वैदैशिक रोजगारीका दलाललाई ४० लाख बुझाउनेको हारगुहार

वैदैशिक रोजगारीका दलाललाई ४० लाख बुझाउनेको हारगुहार

वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य यूरोप पठाइदिने विश्वास दिलाएर लाखौँ रकम ठग्ने दुईजना समातिएका छन् । फ्रान्स र सर्बिया पठाइदिने भन्दै पैसा बुझेर बेपत्ता भएका उनीहरुलाई प्रहरीले हिजो पक्रेको हो । 

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले दलालद्वय सुरेशकुमार पाख्रिन र निरोज बुढाथोकी पक्राउ परेका हुन् । दोलखा घर भएका र हाल भक्तपुरको सल्लाघारी बस्दै आएका ५० वर्षीय सुरेशले वैदेशिक रोजगारीमा फ्रान्स पठाइदिने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभनमा ४० लाख ठगेको प्रहरीले बताएको छ । 

फ्रान्सस्थित एक कम्पनीमा मासिक एक लाख रुपैयाँभन्दा बढी तलब हुने प्रलोभनमा परेका पीडितहरुसँग ४० लाख रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएका थिए । त्यस्तै, सर्लाही स्थायी ठेगाना भई हाल काठमाडौंको तीनकुने बस्दै आएका २७ वर्षीय निरोजले सर्बिया पठाइदिने नाममा ठगेको प्रहरीले जनाएको छ । मासिक एक लाख रुपैयाँभन्दा बढी तलब हुने कृषि कम्पनीमा काम लगाइदिने प्रलोभनमा पीडितहरुसँग १२ लाख रुपैयाँ उठाएर उनी बेपत्ता भएका थिए । 

लामो समयसम्म यी दुई भाइ बेपत्ता भएपछि बल्ल आफू ठगिएको थाहा पाएका पीडितहरु वैदेशिक रोजगार विभाग गुहार्न पुगेका हुन् । विभागकै अनुरोधमा खोजतलास अघि बढाएको प्रहरीले सुरेश र निरोजलाई समातेर आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति बुझाएको छ ।

टिप्पणीहरू