अमेरिकाको छेउमै पुगेर नेपालीहरु अड्किए

अमेरिकाको छेउमै पुगेर नेपालीहरु अड्किए

गैरकानुनी रुपमा जल र स्थलमार्ग हुँदै अमेरिका छिर्न खोजिरहेका सयौँ नेपाली सीमावारि रोकिएका छन् । मानव तस्करको जालोमा पारी लाखौँ खर्चिएर तीन महिनापछि मेक्सिकोको सीमावर्ती शहर पुगेका उनीहरू ‘टाइटल–४२’ को त्राशले सीमामै अड्किएका हुन् ।

‘नेपाली–मेक्सिकन’ मानव तस्करलाई तीसदेखि पचास लाखसम्म सुम्पिएर नयाँदिल्ली,टर्की, ब्राजिल,कोलम्बिया, पानामा,निकारागुवा, ग्वाटेमाला हुँदै मेक्सिको पुगेर आफूहरू सीमावर्ती शहरमै थन्किएकाे नेपालीहरू बताउँछन् ।

आफूहरू एघार दिनदेखि अमेरिका–मेक्सिकाे सीमाक्षेत्रमै बसिरहेको अवैध बाटो हुँदै मेक्सिको पुगेका दाङका नवीन केसीले बताए । ‘हामीहरू यहाँ आएकाे एघार दिन भइसक्याे । सुनेअनुसार २२ घण्टामै अमेरिका पुगिन्छ रे । तर नेपाली दलालले यताकाे दलाललाई पूरै पैसा नदिएकाे बुझिएकाे छ,’ उनले भने ।

लुकिछिपी ‘अमेरिकी सपना’ बाेकेर मेक्सिकाे पुगेका धेरै नेपालीलाई मानव तस्करसँगै अमेरिकी कानुन ‘टाइटल–४२’ले तनाव दिइरहेकाे छ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले आप्रवासीमाथि कडा र थप प्रतिबन्धात्मक नीति अपनाएकाे छ । याे नीतिकाे मारमा स्थलमार्ग हुँदै अमेरिका छिर्न खोजिरहेका नेपाली र भारतीय युवासमेत परेकाे मेक्सिकाेमै रहेका ललित घर्तीमगर बताउँछन् । उनी सात दिनदेखि अमेरिका जाने पालाे कुर्दै सीमा नजिकै बसिरहेका छन् ।

‘हामीहरू २२–२३ जना छाैँ । नेपाली छाैँ, भारतीय र अन्य देशका पनि छाैँ । अहिले त्यहाँकाे सरकारले टाइटल–४२ भन्ने कानुन लगाएकाे छ रे,त्याे कानुन लागू भएपछि दलाल पनि डराएकाे छ । हामीलाई समेत डर छ,’ललितले भने, ‘छाेपेर घर फर्काइदिन्छ भन्ने हल्ला छ, त्यसाे भएर हामीहरू यहीँ बसेका छाैँ ।’

गएकाे शुक्रबारदेखि आप्रवासीहरूले अमेरिका प्रवेश गर्नुअघि अर्को देशमा शरणार्थीको दर्जाको लागि अनुरोध नगरेमा शरण लिन नपाउने नियम लागू गरेपछि मेक्सिकाे पुगेका धेरै नेपाली अमेरिका छिर्न डराइरहेका छन् । उनीहरू शुभ दिनकाे पर्खाइमा छन् ।

‘टाइटल–४२’काे चर्चा र बाइडेन प्रशासनकाे घेराबन्दीकाे मारले नेपाली थप ठगिन र आर्थिक भार बाेक्न बाध्य छन् । दलाललाई लाखाैँ बुझाएर अमेरिका पुग्न सहज छैन। डर उस्तै छ,व्यथा उस्तै।

सीमावर्ती शहरमा थुनिएका कतिपय नेपाली रियो ग्रान्डे नदीको किनारमा टेन्ट लगाएर बसेका छन् । कति सीमापर्खाल नजिकै सुतिरहेका छन् । मेक्सिकाे–अमेरिका सीमानजिकै रहेका नवीनकाअनुसार नेपालीहरूले अमेरिकी भूमिमा पस्ने पालाे कुरिरहेका छन् । हिँडेरै अमेरिकी मुखमा पुगेका हजाराैँ नेपालीले सीमा क्षेत्रमा तनाव झेलिरहेका छन् ।

राष्ट्रपति बाइडेन प्रशासनले टाइटल–४२ अन्त्य गर्दै कडा नियम लागु गरेपनि अमेरिका र मेक्सिको सीमामा शरणार्थी हुन चाहनेहरूको भीड छ । आप्रवासीहरू दिन प्रतिदिन थपिएकै छन् । तर अघिल्ला हप्ताहरूजस्ताे सीमानाका काट्न पाएका छैनन् । अधिकारीहरूले अमेरकी जमिन टेक्न नदिएपछि आप्रवासीहरूले काँडेतारकाे छेउमा डेरा जमाएर छन् ।
 

टिप्पणीहरू