आरआरको दैलोमा एमालेका विद्यार्थीको चर्को नाराबाजी

आरआरको दैलोमा एमालेका विद्यार्थीको चर्को नाराबाजी

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएको छ । 

माओवादी जनयुद्धमा सामेल भएका तर, अनमिनको प्रमाणीकरणमा नपरेका लडाकुहरुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयको विरोधमा उनीहरुले आज साँझ भृकुटीमण्ड, प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । सोही क्रममा सरकार र प्रधानमन्त्री प्रचण्डविरुद्ध उग्र नाराबाजी गरेका एमाले विद्यार्थीहरु र प्रहरीबीच पुत्ला खोसाखोससमेत भएको थियो । 

उनीहरुले ‘प्रचण्ड तेरो पाराले, दुःख पायो साराले’, ’अयोग्यलाई योग्य बनाउन ज्ञान र सीप देउ सरकार २ लाख होइन’, ‘गठबन्धन सरकारको उपहार, महङ्गी र भ्रष्टाचार’, ‘लडाकुको नाममा गरिने भ्रष्टाचार मान्य हुँदैन’, ’पहिला लडाकुको नाममा लिएको रकमको हिसाब किताब गर’, ’नालायक सरकार मूर्दावाद’ जस्ता नारासमेत लगाए ।

अनेरास्ववियु केन्द्रीय कमिटीका महासचिव नरेस रोकायाले सम्बोधन गरेको उक्त प्रदर्शनमा आरआर क्याम्पस कमिटीका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश खड्कालगायत दुई दर्जन विद्यार्थीको उपस्थिति थियो ।

अनेरास्ववियुले यस्तै प्रकृतिको विरोध प्रदर्शन अन्य केही क्याम्पसमा समेत सम्पन्न भएको जानकारी दिएको छ ।

टिप्पणीहरू