प्रहरी हिरासतमा टोपबहादुरका छोराले दिउँसै रात पारेपछि

प्रहरी हिरासतमा टोपबहादुरका छोराले दिउँसै रात पारेपछि

नक्कली शरणार्थी प्रकरणमा हाल प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीले प्रहरीलाई झूठो बयान दिएको पाइएको छ ।

आफ्नै बाबुको योजनामा अघि बढेको नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आपराधिक धन्दामा ४० लाख रुपैयाँको चेक बुझेको तथ्य खुलेपछि सन्दीप पक्राउ परेका थिए । तर, प्रहरी बयानमा भने उनले उक्त रकम व्यावसायिक कारोबारवापत पाएको दाबी गरेका थिए । गिरोहका सदस्य सानु भण्डारीसँग साझेदारीमा व्यवसाय गरेको र सोहीक्रममा आर्थिक लेनदेन गरेको उनको दाबी अनुसन्धानका क्रममा गलत ठहरिएको हो ।     

‘प्रतिवादी सन्दीप रायमाझीले प्रतिवादी सानु भण्डारीसँग पार्टनरसीपमा लियोन ट्रेडर्स कम्पनी सञ्चालन गरि सो वापतको रु.४० लाख रकम आफ्नो खातामा जम्मा हुन आएको हो भनि बयानबाट स्वीकारेको र कम्पनी रजिष्ट्रारको कार्यालयमा सो सम्बन्धमा बुझ्दा सो लियोन ट्रेडर्स कम्पनीमा सानु भण्डारीको पार्टनरसिप भएको खुल्न नआएको हुँदा सो ४० लाख रकम संगठित रुपमा ठगी गरि आर्जन गरेको रकम सानु भण्डारीले सन्दीप रायमाझीको खातामा जम्मा गरेको देखिन आउँछ’, जिल्ला सरकारी वकिल कार्यालयले हिजो जिल्ला अदालत काठमाडौँमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ । 

सन्दीपले गिरोहका सदस्यहरुसँग मिलेर बोराका बोरा पैसा आफ्नो घरमा ओसार्न लगाएको पनि प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । आफू अपराधबाट जोगिन साथीलाई प्रयोग गरि चितवनबाट दुई सुटकेश रकम सरकारी गाडीमा हालेर उनले घर ल्याएको अभियोग पत्रमा उल्लेख छ । 

झप्पडबहादुर खत्रीको घटना विवरणअनुसार सन्दीपको मागअनुसार ०७८ जेठ २४, २५ गतेतिर बिचौलिया सन्देश शर्माले चितवन जानका लागि टोपबहादुर रायमाझीको सातदोबाटोस्थित घरमा गाडी पुर्याइदिएका थिए । सन्देश हवाई जहाजबाट र हरि महर्जन अनि नाम नखुलेका अर्का एकजना तामाङ थरका व्यक्तिलाई गाडीमा राखेर चितवनको सौराहाको भिजन सफारी होटल पुर्याइएकोमा सन्दीपनै यसको योजनाकार रहेको पाइएको छ । 

बायोमेट्रिक गर्ने भनि सन्देश शर्माले सरकारी पोशाक र गृह मन्त्रालयको आइडीकार्ड भिरेर फोटो खिच्ने काम भएको र २८ र २९ गते बिहान हरि महर्जन र सन्दीपको साथी चितवनको भाटभटेनीमा गई दुई वटा सुटकेश किनेर सेतो बोरामा रहेको पैसा त्यसमा हालेको अनि अर्को झोला गौतम गिरीले राखी गाडी लिएर गएको खत्रीको घटना विवरण कागजमा उल्लेख छ । खत्री आफैंले सेतो रंगको बा. १ झ १५८१ नम्बरको सरकारी गाडी चलाई ललितपुरस्थित महालक्ष्मी स्थानमा उक्त बोरा र सुटकेश झारिदिएको र उक्त पैसा हरि महर्जन र तामाङ थरका सन्दीपका साथीले लिएर गएको पनि उनले गरेको कागजमा उल्लेख छ ।

 

सो रकम सन्दीप रायमाझीको घरमा पुर्याएको खुल्न आएकाले उनीविरुद्ध ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय मागसहित अदालतमा अभियोग पत्र दर्ता भएको छ ।

टिप्पणीहरू