जनतालाई सम्झाउन ढिला भयो

जनतालाई सम्झाउन ढिला भयो

नैनसिंह महर, कांग्रेस केन्द्रीय सदस्य

नेविसंघको सभापति भइसकेका नैनसिंह महर महाधिवेशनबाटै निर्वाचित पार्र्टी केन्द्रीय सदस्य हुन् । ०४६ सालमा ८ कक्षामा पढ्दादेखि राजनीतिमा लागेका उनले विद्यालयस्तरमा नेविसंघको हरेक तह र कमिटीमा बसेर काम गरे । ०५५÷५६ सालतिर नेविसंघको डडेल्धुरा जिल्ला अध्यक्ष बने । ०६२÷६३ सालको जनआन्दोलनमा चार पटक गरी तीन महिनासम्म हिरसात जीवन बिताए । त्रिविबाट राजनीतिक अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनी अहिले विद्यावारिधिको प्रक्रियामा छन् । केही समय डडेल्धुराबाट कान्तिपुर संवाददाताका रूपमा पनि काम गरे । अहिले उनी ‘नेविसंघको इतिहास, अबको कांग्रेस’ नाम राखेर पुस्तक तयार पारिरहेका छन् । ‘शिक्षाको चुनौती’ नामक उनको पुस्तकले सन् २०१० मा बेलायतको अन्तर्राष्ट्रिय पुरस्कार कन्स्ट्रक्टिभ स्टुडेन्ट अवार्ड हात पारेको थियो । गत मंसिरको निर्वाचनमा उनी उम्मेदवार बन्न ठिक्क परेका थिए, अन्तिममा टिकट पाएनन् । अहिलेसम्म सरकारी लाभको कुनै पद नपाएका उनी पार्र्टीको १५ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने तयारीमा छन् । 

– हरि गजुरेल 

रवि लामिछाने धेरै कुरामा गलत छन् भन्ने जान्दाजान्दै पनि जनताले उनलाई र उनको पार्टीलाई जति भोट दिए, त्यसले त अब कांग्रेस, एमालेजस्ता प्रमुख दलको जनमतलाई नामेट पार्ने संकेत दिएको छैन र ?

