जथाभावी गाली गर्दाको जोखिम

जथाभावी गाली गर्दाको जोखिम

नेपालमा गाली बेइज्जतीसम्बन्धी कडा कानुन छ । तापनि कतिपयलाई यसबारे जानकारी नै छैन । मुलुकी अपराध संहिता २०७४, दफा ३०५ को उपदफा २ मा भनिएको छ, ‘कसैले होच्याउने नियतवस बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा गाली गरेको मानिनेछ ।’ उक्त कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था छ । 

कसैको शारीरिक बनोटमाथि दोष लगाइएमा वा कसैको भावनामाथि ठेस पु¥याउने नियतले आक्षेप लगाएमा त्यो बेइज्जतीमा पर्छ । यस्तोमा दुई वर्ष कैद र २० हजार रूपैयाँसम्म जरिवाना हुन सक्छ । 

यता, विद्युतीय वा कुनै आमसञ्चार माध्यमबाट बेइज्जती गरेको पाइएमा थप एक वर्ष कैद र १० हजार रूपैयाँसम्म जरिवाना हुने प्रावधान छ । यस्तो कानुन हुँदाहुँदै गाली बेइज्जती गर्नका लागि विद्युतीय माध्यमको समेत दुरूपयोग गर्न थालिएको छ । र, अदालतमा मुद्दा पर्ने क्रम बढ्दो छ । 

ललितपुर जिल्ला अदालतबाट प्राप्त विवरणअनुसार २०७५ सालमा सात वटा गाली बेइज्जती मुद्दा दर्ता भएकामा २०७६ मा ६, २०७७ मा ८, २०७८ मा सात र २०७९ मा २१ वटा पुगेका छन् । दोलखा घर भई काठमाडौंको जडीबुटी बस्दै आएका ४१ वर्षीय शिव बस्नेत (नाम परिवर्तन) ले २०७७ चैत ३० गते गुल्मी घर भई कागेश्वरी मनहरा नगरपालिका–७ बस्ने ४९ वर्षीय श्याम पाण्डे (नाम परिवर्तन) लाई प्रतिवादी बनाएर ०७७–सी४–०२५४ नम्बरमा मुद्दा दर्ता गरे । पाण्डेले तीन लाख ४० हजार रूपैयाँ ऋण लिएका थिए । सो रकम फिर्ता माग्न जाँदा राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखाको चेक दिएको र सो चेक अनादर भएको बस्नेतको भनाइ छ । 

यता, प्रतिवादीले आफ्नो चेक चोरी गरेको भन्दै उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा हालेको फिरादपत्रमा उल्लेख छ । यसमा न्यायाधीश पुष्पराज थपलियाको एकल इजलाशले वादीले चेक चोरी गरेको प्रमाणित हुन नआएको तर प्रतिवादीले वादीको मान इज्जतमा आघात पार्ने गरी गाली बेइज्जती गरेको ठहर गर्यो । कसुर पुष्टि भएपछि उनलाई सोही संहिताको दफा ३०७ (१) बमोजिम १० हजार रूपैयाँ जरिवाना गरिएको छ । 

त्यसैगरी युट्युब तथा अन्य सामाजिक सञ्जालमार्फत झुठ्ठा विषय सार्वजनिक गरेको भन्दै सिन्धुपाल्चोक घर भई ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर १ बस्ने उमेश विश्वकर्मा (नाम परिवर्तन) ले मुद्दा दर्ता गरे । वडा नम्बर १४ तिखेदेवल बस्ने प्रकाश खत्रीकी श्रीमती रिता ढकाल खत्री (नाम परिवर्तन) ले सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गरेको उनको आरोप छ । 
ग्रीन भ्याली सहकारी संस्था लिमिटेडबाट लिएको ऋण र दुई वटा गाडीको विषयमा दुई जनाबीच विवाद भएको थियो । उमेशले गरेको बकपत्रअनुसार प्रतिवादीले आफ्नो छोरालाई सो गाडी चलाउन दिने र त्यसबापत मासिक ३५ हजार रूपैयाँ किस्ता हाल्ने सहमति भएको थियो । किस्ता तिरिसकेपछि सो गाडी आफ्नो नाममा पास गरिदिने सम्झौता भएको वादीको भनाइ छ । तर, प्रतिवादीले त्यसो नगरेको आरोप लगाएका छन् । आफूले प्रकाशले सहकारीबाट लिएको ऋणबाट पाँच लाख रूपैयाँ लिएको र सो फिर्ता गरिसक्दा पनि जबरजस्ती सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको चेक लगेको उमेशको दाबी छ । 

आपराधिक बल प्रयोग गरी आफ्नो चेक लगेको र आफैंमाथि हिलो छ्याप्ने काम गरेको समेत बकपत्रमा उल्लेख छ । प्रतिवादीले झुठ्ठा विवरण उल्लेख गरी विभिन्न युट्युब च्यानलमार्फत आफ्नो चरित्रमाथि दाग लाग्नेगरी ‘ठगी गर्ने गिरोहको पर्दाफास’ भनी समाचार प्रकाशन गरेको उनको जिकिर छ । अनर्गल प्रचारप्रसार गरी आफूलाई गाली बेइज्जती गरेको हुँदा मुलुकी अपराध संहिता, २०७४ को दफा ३०७ बमोजिम हदैसम्म सजायँ हुनुपर्ने मागदाबी लिँदै ०७८–सी४–०११७ मा मुद्दा दर्ता भएको छ । न्यायाधीश धर्मराज पौडेलको इजलाशले वादीको फिराददाबी नपुग्ने भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३१ बमोजिम फैसला सुनाएको छ ।

 

टिप्पणीहरू