी वृत्त, गौशालाबाट खटिएका प्रहरीले अध्यक्ष विष्टलाई समातेर केही बेर थुनेको थियो । दुई साताभित्र सबै बचतकर्तालाई जग्गा दिने प्रतिबद्धता जनाएपछि प्रहरीले उनलाई छोडेको छ । 

‘उनले दुई साताको समय मागेका छन् । सबै बचतकर्तालाई जग्गा फिर्ता दिने प्रतिबद्धता जनाएका छन् । आफ्नो निक्षेपअनुसारको जग्गा पाएनौं भने कानुनी उपचारमा जान्छौं’, अर्का एक पीडितले भने । दर्जन बढी शाखा रहेको उक्त सहकारी पाँच हजार रुपैयाँ पनि फिर्ता दिन नसक्ने अवस्थामा पुगेको बताइन्छ ।

टिप्पणीहरू