रुपन्देहीमा काँग्रेसको चासो : खाँण जेल जालान् कि नजालान् !

रुपन्देहीमा काँग्रेसको चासो : खाँण जेल जालान् कि नजालान् !

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी र अपराधिक धन्दामा सक्रिय भएको अभियोगमा नेपाल प्रहरीले काँग्रेस नेता बालकृष्ण खाँणलाई पक्राउ गरेपछि रुपन्देही काँग्रेसले लज्जाबोध गरेको छ । गृहजिल्ला रुपन्देही र उनको निर्वाचन क्षेत्र समेत रहेको भैरहवामा सम्पन्न काँग्रेसको भेलाले गलत गर्नेलाई नछाड्न सरकारलाई आग्रहसमेत गरेको छ । 

खाँण गृहमन्त्री भएको बेला मानवतस्करी र सो कार्यमा उनी र उनको सचिवालयको संलग्नता देखिएको थियो । नक्कली भुटानी शरणार्थी काण्डमा उनको मिलेमतो पाइएपछि यतिबेला रुपन्देहीका काँग्रेसी नेता,कार्यकर्ताहरुले भन्न थालेका छन्, ‘खाँण जेल जालान् कि नजालान् ?’

विगतमा गिरिजाप्रसाद कोइराला र पार्टीको संस्थापन पक्ष हावी रहेको रुपन्देहीमा उनका विश्वासपात्र समेत रहेका रामकृष्ण ताम्राकारको निधनपछि खाँणको समूह सक्रिय थियो । भैरहवाको स्थानीय वासिन्दा समेत रहेका ताम्राकार नेपाली काँग्रेसको केन्द्रीय कोषाध्यक्षसमेत रहेर संसदीय राजनीतिमा सक्रिय रहँदा रुपन्देही जिल्ला संस्थापन पक्षको प्रभाव जिल्ला मानिन्छ ।

पार्टी सभापति शेरबहादुर देउवा टिमको नेतृत्व गर्दै बालकृष्ण खाँण भैरहवालाई आफ्नो निर्वाचन क्षेत्र बनाएर गत निर्वाचनमा होमिएका थिए । ५ वर्षअगाडिको निर्वाचनमा समानुपातिकबाट संसदीय राजनीतिक यात्रा तय गरेका खाँण गत निर्वाचनमा भने प्रत्यक्षतर्फको उम्मेदवार बनेका हुन् । गृहमन्त्री भएकै बेला निर्वाचन प्रचार प्रसारमा सक्रिय खाँण साम,दाम,दण्ड,भेद लगाउँदासमेत राप्रपाका दीपक बोहोरासँग पराजित भए । 

उनले निर्वाचनको समयमा समेत पार्टीको कोइराला समूहलाई बाईपास गरेर हिँडेका थिए । अहिले खाँण पक्राउ परेपछि समूहले भैरहवाको एक होटलमा कार्यक्रम आयोजना गरेर पार्टीको नेता नै नक्कली भुटानी शरणार्थाी काण्डमा सक्रिय देखिनु लज्जाबोध भएको निस्कर्श निकाल्यो । सहभागीहरुले अपराध गर्ने जो कोहीलाई पनि कारबाही हुनुपर्नेमा जोड दिएका छन् । 

भेलामा केन्द्रीय सदस्य मधु आचार्य, डा. गोविन्द पोखरेल,लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन,पूर्व केन्द्रीय सदस्य गुरु घिमिरे,युवा नेता भुपेन्द्रजंग शाही,लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल,पाल्पा सभापति वीरबहादुर राना,रुपन्देही उपसभापति थानेश्वर घिमिरे, प्रमोदकुमार यादव, विष्णु पोखरेल, फखरुद्दीन खान, रमा अर्याललगायत नेताहरु सहभागी थिए ।

काँग्रेस सत्ता र शक्तिमा रहँदासम्म खाँणको समूहले कोइराला समूहलाई राजनैतिक कत्लेआम गरेको थियो । पार्टीको वडादेखि जिल्ला कमिटीसम्म सत्ता र शक्तिको बलमा समूह खडा गरेको कोइराला समूहको त्यतिबेलै आरोप थियो । कोइराला समूहले खाँण खेमालाई लोभीपापीको विशेषण भिराउँदै अहिले मूली नै खराब भएपछि तलतिरका बदमास हुनु कुनै नौलो नभएको बताउन थालेको छ ।

पार्टीको रुपान्तरण जरुरी रहेको बताउँदै सत्ता र शक्तिको निम्तिभन्दा पनि बिपीको नीति र सिध्दान्त अंगीकार गर्ने नेता आवश्यक रहेको समेत भेलाले निश्कर्ष निकालेको छ ।

टिप्पणीहरू