उपमेयर उफ्रेपछि मेयरको मौनता, ‘थैली’ का कारण मतभिन्नता

उपमेयर उफ्रेपछि मेयरको मौनता, ‘थैली’ का कारण मतभिन्नता

‘मैले १५ लाख कहिले खाएँ ? चाइना रेल–वेले मलाई कहिले १५ लाख दियो ? कार्यपालिका बैठकमा मैले १५ लाख लिएको भनेर तपाईंले के आधारमा ब्रिफिङ गरेको ? यस विषयमा सार्वजनिक रुपमा माफी नमाग्दासम्म म चुप बस्दिनँ । कुरा मिल्दैन । म सहमतिमा आउँदिन’ बैठक चलिरहँदा उपमेयर रामचलितर महतो यसैगरी कुर्लिए ।  

केही दिनयता सिरहा नगरपालिकाका मेयर महेश चौधरी र उपमेयर महतोबीच चर्काचर्की हुँदै आएको छ । उक्त विवाद सल्टाउन बसेको सत्ता गठबन्धनको बैठकमा उपमेयर यसरी बम्किँदा मेयर चौधरी ‘तैँ चुप मैँ चुप’ भएका हुन् । 

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त घोषणापत्र अघि सारेर गत वर्ष स्थानीय तहको चुनाव लडेका थिए । तर, गठबन्धनलाई धोका दिएपछि मेयर चौधरीमाथि निरन्तर आरोप लागिरहेको छ । उनले गठबन्धनको वाचाविपरीत बहुमतका आधारमा आफूखुशी निर्णय गरेको भन्दै सबैले असन्तुष्टि जनाउन थालेका छन् ।

चुनावमै तोडिएको थियो गठबन्धन 

तीन दलीय संयुक्त घोषणापत्र जारी गरेर चुनावमा होमिएका उनले आफ्नो जीत सुनिश्चित भएपछि भित्रभित्रै आफूलाई सहज हुने खेल रच्न थालेको अरुको आरोप छ । गठबन्धनको प्रतिबद्धताविपरीत एमालेबाट उपमेयरमा उम्मेदवारी दिएकी रामसरियार चौधरी र नेकपा एकीकृत समाजवादी पार्टीबाट उठेकी कञ्चन चौधरीसँग उनले चुनावको निम्ति गोप्य साँठगाँठ गरेका थिए ।

महिलालाई उपमेयरमा जिताए आफूअनुकूल नगरपालिका चलाउन सहज हुने भएकाले उनले गठबन्धनबाट उपमेयरका उम्मेदवार रामचलितर महतोको पक्षमा मत नै मागेनन् । सोही कारण सात सय चानचुन मतान्तरले उपमेयर महतोले चुनाव जित्दा मेयर चौधरी छ हजार बढी मतान्तरले विजयी भएका थिए । नगरपालिकाको २४ वडामध्ये १५ वडामा काँग्रेसले जितेको छ ।

चुनाव जितेपछि विजयजुलुस निकाल्दा पनि गठबन्धन टुटफुट भइसकेको प्रष्टै देखिएको थियो । मेयर चौधरीले नेपाली काँग्रेसको झण्डा र दलबलसहित छुट्टै जुलुस निकालेका थिए । गठबन्धनले संयुक्त रूपमा विजयजुलुस निकाल्न आग्रह गर्दा उनले ‘चुनावसँगै गठबन्धन सकिएको’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । 

त्यसपछि जसपाले पनि छुट्टै विजयजुलुस निकालेको थियो । बहुमतको आधारमा मेयर चौधरी आफूखुशी चल्न थालेपछि गठबन्धनमा आबद्व दलमात्रै नभएर काँग्रेसभित्रै पनि असन्तुष्टि चर्किएको हो ।काँग्रेसका युवा नेता पदमनारायण चौधरीका छोरा सन्तोष चौधरीले मेयर चौधरीमाथि हातपातको प्रयाससमेत गरेका थिए । हालै लहानमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा काँग्रेस नेता पदमनारायण चौधरीले मेयरकै गल्ती भएको दाबी गरेका छन् । 

कानुनी सल्लाहकार नियुक्त अधिवक्ता सन्तोष सुवेदीलाई बैठक चलिरहँदा त्यहाँबाट  निकालेपछि बिना निष्कर्ष बैठक टुङ्गिएको हो । मेयर र उपमेयरबीचको विवाद नमिल्दा सबै भुक्तानी रोकिएको छ । अधिकांशले यसलाई कमिसन बाँडफाँडको थैली नमिल्दाको उपज भन्दै आएका छन् ।

 

टिप्पणीहरू