– मूलधारका पुराना र परिवर्तनकारी दलहरूको स्थापना र आजको सन्दर्भ फेरिएको छ । नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादको अवधारणा त छँदै छ । त्यतिबेलाको राजनीतिक परिवर्तनको उद्देश्य अहिले फेरिएको छ । राजनीतिक परिवर्तन भइसकेको छ अब राजनीतिक परिवर्तनका लागि लड्न आवश्यक छैन । संसारमा विकासका नयाँ नयाँ आयाम आए । शिक्षा, स्वास्थ्य, यातायातलगायत मानिसका दैनिक आयस्तर उकासिएको छ । यस्ता धेरै कुरामा परिवर्तन आएको छ । संसारमा थुप्रै मुलुकलाई हेर्ने हो भने विकासमा कायापलट गरेका छन् । ०४६ सालको परिवर्तनपछि नेपालीहरू विदेश गए, रोजगारीका लागि । कोही स्थापित भए । उद्योगधन्दा चलाउने तहसम्म पुगेका छन् । त्यहाँ गएर विकासको रफ्तार, सुशासनको स्थिति, शासन÷प्रशासनको स्थिति हेर्दा नेपालमा त्यही रफ्तारमा परिवर्तन खोज्छन् तर यहाँ त्यो गतिमा परिवर्तन हुन सकेको छैन । उनीहरूले मेरो देश किन त्यस्तो भएन भनेर तुलना गर्न थाल्नु स्वाभाविकै हो । सामाजिक सञ्जालले संसारको परिवर्तन देखायो । संसारको विकास भएको ठाउँ नेपालमै बसेर हेर्न सकिने भएको कारण उनीहरूलाई लाग्यो यी विश्वका अन्य विकसित देशको तुलनामा नेपाल विकास हुन नसक्नुका कारण यही पुराना दल र नेताहरू हुन् । यसमा पूरै सत्यता नभए आंशिक सत्यता छ । जनताले यी नेता र दलबाट शतप्रतिशत (पूरै) परिवर्तन खोजे, राजनीतिक दलले ५० प्रतिशत पनि परिवर्तन दिन सकेनन् । संसारको परिवर्तनको बेग निकै बढी भयो । नेपालमा कछुवा गति छ विकासको । सरकार सञ्चालन गर्नेहरूको ध्यान सुशासन, विकासतर्फ केन्द्रित हुन सकेन । जनताको अपेक्षा बढी भएका कारण त्यो अपेक्षा पूर्ति गर्नसक्ने अबस्था कसैको थिएन । नयाँ दल÷मान्छेले कायापलट गरिहाल्छन् कि भन्ने आशा पलायो । नयाँ मान्छेलाई त के छ र ? हरेक घरमा सुनको गमला हुनुपर्छ र त्यहाँ तुलसी रोप्नुपर्छ भनिदिए पनि भयो । अहिले जति पनि नयाँ आएका छन्, ती पुरानै दल र नेताहरूको त्याग र बलिदानले ल्याएको लोकतान्त्रिक आन्दोलनकै कारण उदाएका हुन् । यहाँ तानाशाह, एकदलीय वा राजाको शासन हुँदो हो त यी नयाँ भनिएकाहरूको उदय हुँदैन थियो । संसारमा पपुलिस्ट शासकहरूको अन्त्य राम्रोसँग भएको छैन । कुनै समय हिटलरले भाषण गर्दै गर्दा खाना खान थालेका आर्मी, सिपाही दौडेर भाषण सुन्न जान्थे । बहुत चामत्कारिक, लोकतान्त्रिक भाषण गर्ने मान्छे, जर्मनको अधोगतिका कारण मात्र बनेनन् संसारकै दोस्रो विश्वयुद्ध निम्त्याउने व्यक्तिका रूपमा कहलिए । पपुलारिटीको कुरा गरेर उदाउने र सेफल्याण्डिङ राम्रो नभएका धेरै उदाहरण हाम्रै अगाडि छ । नेपाली कांग्रेसजस्ता पुराना दल पपुलिजमभन्दा पनि रियलस्टिकमा विश्वास गर्दछौं । अहिले बेरोजगार युवालाई भत्ता दिने सबैभन्दा लोकप्रिय कुरा होला तर अवस्था त्यस्तो छ त ? हामी कार्यान्वयनका आधारमा हेर्ने र रियलस्टिकमा विश्वास गर्ने भएका कारण केही कुरा जनतालाई सम्झाउन ढिला भएको हो । मलाई लाग्छ, अहिले ७ रिक्टर स्केलभन्दा पनि माथिकै राजनीतिक भूकम्प आएको छ । जसकारण केही पूर्वाधार खल्बिलिएका हुन् । जसरी ०७२ सालको भूकम्पका कारण अलिसान महलको मान्छे पनि त्रिपालमा आइपुग्यो । अहिलेको राजनीतिक भूकम्पले पनि शीर्षस्थ नेतालाई तलको (जमिन) बुझ्न बाध्य गराएको छ । यो राजनीतिक भूकम्पले हामी आफैंलाई संशोधन, परिवर्तन गर्नुपर्छ भन्ने सन्देश दिएको छ र त्यसका लागि बाटो खुलेको छ । 

स्वर्णिम वाग्लेले पार्र्टी छाड्ने र मैदानमा कांग्रेसको परीक्षण हुँदा दयनीय परिणाम आउने कुराको कारण र संकेत के हो ?

स्वर्णिम वाग्लेको जितलाई धेरै अस्वाभाविक लिएका छैनौं । पढ्न उहाँ आफैंले पढ्नुभयो तर उहाँको जति एक्सपोजर थियो नेपाली कांग्रेस पार्र्टी नै हो । कांग्रेसले नै उहाँलाई राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष बनायो । उहाँले उपाध्यक्ष भएर नेपाललाई कति योगदान दिनुभएको छ ? विकासमा कति फड्को मारेको छ ? त्यो तपार्इं हाम्रै अगाडि घामजस्तै छर्लंग छ । उहाँ नेपाली कांग्रेसको चुनावी घोषणापत्रको संयोजक बन्नुभयो । स्वर्णिम बाग्ले सबैभन्दा राम्रो मान्छे भन्ने भ्रम पनि थियो कांग्रेसमा । चुनावमा उहाँ अर्कै पार्र्टीमा जानुभयो । तर अर्काे पार्र्टीमा जानु तीन दिन अघिसम्म कांग्रेसबाहेक अरु पार्र्टीले मुलुक विकास÷परिवर्तन गर्न सक्दैनथ्यो भन्दै हुनुहुन्थ्यो । उहाँलाई हामीले अवसरवादी भन्दाभन्दै पनि जनताले पत्याइदिए । हामीले दिएका क्यान्डेट त्यही माटोका, सादगी, विकासवादी नेताका रूपमा जनतामा भिजेका । तर, एउटा भूकम्प आयो । हामीलाई त्यही गतिसँग समाहित हुनुपर्ने स्थिति आयो । नेपाली कांग्रेस पार्र्टीमा थुप्रै व्यक्तिको आवातजावत भइरह्यो । कांग्रेस पार्र्टी एउटा संस्था हो । त्यो संस्थामा कोही सिक्नका लागि, कोही सिकाउन, त कोही अवसरको खोजीमा आउँछन् । यस्तै केही सूचना संकलन गरेर अरुलाई बेच्नका लागि आउने पनि छन् । कसको दिलभित्र के छ ? त्यो त स्क्यान गरेर हेर्ने मेसिन छैन । हामीले थाहा पाउन सक्दैनौं । जुन मान्छे जेका लागि आएका हुन् आफ्नो स्वार्थपूर्ति भएपछि हिँडिहाल्छन् । 

