लीला : पहिले धार्मिक, अहिले मार्मिक

लीला  : पहिले धार्मिक, अहिले मार्मिक

निर्मल थापा

लीला शब्द आफैंमा लामो परिभाषा दिने, किनारा भेट्टाउन नसकिने, इन्द्रेणीको छेउ जस्तै हो । प्रजातन्त्रमा जन्मेको संसद र भनिने लोकतन्त्रको स्थापना रोमहरुले अभ्यास गरेको भएपनि त्यसलाई इतिहास भनेर नयाँ रोगन दिएर परिचय गराउने बेलायत र अमेरिकालाई जान्छ । वर्णित प्रजातन्त्रको चीरअवस्था ताजा हो । भोगकर्ताहरुले भन्न सकिरहेका छैनन् । उपभोक्ताले प्रजातन्त्रलाई टिभीमा हेर्नुपर्छ, अखबारमा पढ्नुपर्छ ।

यो व्यङ्ग्य विनोदलाई मन्दबुद्धि भएका माननीयज्यूहरुले कसरी लिनुहुन्छ ? हरेक चुनावमा मानित नेतालाई भोट हालेर अपमानित भएका जनताले कसरी लेलान् ? धेरै पहिले रामलीला चल्थ्यो, कृष्णलीला पनि कृष्णजन्माष्टमीमा चल्थ्यो । हनुमान भक्तहरुले पनि चालीसालाई स्टेजमार्फत् सर्वसुलभ बनाइरहे । चालु शताब्दीमा प्रजातन्त्रको दलदलमा फुलेको संसदलीला नेपालमात्र होइन, संसारका धेरै देशमा देख्न सकिन्छ । यो मौलिक दृष्य हो । मिल्न पनि सक्छ, बेमेल भएमा विमती राख्न पनि सक्छ ।

संसद लीलातर्फ लागौं :


विदेशीले निर्माण गरिदिएको सभाकक्षको सदनमा, अर्का अमूक विदेशीले बालिदिएको प्रकाशमा, त्यस्तै अर्को विदेशी दाताले सौजन्यमा प्रदान गरेको कुर्सीमा स्वदेशी राष्ट्रपति विराजमान हुनुहुन्छ । उहाँको कोटमा नेपालको झण्डा छ तर त्यो ब्याच छिमेकी देशमा बनेको हो । विदेशीले स्वदेशको झण्डा व्यापारमाथि एकाधिकार पाएको छ । भित्तामा एउटा राष्ट्रले दिएको भित्ते घडी पनि छ, जुन त्यही देशको आदेशानुसार चल्छ र सोही देशको समयकालको भाष्य बोल्छ ।
नेपथ्यमा देखिने नेपालको नक्साको रेखाचित्रभित्र भएजति माटो वास्तविकरुपमा पाउन गाह्रो छ । यद्यपि नेपाली ढाकाटोपी बंगलादेशबाट आयात गरेर भएपनि स्वाभिमानलाई उँचो अवस्थामा राखिएको छ । दुर्लभ प्रजातन्त्रको मन्त्रणा पृथ्वीका धेरै देशले अपनाएका छन् ।

विषादता उनीहरुको व्यवहारमा प्रष्ट देख्न सकिन्छ । सबैलाई ज्ञात होस्, संसदघरको जन्म, निर्माण र भएका कुर्सी र सजावटका सबै सामाग्री विदेशी दातामार्फत निगाहको रुपमा पाइएका हुन् । सौजन्य संसदमा माननीयज्यूहरुले देशका समस्याका बारेमा बोल्नुहुन्छ र ती व्यवधानहरु कहिल्यै समाधान नहुनेमा उहाँहरु ढुक्क हुनुहुन्छ ।

न्यारेटर बोल्छ र क्यारेक्टर बक्न थाल्छ ।

‘संसदमा स्वागत छ । माथिल्लो तथा तल्लो दुवै सदनका ख्यामित् अध्यक्षहरु विराजमान यस गरिमामय सभामा माननीय जाननीयज्यूहरुको उपस्थितिले सभालाई अशोभा प्रदान गरेको भएपनि व्यक्तिगत पृष्ठभूमि इतरको विषय भएको र जनताले चुनेर पठाएको हुनाले जनमतलाई मात्र माननीय भनिएको हो । गरिएको प्रणाम र आदरभाव जनताको मतलाई दिइएको हो न कि सन्देहले भरिएका मननीयहरुलाई ।’

‘पूनश्च यहाँलाई स्वागत छ ।’

न्यारेटरले फेरी पुष्पगुच्छा सम्माननीय राष्ट्रपतिलाई चढायो र काम कारवाहीलाई अघि बढायो ।

