कमरेडहरूको ताँती अब कता ?

कमरेडहरूको ताँती अब कता ?

नेपाली राजनीतिमा हल्लाले हल्लाउने पंक्ति ठूलै छ । हरेक निर्वाचनताका आश्वासनका आँधीमा बहकिएर भोट खन्याइदिने र अनेक अपेक्षा राख्दै देवत्वकरणमार्फत् निश्चित दललाई नै सम्पूर्ण सपना जिम्मा लाउने अनि सीमित अवधिमा अपेक्षा पूरा नभएपछि पार्टी फेर्ने रोग पुरानै हो । दृष्टिकोणसहितको राजनीति गरेका भन्ने पुराना दलहरूसंगका सीमित मुद्दामा अन्तरविरोध हुनेबित्तिक्कै नयाँमा लामबद्ध हुने पनि पुरानै आदत हो । ०६४ को संविधानसभा निर्वाचनमा माओवादीलाई सबैभन्दा ठूलो दल बनाएका नेपाली जनताले ०७० मा जनमतसहित सत्ताको साँचो ऊबाट खोसेर नेपाली कांग्रेसलाई बुझाइदिए भने ०७४ को निर्वाचनपछि नेपाल कम्युनिष्ट पार्टी नेकपालाई सत्तासीन बनाएका थिए । 

अहिले नसोचेको मत पाउने ठाउँमा रास्वपा पुगेको छ । यो पार्टीलाई राजनीतिक दृष्टिकोणसहित अगाडि लैजानुपर्छ भन्दै डा.मुकुल ढकाल, कविन्द्र बुर्लाकोटीलगायतले पटक–पटक डिबेट गर्न खोजेका छन् तर रवि लामिछानेले कुनै पनि विषयमा संस्थागत छलफल हुन दिएका छैनन् । वामपन्थी राजनीतिबाट रास्वपामा तानिएकाहरूको सूची र पृष्ठभूमि नै तयार पारेर एउटा समूहले भित्री गृहकार्य थालेको छ भने भर्खरै तनहुँबाट जितेका डा.स्वर्णिम वाग्लेलगायतको समूहले प्रजातान्त्रिक धारसहित समाजवादी कार्यक्रम बोकेको पार्टीको रूपमा लैजाने गृहकार्य थालेको छ । 

यसरी पार्टीभित्रै आन्तरिक संघर्ष रहिरहेको रास्वपामा देखिनेगरी पार्टी प्रवेश र भेला नगराउने र प्रविधिमार्फत संगठनको सञ्जाललाई व्यापक बनाउने रविनिकट कोर टिमको गृहकार्य छ जसबारे पदाधिकारीसम्मलाई पनि पर्याप्त जानकारी छैन । प्रविधि परिचालनको पाटो सीधै लामिछानेले मात्रै डिल गरिरहेको र संगठन समन्वय विभागीय जिम्मेवारी पाएकाहरूलाई समेत बाइपास गर्दै टेक्निटल टिम र कोर टिम चल्ने गरेको विषय पटक–पटक विवादमा आइसकेको छ । 

एमालेभित्र केपी ओलीको छविलाई ब्राण्ड बनाएर ठूलो पार्टी बनाउने सपना बोकेको युवा समूहले रास्वपामा जान ठाउँठाउँमा भित्री ढंगले बाटो तताइरहेको छ । युवा संघ र खेलकुद महासंघभित्रको विवादका कारण असन्तुष्ट युवाहरू भित्रभित्रै रास्वपाको सदस्यता लिएर बसिसकेका छन् । कतिपयले स्थानीय पार्टी सम्पर्क सूत्रसँग सम्पर्क गरेर वा आइटी नेटवर्कबाट मात्रै सदस्यता लिएर एमालेभित्रै असन्तुष्टि चर्काउन खोजेको पाइन्छ । 

ललितपुरको खोकना, बुङमती क्षेत्रका अगुवा एमाले युवाहरूले रास्वपाका एक वरिष्ठ नेताको उपस्थितिमा एउटा भेला नै गरेका छन् । एमाले व्यवसायी अमृत खड्कालाई पार्टीभित्रैबाट हराइएको भन्दै उजुरी पर्दा पनि जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले कुनै सुनुवाइ नगरी संरक्षण गरेकाले एउटा समूह रास्वपातिर नजिकिएर संवादमा छ । ललितपुर महानगरपालिकाभित्रका विभिन्न वडामा एमाले नेतृत्वले स्थानीय निर्वाचनताका वडाध्यक्षमा उम्मेदवार बन्नेहरूसँग आर्थिक सहयोग उठाएको र त्यसको विषयमा पटक–पटक कुरा उठ्दा नेतृत्वले हप्कीदप्की गर्ने गरेको भन्दै ठूलो पंक्ति निष्क्रिय छ । हरिसिद्धि, ठैव, सुनाकोठी र चक्रपथभित्रका विभिन्न वडाको ठूलो समूहमा हलचल पैदा भएको छ । 

एमालेको गढ मानिएको ललितपुर क्षेत्र नं १ मा पनि सिनियर मानिएका नेताहरूसहित नै पार्टीभित्रको असन्तुष्ट समूहले रास्वपासँग वार्ता गरेको बुझिएको छ । कांग्रेसका केही नेताको संरक्षणमा रास्वपाको खुला अभियान सञ्चालन भएकोमा अहिले त्यसलाई राजनीतिक रूपमा संस्थागत गर्ने क्रममा एमाले र कांग्रेसबाट प्रदेश तहकै नेताहरू पार्टीमा जोडिने भएकाले तत्काल भेला नगरिएको बताइन्छ । रास्वपालाई विचारधारात्मक हिसाबले स्पष्ट पार्ने र विवादित छविका रविलाई नेतृत्वबाट बिदा गर्ने भन्दै माथिदेखि एउटा लाइनले कांग्रेस–एमालेभित्रका नेताहरूसँग वार्ता गरिरहेको छ । 

 

टिप्पणीहरू