तपाईंको बुझाइमा स्वर्णिम बाग्लेचाहिँ कस्ता हुन् त ? 

– देश बनाउनकै लागि कांग्रेस बनेकाहरू केही नपाए पनि कांग्रेसमै बसिरहेका छन् । स्वर्णिम वाग्लेभन्दा धेरै मुर्धन्य, विद्वान् व्यक्ति हुनुहुन्थ्यो तुलसी गिरी । कांग्रेसका त्यतिबेलाका शीर्षस्थ व्यक्तित्व उहाँ, ०१७ सालमा राजाले ओभरटेक गरेपछि पञ्चायतसँगै जानुभयो । उहाँलाई त्यही ढंगले परिचालन गरिएको थियो । परशुनारायण चौधरी, जो विपी कोइरालाले भावी प्रधानमन्त्रीकै रूपमा उल्लेख गर्नुभएको व्यक्ति, विश्ववन्धु थापाजस्ता थुप्रै व्यक्ति जो नेपाली कांग्रेसको मुर्धन्य लिडरको रूपमा अपेक्षा गरिएका मान्छे । उहाँहरू बस्न सक्नु भएन । अहिलेका साथी अवसरका लागि आउनुभएको थियो । प्राप्त भएन, लाखापाखा लाग्नुभयो । कांग्रेसले जुन व्यक्तिलाई धान्न सकेन ती व्यक्ति स्वतन्त्र पार्र्टीका लागि पनि बोझका रूपमा हुन्छन् । त्यो समयले बताउला । उनी दल चाहरेर, धेरै काम गर्न खोज्दै छन् । उनको काम सकिएको छैन होला । उनी के कामका लागि राजनीतिमा आए, के गर्न खोज्दै छन् ? अबको यात्रा प्रश्न उठ्ने कलंकित, तुलसी गिरी, परशुनारायण चौधरी, विश्वबन्धुहरूको ठाउँमा नपुगोस् भन्ने शुभकामना !   

तपाईंहरूले लामो समयदेखि भन्दै आएको पुस्तान्तरण प्रक्रिया अब जबरजस्त हुने भयो कि बूढा नेताहरूले आफैँ ठाउँ छाड्ने भए ?

– पुस्तान्तरणले मात्र पुगेन । नेपाली कांग्रेसको पार्र्टी संरचनाभित्र ८० प्रतिशत युवा छन् । पदाधिकारीमा दुई तिहाइ युवाहरूकै बाहुल्य छ । अस्तिको निर्वाचनमा हाम्रो साढे सात लाख मत मात्र घटेन उपचुनावमा अमिलो हार बेहोर्नुप¥यो । यो भूकम्पको ठूलो झट्का (रेक्टर)लाई थेग्न सक्ने नेतृत्व चाहिएको छ । युवा, बूढाभन्दा पनि कुनै जिम्मेवारी नलिएको, राज्यको तर्फबाट संघीय संसद नभइसकेको व्यक्तिलाई ०८४ मा संसदमा पठाउन सकेको खण्डमा अगाडि बढाउन सकिएला तर युवा भनेर पनि पटक–पटक जनतामाझ टेस्डेड भइसकेका मान्छेलाई अब जनताले नपत्याउने स्थिति छ । समयअनुसारको गतिशील हुनु हाम्रा लागि जरुरी छ । समयले पि १२, पि ९ कम्प्युटर खोज्यो, हामी पि ३ मै रह्यौं भने काम गर्न सकिँदैन । हरेक वर्ष ५ लाख बेरोजगार थपिँदै छन् । ५ वर्षमा २५ लाख बेरोजगार थपिँदै छन् तीसँग हाम्रो पार्र्टी, नेतृत्वको संवादै छैन ।  

तपाईं आफैं पनि मंसिरको चुनावमा उम्मेदवार बन्न ठिक्क पर्नुभएको थियो । अन्तिममा टिकट पाउनु भएन । युवा र जनमत आकर्षित गर्ने व्यक्ति यसरी पछाडि पारिँदा पार्र्टीलाई के असर गर्छ ?

