कारवाही गरिएका कर्मचारीलाई विमान चढाइयो

कारवाही गरिएका कर्मचारीलाई विमान चढाइयो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमका एक जना कर्मचारीलाई कारबाही गरेको छ ।  विमानस्थलको सिस्टममा नाम नरहेको बताउँदै टिकट लिएका यात्रुलाई घर फिर्ता पठाएर दुःख दिएको आरोप लागेपछि निगमका कर्मचारी गगनबहादुर चन्दलाई मन्त्रालयले कारबाही गरेको जानकारी दिएको छ ।

पर्यटनमन्त्री सुदन किँरातीले आज सामाजिक सञ्जालबाट जानकारी गराउँदै युनिट इञ्चार्जसमेत रहेका उनलाई कारबाहीस्वरुप काठमाडौंबाट ताप्लेजुङ विमानस्थल सरुवा गरिएको उल्लेख गर्नुभएको हो । चन्दले उक्त घटनाबारे चित्तबुझ्दो जवाफ नदिएपछि प्रमाणसहित कारबाही गरिएको मन्त्रीको दाबी छ ।

यात्रु बुद्धठाकुर सिंह भण्डारीले काठमाडौंबाट ताप्लेजुङ उडानका लागि नेपाल एअरलाइन्सको हिजोको टिकट लिएका थिए । बोर्डिङ पास लिएपछि जहाजको ढोकामा पुगेका उनलाई सिस्टममा नाम नभएको जनाउँदै फिर्ता पठाइएको थियो । 

उक्त घटना सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले व्यापक आलोचना जनाएका थिए । त्यसपछि मन्त्रालयले युनिट इञ्चार्ज चन्दलाई चित्तबुझ्दो जवाफसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो ।

टिप्पणीहरू