‘यो विशेष सेसन भएको र दुवै सदनका माननीय सदस्यहरु, सरकारी सरोकारवालाहरु, विदेशी दाताहरु, दलका झोला र फाइल समाउनेहरु, राजाविनाको राजसेवामा कार्यरत कर्मचारीहरु सबैलाई स्वागत छ । कृपया आजको चटारो सम्माननीय राष्ट्रपतिज्यूको हो किनकी उहाँले युगल घण्टासम्म सबैको समय खर्लप्पै खानु हुनेछ । उहाँको स्वास्थ्य कमजोर छ र पनि उहाँ यस गरिमामय संसदमा सम्बोधनका निम्ति आउनुभयो, वृतान्त पढ्न राजी हुनुभयो तसर्थ खबरदार ! यताउती गर्ने माननीयज्यूहरु ! अहिलेको संगीन समयमा यताउती नगरीदिनुहोला, त्यस कामका लागी कार्यालय छँदैछ । महामहिम राजशैलीमा उहाँ मन्तव्य पढ्दै जानुहुनेछ, देशको चित्र बनाउँदै जानुहुनेछ । पानी पिउनुहुनेछ तिर्खा लागेको अवस्थामा, डकार मार्न सुविधा पनि प्रत्यायोजन गरिएको छ । रक्तिम गम्छा ओढेका प्रधानमन्त्रीले ठोस जुँगा हल्लाउँदै सारेको छायाँ प्रतिमा, कानेगुजी विज्ञले कोरिदिएका हाउगुजी रेखा समाउँदै राष्ट्रपति सकल चित्रमा रंग भर्न लागिरहनुभएको छ । कृपया शिष्ट भएर, जेहेन्दार तथा अब्बल विद्यार्थीको हैसियतमा महामहिम राष्ट्रपतिको भाषण सुन्नुहोस्...। यद्यपि धेरैजसो माननीयज्यूहरु स्कुले विद्यालयबाट भागेका, पारिवारिक र व्यक्तिगत रिसिइवीमा जेल परेका वा गैरकानूनी कार्यमा संलग्न भएर विचाराधिन मुद्दा खेपिरहनु भएका होनहार अनुहार हुनुहुन्छ तर सम्मानित अदालतमा नाम उठ्दैमा अपमानित भइहाल्नुपर्ने अवस्था छैन ।’

न्यारेटरले मनोवाद छोडेर जान्छ । राष्ट्रपतिले पानी पिउन लिएको विश्राम अवधिमा शान्त पात्र बोल्छ– ‘पढ्नेले पढ्छ, नपढ्नेले नपढ्छ । सुन्नेलाई सुनको माला, नसुन्नेलाई हिराको बाला ।’ सदस्यहरु मस्त मोबाइलको रिंङटोन सुनेर आँत भरिरहनु भएको छ । सकेसम्म सबै रिंग बजोस् भन्ने माननीयज्यूको महान आस छ । उहाँको फोन आइफोन हो भन्ने चिनारी दिन सभामा उपस्थित सबैले माननीयज्यूको रिंग पूर्णरुपमा सुन्नैपर्ने हुन्छ । ‘आइफोन बोकुवा’ भन्ने पहिचानको खोजमा माननीयज्यूहरु हुनुहन्छ, खोजप्राप्तीका लागि हार्दिक श्रद्धाञ्जली ।

फेरि कोही बोल्छ, लाग्यो फोनमा कुरा गरिरहेको छ । ‘एउटा सानो मिटिङमा छु, पछि फोन गर्छु भन्दै माननीयज्यू टेबलमा ठूलो आवाज आउनेगरी फोनको सेट बजार्नुहुन्छ । क्रान्तिकारी गम्छाले अनुहार पुछ्नुहुन्छ । बेलाबेलामा शास्त्रीय रागमा घुर्नु पनि हुन्छ तर जसै फोन बज्छ उहाँ उठ्नुहुन्छ ।

कोही कान कोट्याइरहनुभएको छ । कोही नाक । कोही दाँतमा आंैला छिराउँदै मुख नाकको रेट्रोफिटिङ गरिरहनुभएको छ । शारीरिक गन्धले पूरा हल गुञ्जायमान भएको छ । प्राय माननीयज्यूहरु जनताको काम गर्दागर्दै नुहाउने समय पनि पाउनुभएको छैन । कृपया स्वदेशी, राष्ट्रवादी अत्तर सम्झेर शारीरिक सुगन्धको आनन्द लिइदिनुहोला । शीर झुकाउने होइन उठाउनुहोला, लामो स्वास तानेर सुँघ्नुहोला सबैले ।

