खहरे खोला, कोशी र गण्डकी जस्तै होला ?

खहरे खोला, कोशी र गण्डकी जस्तै होला ?

बाख्राको खोर बनाउनुपर्ने ठाउँमा नारायणी सिञ्चाइले करोडौं खर्चिएर हात्तीसार किन बनाउन लागेको हो ? बाराको पचरौता नगरपालिका तथा आदर्शकोतवाल गाउँपालिकास्थित जमुनी खोलाको सिञ्चाइका लागि लगभग ६० करोड रूपैयाँ लाग्ने गरी ब्यारेज बनाउँदै गरिएको छ । 

नारायणी सिञ्चाइ व्यवस्थापन कार्यालय वीरगञ्जमा कार्यरत इञ्जिनियर सुरेश साह र कोशी गण्डकमा करोडाैँ करोड लिएर प्रतिसेकेण्ड लिटर पानी प्रवाह हुने ठाउँको डिजाइन खहरे खोलामा गरे होलान् ! साहले जमुनी ब्यारेजको डिजाइन बनाउँदा तथ्यांकमा प्रति सेकेण्ड साढे ७ हजार लिटर पानी उपलब्ध हुने दाबी लिएको भए पनि खोलाको स्थिति त्यस्तो छैन । सामान्य अवस्थामा उक्त खोलाबाट २५ हजार लिटर प्रतिसेकेण्ड पानी प्रवाह हुने दाबी पनि उनको छ । 

पर्साको तिलावे खोलाबाट लाखौँ लिटर पानी प्रतिसेकेण्ड प्रवाह हुने ठाउँमा इञ्जिनियर साहले ४ महिना सुख्खा (चैतदेखि असारसम्म) हुने जमुनी खोलाबाट प्रतिसेकेण्ड साढे ७ हजार लिटर पानी प्रवाह हुने हिसाव कसरी निकाल्न सकेका होलान् ? त्यस ब्यारेजमा उनले १३ वटा ढोका हाल्न लगाएका छन् । 

०७२/७३ मा ब्यारेजको जग हाल्दा लागत २२ करोड ४० लाख देखाइएको थियो भने तटबन्धका लागि छुट्टै १२ करोड लाग्ने अनुमान थियो । १३ वटा ढोकाको खर्च १४ करोड देखाउँदा पछि त्यसमा १२ करोड अझै थपिएको देखिन्छ । जमुनी सिञ्चाइमा बजेटको अभाव हुनेबित्तिकै उनी अन्यत्रै सरुवा भई जाने गर्दछन् । बजेट थपिनासाथ हान्निएर जमुनी खोलामा पौडी खेल्न कुदिहाल्छन् । 

सन् १९७१ बाट गण्डक नहर सञ्चालन हुँदै आएकोदेखि नहरको पुछारमा रहेको ११ देखि १५ नम्बर ब्लकसम्म पानी पुगेको इतिहास भेटिन्न । तैपनि, इञ्जिनियर साहले त्यहाँ लाखौं खर्ची नहर सफाइ गर्दै आएका छन् । कार्यालय प्रमुख मनोरञ्जन सिंह उनको मतियार बनेको चर्चा छ । तिलावे खोलाको बाँध अमेरिकी सरकारको सहयोगमा सम्भवतः २०१४ सालतिर बनाइएको थियो । ०५३ सालको ठूलो बाढीले उक्त बाँध क्षतविक्षत हुँदा चिनियाँ इञ्जिनियरहरूले त्यसलाई पुनर्जीवन दिन भ्याएका थिए । त्यस बाँधबाट तिलावे खोलाको पश्चिम किनारमा ५ नं. ब्लकको पानी तल भारतीय सीमा मधवल गाउँसम्म पुग्ने गर्छ भने पूर्वपट्टि ६ नं. ब्लकको पानी तल चण्डाल चौकसम्म जाने गरेको छ । 
 

टिप्पणीहरू