नेपालमा साउदीको भिसा सेन्टर खुलेकोमा व्यवसायीहरुको आपत्ति

नेपालमा साउदीको भिसा सेन्टर खुलेकोमा व्यवसायीहरुको आपत्ति

वैदेशिक रोजगार व्यवसायी संघले नेपालमा साउदी अरेबियाले भिसा सेन्टर खोलेकोमा चर्को विरोध गरेको छ । 

नेपालको अन्तराष्ट्रिय श्रम बजारमा एकाधिकार लागू गर्ने र श्रमिकमाथि थप आर्थिक बोझ थप्ने उद्धेश्यले भिसा सेन्टर खोलिएको दाबी गर्दै संघले आपत्ति प्रकट गरेको हो । 

साथै, भिसा सेन्टर खोल्न अदृश्य शक्तिले चलखेल गरिरहेको समेत संघको आरोप छ । ६ मे २०२३ मा साउदी दूतावासले परराष्ट्र मन्त्रालयलाई सम्बोधन गरी पठाएको कूटनीतिक नोटका आधारमा मन्त्रालयले बैशाख २८ गते भीएफएस ग्लोबल सर्भिसले भिसासम्बन्धी सबै काम गर्ने जानकारी गराएको थियो । उक्त नोटमा साउदी प्रवेशका निम्ति सबै प्रकारका भिसा तथा यात्रासम्बन्धी अनुमति प्रदान गर्ने काम भीएफएस ग्लोबलले गर्ने उल्लेख थियो । 

मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी संघलाई इमेलमार्फत त्यसको जानकारी दिएको थियो । त्यसप्रति असन्तुष्ट रहेका व्यवसायीहरुले आज विज्ञप्ति निकालेर आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन् ।     

‘कूटनीतिक नोटमा भिसा सेन्टर भनेर प्रष्ट खुलाइएको भीएफएस ग्लोबल सर्भिस नेपाल भन्ने संस्था नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७४ असार ४ गते दर्ता भएको देखिएकाले भीएफएसको नाम दिई सरासर व्यवसायीलाई गुमराहमा राखी झुक्याउने खेलका साथै श्रमिकलाई थप आर्थिक भार पार्ने उद्देश्य राखेर खोलिएको संस्था हो भन्ने संघको बुझाइ छ,’ विज्ञप्तिमा भनिएको छ । 

त्यस्तै, साउदी अरब मुलुकमा जान भिसा प्रक्रियाका लागि सोही कम्पनीमार्फत कामदारका भिसा प्रक्रिया गर्नेसमेत संघले जनाएको छ । 

‘कामदारसँग जोडिने हरेक विषयमा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल र स्वीकृतिबिना खडा हुने भिसा सेन्टर, मेडिकल सेन्टरलगायतका संस्थाहरु यस संघलाई मान्य हुने छैन, विज्ञप्तिमा भनिएको छ,’ ‘यस विषयमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै कुनै एक संस्थामार्फत एकाधिकार लागू गनै खोजिएको खण्डमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कडा प्रतिवाद गर्ने छ ।’
 

टिप्पणीहरू