कोही माननीयज्यू गुप्ताङ कन्याइरहनुभएको छ । कोही बारम्बार शौचालय भ्रमण गरिरहनुभएको छ । धेरैजना मोबाइलमा भिडियो कल गरिरहनुभएको छ । बचेका माननीय बचेराहरु फेसबुक र इन्स्टाग्राममा अर्धनग्न फोटोलाई गहिरो ध्यानस्थ भावले हेरिरहनुभएको छ ।

कोही गोडा हल्लाइरहनुभएको छ । कोही हातका औंला गनिरहनुभएको छ । कोही टिकटकमा सानो आवाजमा दत्तचित्त हुँदै भिडियो हेरिरहनुभएको छ । औंला कन्याइरहनु भएको छ, कतै छुट्यो कि भनेर गनिरहनुभएको छ । रत्नजडित स्वर्णऔंठी खोल्ने र लाउने गरिरहनुभएको छ । घडीलाई पटक पटक मुख हेर्ने दिनका रुपमा फर्काइरहनुभएको छ ।

न्यारेटर बोल्छ,

‘यहाँ उपस्थित माननीयज्यूहरुले आफ्नो चुनावक्षेत्रका जनतालाई अरबतिर निःशुल्क भिषा र टिकट बाँड्न पाएकोमा दंग हुनेहरु पनि हुनुहुन्छ । सम्मानित मन्त्रीहरु पनि विराजमान हुनुहुन्छ जसले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काइदाको बान्की बुनेर आउनुभएको छ । धेरै पहिले माओवादी द्वन्द्वकालमा राजनैतिक शरणार्थी बनेर बसाई लम्बाएका हजारौं नेपालीहरुको लाइनमा अहिले भुटानी शरणार्थी बनेर नेपालीहरु मातृभूमिबाटै उड्न पाएका छन् । अहो, कस्तो विकासको छलाङ हो । संसदमा सहभागी सम्पूर्ण माननीय सदस्यहरुले विभिन्न कालखण्डमा नेपालको भूभागलाई धेरै भारततर्फ र केही चीनतर्फ बुझाएर पनि चित्त बुझाउनुभएको छ । आउने दिनमा माननीयज्यूहरुले हिन्दू देशलाई धर्म निरपेक्ष राज्यबाट सनातनी क्रिश्चियन देश बनाउनुपरेमा खल्तीमा भएको क्रसलाई भाकेर सर्वसम्मतबाट पारित पनि गर्न सक्नुहुने छ । माननीयज्यूहरुका महान् कार्यको सूची यति लामो छ कि, शवयात्रामा आर्यघाटसम्म बन्ने सेतो कपडाको बाटो भएर हिँड्न सक्नुहुन्छ । अकुत सम्पत्तिको सन्दुकलाई सगरमाथाको टुप्पोबाट तलतर्फ गुडाउन सक्नुहुन्छ ।’

मेचीदेखि महाकालीसम्मको प्रतिनिधित्वले सभालाई सारगर्वित बनाइरहेको छ । भ्रष्टाचारको स्वभाव अहोभावका रुपमा शीरमा सिलौटो बनेर सपक्क बसेको सबैमा देखिन्छ । कृपया त्यो टोपी होइन, अदृष्य मानहानी जलहरी हो । मन्दिरमा हराएकी सुवर्णलता माननीयज्यूको घरमा पतिअहिता श्रीमतीको गलामा माला बन्यो भने अचम्म हुने छैन । माननीयज्यूहरुले हात मिलाउँदा लाएको किमती घडी औंठीको तौलले तय गर्नेरहेछ, कसले ? कति ? कहाँबाट ? कसरी ? मौकामा हुकुम हात पारेको रहेछ ।

नेपाली पोशाक दौरा सुरुवालका विभत्स संस्करण पनि देखिएका छन् । काँधमा कसैले सेतो गम्छा राखेर आफ्नो चुनावी क्षेत्रलाई सम्मान गर्ने नाममा गद्दारी गरिरहेका छन् । धेरै लाल क्रान्तिकारीहरु रातो फित्ता लर्काएर ‘असली लालसेवक म’ भन्ने भावमा जुँगा हल्लाइरहेका छन् । लुलो नाडीलाई चलाउने विदेशी घडी र ब्रासलेटको ओभरलोड पनि देख्न सकिन्छ ।

