टुकुचा ब्युँताउने बालेनको प्रक्रिया

टुकुचा ब्युँताउने बालेनको प्रक्रिया

उच्च अदालत पाटनले टुकुचा खोला नै भएको आदेश दिएपछि काठमाडौँ महानगरपालिकाले टुकुचा ब्युँताउन औपचारिक प्रक्रिया थालेको छ । 

प्रमुख बालेन साहको निर्णयबमोजिम महानगरपालिकाले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गर्दै मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनमा लगत कट्टा गर्न अनुरोध गरेको हो ।

मालपोत ऐन, २०३४ को दफा २४ ९२० ले सरकारी÷सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था गरिएको छ । 

अदालतको आदेशलाई देखाउँदै महानगरपालिकाले पत्रमा भनेको छ, ‘हात्तिसार क्षेत्रमा टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्रका जग्गा त्रुटीवश व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशीघ्र व्यक्ति विशेषको नाममा दर्ता रहेको उक्त लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध सम्बन्धमा आवश्यक कारबाहीको लागि मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ अनुरोध गरिन्छ ।’

नेपाल सरकार, मन्त्रिपरिषद्को २०६५ मंसिर १ गतेको निर्णयले कुनै पनि खोला, खोल्सी र राजकुलो छोप्न बन्देज लगाएको छ । त्योसँगै टुकुचाको बहाव क्षेत्र तथा सोको दाँयाबाँयाको चार÷चार मीटरको जग्गामाथि कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने स्पष्ट मापण्ड तोकिएको छ । तर कानूनी व्यवस्थाको प्रतिकूल हुने गरी हात्तिसार क्षेत्रमा टुकुचाको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको महानगरको भनाइ छ । 

‘माथि उल्लिखित आधार, कारण र अदालतको आदेश समेतलाई मध्यनजर गर्दा टुकुचा खोला तथा सोको क्षेत्राधिकारभित्रको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन नसक्ने प्रष्ट देखिन्छ,’ पत्रमा भनिएको छ, ‘टुकुचा खोलाको क्षेत्राधिकारभित्र पर्ने जग्गामा निजी तवरमा निर्मित भौतिक संरचनासमेत स्वतः अवैध हुन जाने देखिन्छ ।’

टिप्पणीहरू