विज्ञापन बोर्डको दैलोमा पत्रकारको हुल, महासंघले निकाल्यो विज्ञप्ति

विज्ञापन बोर्डको दैलोमा पत्रकारको हुल, महासंघले निकाल्यो विज्ञप्ति

छापा माध्यमले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापन रोक्ने विज्ञापन बोर्डको निर्णयविरुद्ध पत्रकार महासंघलगायत विभिन्न संघसंस्थाहरु आन्दोलनमा उत्रिन थालेका छन् । 

बोर्डको निर्णयले साना लगानीमा सञ्चालित छापा मिडिया धराशायी हुने बताउँदै सरोकारवालाहरुले आन्दोलन थालेका हुन् । 

कोरोना महामारीका कारण हालसम्म पनि अनेकौं समस्या झेलिरहेका छापामाध्यमलाई विभिन्न बहानामा विज्ञापन स्थगित गर्ने निर्णय गलत हुने भन्दै पत्रकार महासंघले यस्तो निर्णय तत्काल फिर्ता लिन बोर्डलाई भनेको छ । 

महासंघका महासचिव रोसन पुरीले आज विज्ञप्ति जारी गर्दै छापामाध्यमको हितविरुद्ध हुने निर्णय तत्काल फिर्ता लिई लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिन ध्यानाकर्षण गराए । लोककल्याणकारी विज्ञापन प्रकाशनमा बोर्डले यस्ता व्यवधान खडा गर्दा साना लगानी तथा स्वःरोजगारमूलक छापामाध्यमहरु थप धरायसी हुने उनको भनाई छ । 

आज केही पत्रकारहरुले बबरमहलस्थित बोर्डको कार्यालयमा धर्नासमेत दिएका छन् । 

वैशाख ३१ गते बोर्डले छापामाध्यमलाई दिँदै आएको लोककल्याणकारी विज्ञापनबापतको रकम अपुग भएको जनाउँदै जेठ १५ गतेसम्म प्रकाशित भएका विज्ञापनको मात्र भुक्तानी गर्ने निर्णय गरेको थियो ।

टिप्पणीहरू