साडीको सान पनि स्वानस्वागभन्दा कम छैन । गुँरास पोतेर कपाल कोर्न बिर्सेका स्त्री माननीयज्यूहरु सारा पुरुषलाई सरापेर साँझपख लोग्नेको शरणमा पुग्नुलाई पनि सभाले संकेत गरेको छ । सबै महिला माननीयज्यूहरुले उठाएको औंलाको तन्काई बडामहाराजधिराजको औंलाभन्दा लामो छ ।

सभाको औपचारिक सुरुभन्दा पहिले र अन्त्यपछि लगभग ९९ प्रतिशत महिला माननीयज्यूहरु तस्बिर खिच्नका लागी अघिल्तिर उभिइरहनुभएको छ । कोही कोटमा खसेको चाँया टकटकाउँदै हुनुहुन्छ । कोही चमेली तेलको गन्ध फैलाउँदै हाँसिरहनुभएको छ । मानौं यो कुनै रोधीघर हो, निस्फिक्री हाँस्न स्वतन्त्र हुनुहुन्छ । सबै समय वातावरणलाई खलल नबनाउँदै चौथो अंगका पदाधिकारीहरु नित्य तस्बिर र प्रत्यक्ष प्रशारण गरिरहेका छन् ।

सन् १९९३ देखि छिमेकी देशले नेपालको दशा सुध्रियोस् भनेर हात्ति हृदय फुलाएर दिएको तुलोसभामा लुतो कन्याइरहेका माननीयज्यूहरुको प्रवेश धेरै वर्षपछि मात्र भयो । सुरुका वर्षमा भोजभतेर र मेला भर्ने ठाउँ थियो सभाकक्ष । अहिले महामहिमको सम्बोधन थलो बनेको छ । भाडाको घरमा भाँडा माझ्नेहरु छैनन्, कफीकक्षहरु पनि छैनन् । मदिराको तलतल मेट्नलाई र थकाली खाना खानलाई थाकखोला पुगिरहन पर्दैन ।

गोजीमा तौल हुने माननीयहरुका लागि सभाकक्षको चारैतिर भुरा पसलहरु अकुत सम्पत्ति रक्षाका लागि स्वागतद्वार टल्काएर बसिरहेका छन् । भोक लगाउन र अनावश्यक परिश्रमलाई हाँसो विश्रामथलोको रुपमा सभाकक्ष परिचित छ । विदितै छ धेरै माननीयज्यूहरु केवल हाजिर गर्नका निम्ति आउनुहुन्छ र भत्ता बुझेर भट्टीतर्फ सोझिनुहुन्छ । नूतनकालीन् क्याबिन क्याफेहरु छैनन्, बरु पाँचतारे होटल वा साइनो गाँसिएका होटलहरुमा कोठाको दीर्घबुकिङ गरेका छन् ।

सम्मानित सभामा अचम्मको नियम छ । संसदमा नाच्न नजान्नेले गाउनुपर्छ । बोल्न नजान्नेले ताली पड्काउनुपर्छ । औपचारिक योग्यता नभएकाहरुले चुट्किला र प्यारोडी गीत भट्याउनुपर्छ तर केही न केही गर्नैपर्ने सम्मानित सदनको नियम छ । सभाध्यक्षको कोटा विदेशीले तय गरिदिएकाले होला उहाँ अनौपचारिक रुपमा दूतावासमा भेटिनुहुन्छ । पैसा र सुविधा अपुग हुँदा बिरामी पर्नुहुन्छ र मालिक देशको भ्रमणमा सपरिवार प्रस्थान गर्नुहुन्छ ।

आलोचना गर्नेहरुलाई मौलिक इँटामा रंग भरिओस् भनेर भट्टामै पोल्नेहरु पनि हुनुहुन्छ । माननीयहरुको विश्वास छ, स्वदेशी उत्पादनलाई विश्व बजारमा पठाउनुपर्छ । कमसल घरजग्गा धितो राखेर गज्जबको धनराशी लिने, मसिने कारखानालाई उद्योग भनेर गज्जबको इन्सुरेन्स गर्ने र मौसम हेरेर आफैँ अग्नीदह गर्ने दूरदर्शी माननीयहरुले पनि जोडदार ताली बजाइरहेको देख्न सकिन्छ । करचोरलाई करछोड नीतिमा बदलेर आमूल अर्थक्रान्तिमा योगदान दिएकोमा पदक पड्काउनेहरुले टेबल बजाएको देख्न सकिन्छ ।
 
