गगन थापाले भने – असह्य भैसक्यो, अब छोडिन्न

गगन थापाले भने – असह्य भैसक्यो, अब छोडिन्न

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको एकछत्र अब पार्टीमा नचल्ने चेतावनी दिएका छन् । 

रेशम चौधरीको रिहाई, नागरिकता विधेयक प्रमाणीकरण, सांसद विकास कोष ब्युँताउने जस्ता राष्ट्रिय विषयमा देउवाले पार्टीमा छलफल नै नगरेको भन्दै उनले यस्ता कुरा अब सहेर नबस्ने बताएका हुन् ।

आज काठमाडौंमा पार्टीको भ्रातृ संस्था प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सभापतिले राष्ट्र हितविपरितका निर्णय गरिरहने अनि त्यसको क्षेती पार्टीले व्यहोर्नुपर्ने अवस्था अब तोडेरै छोड्ने अठोट पनि गरे ।  

अहिले केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेस सरकारमा भए पनि २०८४ सालको चुनाव हारिने डर अहिलेदेखि नै शुरु भएको पनि उनले बताएका छन् । ‘आजको दिनमा कांग्रेस सबैभन्दा ठूलो पार्टी हो । वडा, पालिका, प्रदेशमा जितेको छ । तर, साढे चार वर्षपछि हुने चुनाव हार्छौं भनेर साथीहरु अहिलेबाटै चिन्ता व्यक्त गरिरहनुभएको छ’, थापाले भने । 

कार्यकर्तामा यस्तो निराशा बढ्नुमा सभापति देउवाका अलोकप्रिय निर्णयहरु नै मुख्य जिम्मेवार रहेको महामन्त्री थापाको दावी छ । त्यसकारण अब नेतृत्व बदलेरै छाड्नुपर्ने पनि उनले बताए । भने, ‘टुलटुल हेरेर बसिन्न । संघर्ष गर्ने हो ।’

थापाले हिजो पनि एक सार्वजनिक कार्यक्रममा शेरबहादुर देउवालाई नेतृत्वबाट नहटाउँदासम्म काँग्रेस उँभो नलाग्ने बताएका थिए । त्यसका लागि अन्तरसंघर्ष चर्काउनुपर्नेमा उनले जोड दिँदै आएका छन् ।

टिप्पणीहरू