टोपबहादुरले टेकनाथलाई घरमै बोलाएर भेटेपछि बन्यो योजना, गृहमा बादलका सल्लाहकारमाथि हातपात

टोपबहादुरले टेकनाथलाई घरमै बोलाएर भेटेपछि बन्यो योजना, गृहमा बादलका सल्लाहकारमाथि हातपात

नक्कली भुटानी शरणार्थी प्रकरणको सूत्रधार रहेका एमाले सांसद तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले गृह मन्त्रालयमै दलालहरुसँग पटक-पटक बैठक गरेको खुलेको छ । 

आफ्नै घरमा बिचौलियाहरुलाई राखेर नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने योजना बनाएका उनले त्यतिबेलाका गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसँग मिलेर सरकारी कार्यालयलाई दलालहरुको अड्डा बनाएको पाइएको हो । 

जिल्ला सरकारी वकिलको कार्यालयले हिजो बुधवार जिल्ला अदालत काठमाडौंमा दर्ता गराएको अभियोग पत्रमा रायमाझीले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई आफ्नै घरमा बोलाएर नक्कली शरणार्थी बनाई अमेरिका पठाउने योजना सुनाएको र त्यसमा सहयोग गरिदिन आग्रह गरेको उल्लेख छ । यस प्रकरणमा बिचौलिया (दलाल) को भूमिका खेलेका सानु भण्डारी र केशवप्रसाद दुलालले रिजाललाई रायमाझीसँग भेटाएका थिए ।  

'सानु भण्डारी र केशवप्रसाद दुलालले टेकनाथ रिजाललाई प्रतिवादीको घरमा ल्याई भेट गराउँदा निज टोपबहादुर रायमाझीले भुटानी शरणार्थीहरुलाई अमेरिका पठाउँदा नेपालीहरुलाई पनि भुटानी बनाई अमेरिका पठाउने आफ्नो योजना रहेको र सोमा सहयोग गरिदिनका लागि टेकनाथ रिजाललाई अनुरोध गरेको भन्ने प्रतिवादी टेकनाथ रिजालको बयानमा खुलेको',अभियोग पत्रमा भनिएको छ । 

त्यस्तै, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कामका लागि सन्देश शर्मा,सानु भण्डारी र केशव दुलालसँग ललितपुरको बखुन्डोलस्थित रेष्टुरेन्टमा रायमाझीले बारम्बार मिटिङ गरेको र आफ्ना भाइलाई कोरोना संक्रमण भई हेलिकप्टरबाट काठमाडौँ ल्याएको दिन इन्द्रजित राईसङ्ग यही विषयमा होटल सांग्रिलामा भेटघाट गरी प्रेमराज पन्थी र उनका आफन्तलाई अमेरिका पठाउने कुराको ग्यारेन्टी लिई रकम बुझेको रायमाझी स्वयमले स्वीकार गरेको अभियोग पत्रमा लेखिएको छ ।

"रायमाझीले प्रतिवध्दता जनाएअनुसार काम अघि नबढेपछि पीडितहरुले बारम्बार प्रेसर गरेको र त्यसक्रममा गिरोहकै सदस्यहरुबीच झगडा परेको पनि अभियोग पत्रमा उल्लेख छ । " 

सोही भेटमा एक करोड ६० लाख नगद लिएका रायमाझीले छोराको खातामा ४० लाख रकम भुक्तानी गराएको अरु प्रतिवादीहरुले बयान दिएका छन् । तर,रायमाझीले प्रतिवध्दता जनाएअनुसार काम अघि नबढेपछि पीडितहरुले बारम्बार प्रेसर गरेको र त्यसक्रममा गिरोहकै सदस्यहरुबीच झगडा परेको पनि अभियोग पत्रमा उल्लेख छ । 

'जाहरेवाला प्रेमराज पन्थी र निजका आफन्तसमेतलाई अमेरिका पठाउने कुराको ग्यारेण्टी गरेको र प्रतिवादी सानु भण्डारीबाट रु.१,६०,००,०००।- (एक करोड साठी लाख) नगद र निजको छोरा सन्दिप रायमाझीलाई बैंकिङ प्रणालीबाट रु. ४०,००,०००।–(चालिस लाख) दिएको भन्ने प्रतिवादी सानु भण्डारीको बयानबाट खुलेको', आरोप पत्रमा भनिएको छ, 'प्रतिवादी इन्द्रजित राई र सानु भण्डारी तथा केशव दुलालको बीचमा इन्द्रजित राईको कार्यकक्षमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने सम्बन्धमा सानु भण्डारी तथा केशव दुलालले इन्द्रजित राईलाई रकम दिएको र समयमा इन्द्रजित राईले काम नगरेको सम्बन्धमा हातपात समेत हुँदा निजले सहजकर्ताको भूमिका निर्वाह गरेको भन्ने निजैको बयानसमेतबाट खुलेको !' 

यस प्रकरणमा शुरुमै सानु भण्डारी र केशव दुलालसँग मिलेर योजना बनाएका रायमाझीले राजनीतिक तहमा सबै काम आफूले मिलाउने जिम्मा लिएका थिए । त्यसका लागि उनले आफू उपप्रधान तथा उर्जामन्त्री भएका बेला पदीय हैसियतको दुरुपयोग गरी मन्त्रालयबाट बनाइएका चिठीपत्रहरु आदानप्रदान गरेको पनि खुलेको छ ।

तीन जनाबीच इन्द्रजित राईको कार्यकक्षमा विवाद हुँदा हात हालाहाल भएको र रायमाझीले नै छुट्याएर बाहिर निकालेको उनी आफैंले प्रहरीलाई बयान दिएको पनि अभियोग पत्रमा उल्लेख छ । 

'प्रतिवादी सानु भण्डारीको घरबाट बरामद डायरीमा यी प्रतिवादीलाई विभिन्न मितिमा नगदी दिएको भनी अभिलेख राखेको देखिन आएको हुँदा यी प्रतिवादी टोपबहादुर रायमाझी,अन्य प्रतिवादीहरु इन्द्रजित राई, सानु भण्डारी, केशव प्रसाद दुलाल, सन्दिप रायमाझी र टेकनाथ रिजालसँग प्रत्यक्षरुपमा मिलेर सुरुआतदेखि नै कसुर अपराधको योजनाकारको रुपमा अरु प्रतिवादीहरुलाई परिचालन गर्ने र आफू पनि परिचालित भई प्रस्तुत संगठित ठगी एवं राष्ट्रहित प्रतिकूल काम गर्न नहुने अपराधमा सक्रिय भूमिका निर्वाह गरी आपराधिक समूहका अन्य प्रतिवादीहरुलाई समेत परिचालन गरी जाहेरीवालाहरु समेतबाट संकलन गरिएको ठगीको लिनेखाने काममा संलग्न रहेको देखिँदा यी प्रतिवादी टोपबहादुर रायमाझीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने समूहमा आवद्ध भई भुटानी शरणार्थीसँग सम्बन्धित नक्कली प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरूका आधारमा विश्वास दिलाई करोडौँ रकम उठाउन लगाई पीडितहरुलाई हानी नोक्सानी पुर्याई ठगि गरी लाभ लिई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम ठगीको कसुर गरेको पुष्टि हुन आयो', अभियोग पत्रमा उल्लेख छ ।

टिप्पणीहरू