पत्रकारको तलब बढाउन सिफारिस

पत्रकारको तलब बढाउन सिफारिस

न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन सरकारलाई सिफारिस गरेको छ ।

समितिले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई 'न्यूनतम पारिश्रमिक पुनरावलोक सिफारिस प्रतिवेदन' बुझाउँदै तलब बढाउन सिफारिस गरेको हो । प्रतिवेदनमा विभिन्न सञ्चार संस्था र तहगत वर्गीकरण गरि पूर्ण ऐन लागू हुने मिडियामा काम गर्ने पत्रकारको न्युनतम तलब ३४ हजार १२५ पुर्याउन सिफारिस गरिएको छ । 

त्यस्तै, पूर्ण ऐन लागू हुने राष्ट्रिय मिडियामा कार्यरत अन्य कर्मचारीको तलब २५ हजार २०० पुर्याउन समितिले सिफारिस गरेको छ । अन्य सञ्चार संस्थामा काम गर्ने पत्रकारको तलब २४ हजार ६२५ र कर्मचारीको २१ हजार ८७५ सिफारिस गरिएको छ । 

त्यस्तै, तहगत वर्गीकरणमा पूर्ण ऐन लागू हुने मिडियामा सहायक संवाददाता वा सो सरहका लागि ३४ हजार १२५, संवाददाता, फोटो पत्रकार, प्रेस प्रतिनिधि वा सो सरहका लागि ३७ हजार ५३८, बरिष्ठ संवाददाता, भाषा सम्पादक, सहायक सम्पादक वा सो सरहलाई ४० हजार ९००, उपसम्पादक वा सो सरहलाई ४३ हजार २७२ र बरिष्ठ भाषा सम्पादक, बरिष्ठ पत्रकार वा सो सरहका लागि ४५ हजार ३०० तलब तोक्न सिफारिस गरिएको छ । 

अहिले पत्रकारको न्यूनतम आधारभूत तलब २४ हजार ६ सय कायम छ ।
 

टिप्पणीहरू