– पार्र्टीलाई असर परिरहेको देखिरहनुभएको छ नि ! यो भन्दा अघिल्लो चुनावमा २३ सिट ल्याएको पार्र्टी, अहिले गठबन्धन गरेर चुनावमा लड्नुपरेको छ । बहुदलीय सिष्टममा दलहरू नै राम्रो हुनुपर्छ । दलहरू सत्चरित्रमा बस्नुपर्छ । दलका नेताहरू नैतिकतामा बसेको, भिजनरी, पारदर्शी, मितव्ययी हुनुपर्छ । नेताको जीवनअनुसार नै दलको जीवन देखिने हो । भोलि त्यसको सिधा रिफ्ल्याक्सन साशन प्रणालीमा देखिन्छ । दलको आचरण व्यवहार ठीक ठाउँमा ल्याउन नसक्दा आज शासन प्रणाली कुरूप बन्दै गएको छ । अघिल्लो निर्वाचनमा २३ सिट ल्याएको पार्र्टी यसपटक ‘न भूतो न भविष्यति’ गठबन्धन गरियो । न त सिद्धान्त, न विचार, न एजेण्डा नै मिल्छ माओवादीसँग । हामी माओवादीलाई प्रजातन्त्रवादी होइनन् भन्थ्यौं । त्यही दलसँग गठबन्धन गरिएपछि सबै नारा खत्तम बनाइए । दल विशेषको सैद्धान्तिक पृष्ठभूमिसमेत उठान नहुने गरी एउटै घानमा हालिदिसकेपछि माओवादी, एस, कांग्रेसका क्याडरदेखि भोटरसम्म खिन्न भयो । एउटा दलले गरेको गल्ती पनि अर्काे दलले बोक्नुपर्ने भयो । त्यही कारण दलले पाउनुपर्ने मत अरुले लगे । अबको चार वर्ष यस्तो काम गर्नुपर्ने छ कि कुनै अर्काे दलसँग गठबन्धन नगरी चुनावमा होमिनुपर्छ । चुनावअघिको गठबन्धन देश, कांग्रेस, कम्युनिष्ट कसैका लागि पनि फलदायी छैन । निर्वाचनपछि सरकार बनाउन गठबन्धन गर्नुपर्ने बाध्यता अर्काे ठाउँमा होला । पार्र्टीमा २३ सिट आउनुपर्ने, गठबन्धन गर्नुपर्ने कारण मजस्ता सयौं साथीको उचित कदर गर्न नसक्दा यस्तो स्थिति आएको हो । 

विश्वप्रकाश, गगन थापाहरू उभिएपछि कांग्रेस युवामय पार्र्टी भयो भन्ने मान्यता राखिन्थ्यो । तर, चितवन र तनहुँमा उनीहरू उभिँदा पनि कांग्रेसले हार खानुपरेको छ नि ? 

– पार्र्टीका महामन्त्रीहरू खटिरहनु, लागिरहनुभएको थियो । समयले कतिबेला कसलाई प्रोटेक्सन गर्छ, कसलाई आकर्षणको केन्द्रविन्दु बनाउँछ ? यस पटकको भेलसँग प्रतिस्पर्धा गर्ने खालको चुनावी एजेण्डा, परिचालन भएन । हिजोको हाम्रो पृष्ठभूमि हेरौं ३५ वर्ष भयो । धेरैको चाहना पूरा गर्न सकिएन होला । हामी प्रगतिशील हुन नसकेर पनि हो । 

यही भेल ०८४ सम्म रह्यो भने ठूला दलको हविगत के होला ? अहिले बहस उठ्दै छ नि, अब ठूला दल सच्चिने कि सक्किने ? 

