भारतको कोलकातामा पानीमुनी मेट्रो रेल

भारतको कोलकातामा पानीमुनी मेट्रो रेल

भारतले पानीमुनी बनाइएको मेट्रो रेलको सफलतापूर्वक परीक्षण सम्पन्न गरेको छ । पश्चिम बंगालको नदीमुनी निर्मित सुरुङ्गमा कोलकाता मेट्रो रेलले सफलतापूर्वक परीक्षण सम्पन्न गरेको बताइएको छ ।

यातायात पूर्वाधारको विकासमा महत्वपूर्ण उपलब्धिको रुपमा लिइएको उक्त मेट्रो रेलको परीक्षण गत बुधबार गरिएको हो । मेट्रोको अण्डरवाटर खण्ड १६ दशमलव ६ किलोमिटर लामो छ । यो पूर्व–पश्चिम कोरिडोरको एक हिस्सा भएको उल्लेख छ । यसले हावडा र कोलकाताका जुम्ल्याहा शहरलाई जोड्नेछ । 

उक्त मेट्रो खुल्ला भएपछि हावडा मैदान मुलुकको सबैभन्दा गहिरो मेट्रो स्टेशन बन्ने अपेक्षा गरिएको छ । मेट्रोको अण्डरवाटर खण्डमा पाँच दशमलव ५५ मीटर व्यासको ५२० मीटर लामो सुरुङ्ग छ । यो नदी किनारबाट ३२ मीटर तल अवस्थित छ । मेट्रोले ४५ सेकेण्डमा हुगली नदीमुनिको खण्ड पार गर्ने अपेक्षा राखिएको छ । 

मेट्रो रेलवे कोलकाताका महाप्रबन्धक पी. उदयकुमार रेड्डीले हावडा मैदानदेखि एस्प्लेनेडसम्मको ४ दशमलव ८ किलोमीटर लामो भूमिगत स्ट्रेचमा अर्को सात महिनासम्म परीक्षण गरिने जानकारी दिए । त्यसपछि नियमित सेवा शुरु गरिने छ । 

यो आयोजना थालिएको एक दशकभन्दा बढी भइसकेको छ । निर्माणका क्रममा आयोजनाले विभिन्न अवरोधको सामना गरेको भारतीय समाचार संस्था इण्डिया न्युज नेटवर्कले जनाएको छ । 

पानीमुनीबाट रेल सञ्चालन गर्नु यातायात क्षेत्रमा ठूलो परिवर्तन भएको महाप्रबन्धक रेड्डीको भनाइ छ । ‘पानीमुनीबाट रेल सञ्चालन गर्नु भनेको यातायातमा क्रान्ति ल्याउनु हो । ट्राफिक व्यवस्थापनमा यसले निकै सहज हुनेमा हामी विश्वस्त छौं’, उनले भने ।

टिप्पणीहरू