क्यारेक्टर बोल्छ,

मन्त्री, संसद र सरोकारवाला सबैजना व्यपारीको घरमा बस्नुहुन्छ वा व्यापारीलाई सहज बनाउने तहमा उसैको सौजन्य र सदासयता रहेका भव्य घरमा सुकला गर्नुहुन्छ । भुजाका निम्ति लङग्रेन चामलको चौतर्फी माग छ । तोरी पेल्ने कोल र डिजलले भुक्ने मिलहरु बन्द गराएर ओलिभतेलमा रातो मासु खाने गर्नुहुन्छ । व्यापारीले जिम्मा लिएका ठेक्काका कुनैपनि कार्ययोजनाहरु समयमै नसकाउन प्रेरणा दिने तपाइहरुको योगदानको उच्च कदर गरिन्छ । बाटो बनाउने र भत्काउनेको प्रवृत्ति धान खाने मुसा र मुसा खाने किसानसँग मिल्न आउछ । बाटो बन्ने र भत्कने क्रिया, खोलामा पानी बग्ने कहिले होला ? माननीयज्यूलाई इन्धनको भाउ थाहा छैन, तरकारीको तौल र मोल पनि थाहा छैन । रातो पासपोर्ट बोकेर विदेश जानेहरु अधिकांश यहाँ उपस्थित हुनुहुन्छ । तपाईंहरुले विदेशबाट ल्याउने एक, दुई जोर मदिराका बोतलसँगै देशभित्रको उर्वर बाली सखाप पार्नलाई वनघाँसका बिऊबिजन पनि बोकेर ल्याउनुभएको भिडियो सिसिटीभी फुटेजमा देखिएको छ । कृषिकार्य गर्ने टन्टै नहोस् भनी माटोलाई कम उर्वर बनाउने मलखाद र माटोलाई नपुंसक बनाउन बौलाहा झारका बिजलाई छाडिदिनुभएकाले देशभर अहिले हरियाली छाएको छ । भान्सामा चामल, तरकारी, अण्डा, मासु सबै विदेशी पाक्छ । खेती गर्ने समय बचत गराइदिनुभयो, सम्पूर्ण नेपाली धन्य छन् । यो फुर्सदमा माननीयज्यूहरु पनि जनतासँगै बसेर लुँडो खेल्न सक्नुहुनेछ, वा क्यारेम खेल्न सक्नुहुनेछ वा शिवभक्तका नाताले शिवासको बिर्को उघारेर गंगा स्नान गर्नसक्नुहुने छ । विदेशी बिऊबिजन, फलफूल बोकी आउने र रैथाने मौलिक वनस्पति नाश गर्नुमा तपाईंको मूल्याकङ्कन जति नै गरेपनि अपार छ । माननीयज्यूहरु ठोक्नुस् टेबल, ताली बजाउनु स्वास्थ्यका लागि हानिकारक हो । तसर्थ हातको चिलाई कुर्सीको पाखुरामा ठोकेर मेटाउनुहोस्, आज रकम हात लाग्ने योग छ । असमयमै निवास फर्कनुहोला र जाँदा नेपाली दौरासुरुवालको तौलभन्दा गहु्रँगो ब्रिफकेश बोकेर जानुहोला । एकपुस्ता होइन... पुस्तौंपुस्ताका लागि धन सञ्चित गर्न तपाईंहरुलाई राज्यले सुविधा दिएको छ । मृत्युपछि स्थापना हुने कोषमा केही रकम छुट्याएर भएपनि अपरम्पार योगदानको कदरस्वरुप अर्धकदको सालिक निर्माणका निम्ति पनि पैसाको जोहो गर्नैपर्छ । कतिवटा सालिकको इच्छा छ, आजैदेखि बचत गर्ने बानी बसाउनुहोला । विज्ञको सल्लाह सुन्ने भए सिंगापुर, दुबई वा भारततर्फ पनि जान सक्नुहुन्छ । वा, स्वीट्जरल्याण्ड त नेपालको मितज्यू नै भयो, त्यहाँ पुग्नुभयो भने मान्नुहोस् तपाईंको ढुकढुकी बन्द भएपनि पैसाको सुरक्षा युगौंयुगसम्म हुनेछ, ढुक्क हुनुहोस् ।

(उल्लेखित दृष्टान्त नेपाली संसदको पक्कै होइन । काल्पनिक गाथाबाट प्रेरित साहित्य सृजनाको छाता ओढ्दा गोडा भिजाउने बाछिटाको सम्मानमा, खराउले श्रद्धाञ्जली व्यक्त गर्दै बकेको बहुला (बहुदल) को आलाप हो । कृपया पढेर तत्काल बिर्सीहालौं । पञ्चायतको पञ्चतत्व यहिँकतै वायुमण्डलमा व्याप्त छ र पुनर्जीवन लिने ध्याउन्नमा छ ।)

टिप्पणीहरू