– भूकम्प गएको हो, केही भत्किएको हो । शीर्ष नेताहरूले ग्राउण्डको कुरा बुझ्ने अवसर प्राप्त भएको छ । परिवर्तनका सबै आन्दोलन हामीले नै गरेका हौं । अहिलेका नयाँ पुस्तालाई ०६२ साल यताको कुरा थाहा नहोला । ०४६ सालअघिको कुरा थाहा हुने कुरै भएन । इतिहास कम पढायौं हामीले । हिजो राणाहरूलाई लखेटेर प्रजातन्त्र उदय गराउने दल हामी होइनौं र ? अहिले उदाएका साथीहरूको सिद्धान्त, विचार के हो ? आइडोलोजी के हो ? विश्राम के हो ? यो त बीचमा आएको हावाहुरी हो । ठूलो हावाहुरी आउँदा त्यसले धेरै चिज बगायो होला । यो ०८४ सम्म जाँदैन । ०८२ सम्ममा हामी ठीक ठाउँमा अरूभन्दा अब्बल रूपमा स्थापित हुन्छौं । जनताको आदेश आएको छ, हामी सुध्रने बाटोमा जान्छौं । 

एमालेका संगठित सदस्य १० लाख, कांग्रेस सात लाख, माओवादी त्यही हाराहारी, समाजवादीको दावी तीन लाख । यी संगठित हुलभन्दा सामाजिक सञ्जालका असंगठित हुल बढी पावरफुल देखिए । पुराना दलका लागि यो कत्तिको घातक छ ? 

– अहिले संगठनभन्दा सञ्जालमा बढी शक्ति देखिएको छ । मान्छे व्यक्तिवादतिर लागे । सामूहिक प्रगतिलाई त्यति प्राथमिकतामा राख्न छाडियो । अरुका लागि कुर्ने, सोच्ने समय कम छ । अहिले जो देखिएको छ, सतहमा आएको छैन । कुनै फाँटमा ठूलो रातो बेलुन देखियो भने अलग्गै र त्यसको आकर्षण देखिन्छ तर त्यसो भन्दैमा समग्र पाहाड चम्किएको होइन । ठाउँ चम्किएको हो । त्यसले डाँडा, उपत्याका नै चम्काउने होइन । हिजो हामीले साझा विवेकशील, नयाँ शक्ति, मधेसी जनाधिकार फोरम, तमलोपा, माओवादी पनि देखेका हौं । यीभन्दा ठूला थिए तर कालान्तरमा उनीहरूको अवतरण राम्रो रूपमा भएको देखिँदैन । 

अब पनि कांग्रेसले फेरि पनि प्रजातान्त्रिक समाजवाद भनेर मात्रै जनतामा जाने कि नयाँ केही कुरा गर्ने हो ?

– हाम्रो गाइड लाइन प्रजातान्त्रिक समाजवाद त हुँदै हो तर समयले हामीलाई विपीले स्थापित गर्नुभएको सैद्धान्तिक गाइडलाइनलाई मान्ने र त्यसलाई समय सापेक्ष र इलाब्रेट गर्न जरुरी छ । प्रजातान्त्रिक समाजवाद हाम्रो निर्दिष्ट लक्ष्य नै भयो यसलाई इलाब्रेट गर्ने बेला आएको छ । 

पार्र्टीभित्रको नर्सरी मानिने विद्यार्थी संगठन किन भुत्ते भए ? 

– पार्र्टीका भ्रातृसंगठन वैधानिक संरचनाभन्दा बाहिर जाने स्थिति छैन । पार्र्टीमा केही असन्तुष्टि जनताको थियो नै ! हिजो प्राइभेट, सामुदायिक स्कूल कम थिए । हिजो राजा, प्रधानमन्त्री सकेको खण्डमा जनताका छोरा पनि त्यहीँ पढ्थे । अहिले जनसंख्या नै विभक्त भए । तीन वटा वर्ग । राजनीतिक दलमा लाग्ने भ्रातृसंगठन पनि कम भए । थोरै मात्र विद्यार्थी नेपालमा रहे । दलीय संरचनाभित्र रहेका भ्रातृसंगठनको पजनी नेताहरूको इच्छामा रह्यो । विधान, नीति, नियमको पालनाभन्दा पार्र्टीभित्रको गुट उपगुटको केन्द्रविन्दु बनेपछि त्यो आकर्षण घट्दै गयो । युवाहरूलाई कम प्राथमिकता दिएकै कारण यसको चार्मिङ कम भयो । अहिले रिजल्ट देखिरहेको छ । 

टिप्पणीहरू