सरकार त बच्यो, अब देला त सर्भिस ?

सरकार त बच्यो, अब देला त सर्भिस ?

नक्कली भुटानी शरणार्थी प्रकरणको सेरोफेरोमा हप्ता दिनबीच तीनचोटि प्रधानमन्त्री प्रचण्डसँग भेटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई प्रधानमन्त्रीको तुरुप फ्याँक्दै वर्तमान गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिन लगाएपछि पुनः विश्वासको मत लिनुपर्ने या समीकरण तलमाथि हुनसक्ने अड्कलबाजी शुरु भएको छ । अरुले समर्थन झिक्दा विश्वासको मत नलिई ओली अडिएझैं भर्खरै समर्थनबाट अलग्गिएका लामिछानेले नयाँ सत्ता समीकरण निम्ति प्रारम्भिक कसरत शुरु गरे पनि नतिजा भने उनको पक्षमा देखिएको छैन । जनमत पार्टी सरकारबाट बाहिरिएलगत्तै लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिए नागरिक उन्मुक्ति पार्टी पनि पछि हट्ने अनुमान थियो । तर, अझै पनि सुविधाजनक बहुमतमा रहेको गठबन्धनले विश्वासको मत लिन नपर्ने ठहर गरेसँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकारले नै निरन्तरता पाएको छ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले टसमस नगर्ने स्थिति देखिएको छ । 

सत्ता समीकरण फेरबदल हुनका लागि यी दुई दलसँगै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले पनि सरकारबाट समर्थन फिर्ता लिनुपर्ने हुन्छ । जुन तत्कालका लागि सम्भव देखिन्न । भर्खरै बाराको उपनिर्वाचनमा अहिलेको गठबन्धनबाट महत्वपूर्ण भूमिका र सहयोग रहेकाले उपेन्द्र यादवले यस्तो कृतघ्न काम गर्न तत्काल अघि नसर्ने दाबी गरिएको हो । अर्कोतर्फ लामिछानेलाई प्रधानमन्त्री बनाउनका लागि यादवले बलिदान गर्नुपर्ने कारण पनि छैन । यादव आफैँ प्रधानमन्त्री बन्ने अवस्थामा मात्रै सत्ता समीकरण ध्वस्त बनाउने एमाले अध्यक्षको योजना सफल हुने देखिन्छ । अर्कोतर्फ सरकारबाट समर्थन फिर्ता लिए पनि नलिए पनि, सत्तामा भए पनि नभए पनि लामिछानेको भ्रमपूर्ण जालो फैलिएकाले फाइदैफाइदा छ । रविको यो उचाइसम्मको यात्रामा एमाले अध्यक्ष ओलीको सबैभन्दा ठूलो हात र आशीर्वाद रहेको देखिन्छ ।

विश्लेषकका अनुसार ओली आफू प्रधानमन्त्री भएका बेला सन् २०१४ मा अमेरिकाबाट फर्केर आउनासाथ नेपाल टेलिभिजनमा निःशुल्क सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम चलाउन दिए । दोस्रोपटक प्रेस काउन्सिलले लामिछानेविरुद्ध श्रम इजाजत, कर, अध्यागमन र राहदानी अनियमिततामा कारबाही गर्न खोज्दा काउन्सिलकै पदाधिकारीहरूलाई उल्टै ओलीले कारबाही गरे । तेस्रो, उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाए र चौथो घटना गएको उपनिर्वाचनमा रविविरुद्ध झण्डै झण्डै उम्मेदवारी नै दिएनन्, पछि कार्यकर्ताको दबाबमा मात्रै उम्मेदवारी दिएको अवस्थाले लामिछानेको यात्रामा ओलीको निकै ठूलो हात रहेको देखिन्छ । यी घटनाबाहेक पासपोर्ट प्रकरणमा लामिछानेलाई जोगाउन महत्वपूर्ण भूमिका निर्वाहसमेत गरेका छन् । हुँदाहुँदा अहिले प्रधानमन्त्रीको अफरजस्ता घटनामार्फत ओलीले ‘हम तो डुबे सनम, तुमको भी ले जाएगें’ भन्ने अवस्थामा पार्टीलाई पु¥याएको दाबी गरिँदै छ । आफ्नाको दोहोलो काढेर, आफ्नासँग कृतघ्न र अरुसँग कृतज्ञ हुने कार्यशैलीले एमालेलाई दुईतिहाइबाट फुइँतिहाइतर्फ झार्दै लगेको अवस्था छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीको पक्षमा देखिएको व्यवहार र अभिव्यक्तिले अध्यक्ष ओलीलाई झनै एक्स्पोज गराएको छ । पूर्वराजाको विरोध गर्ने तर राजावादीलाई आफ्नो हितअनुकूल प्रयोग गर्ने ओलीले राप्रपाका कमल थापा र राजेन्द्र लिङदेनसँग दोस्ती गाँसीगाँसी अहिलेको अवस्थामा ल्याउन सहयोग गरेको विश्लेषण पनि गरिँदै छ । एक सिटको राप्रपालाई घरी सत्ता साझेदार, घरी चुनावमा गठबन्धन गर्दै अहिलेको अवस्थामा ल्याएको प्रष्टै देखिन्छ ।

(जनआस्था साप्ताहिकबाट साभार)

टिप्पणीहरू